बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

जडीबुटीको व्यापारिक ट्रान्जिट बन्दै नेपालगञ्ज, गत आवमा ८४ करोड रूपैयाँबराबरको निर्यात

बिहीबार , भदौ ४ २०८३
जडीबुटीको व्यापारिक ट्रान्जिट बन्दै नेपालगञ्ज, गत आवमा ८४ करोड रूपैयाँबराबरको निर्यात

निर्यात बढेसँगै पश्चिम नेपालका जडीबुटी उत्पादक किसान, संकलक र व्यवसायी उत्साहित भएका छन्।

बाँके- बहुमूल्य जडीबुटी संकलन, प्रशोधन, भण्डारण र विदेश निर्यातका लागि नेपालगञ्ज व्यापारिक ट्रान्जिटका रूपमा विकास हुँदै गएको छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका डोल्पा, हुम्ला, जुम्ला, मुगु, जाजरकोट, रुकुम, बझाङ र दार्चुलालगायतका दुर्गम क्षेत्रमा पाइने यार्सागुम्बा, पाँचऔँले, जटामसी, कुट्की, तितेपाती, पदमचाललगायतका जडीबुटी भारत पुर्‍याउन नेपालगञ्जलाई प्रमुख नाकाका रूपमा प्रयोग गरिँदै आएको नेपाल जडीबुटी व्यवसायी संघका अध्यक्ष टंकप्रसाद शर्माले बताए।

'कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा उत्पादन तथा संकलन हुने जडीबुटीको भण्डारण तथा विदेश निर्यातका लागि नेपालगञ्ज प्रमुख ट्रान्जिटका रूपमा विकास भएको छ', उनले भने।

पहाडी तथा हिमाली क्षेत्रबाट सडक र हवाई मार्गमार्फत जडीबुटी नेपालगञ्ज पुर्‍याइन्छ। यहाँबाट भारतीय सीमानाका जोडिन, जडीबुटी भण्डारणका लागि नेपालगञ्ज र आसपासका क्षेत्रमा ठूला गोदाम तथा प्रशोधन केन्द्र रहेका छन्।

निर्यात प्रक्रियामा देखिने कानुनी प्रावधान र प्रमाणीकरणको ढिलासुस्ती, कच्चा पदार्थकै रूपमा निर्यात गर्दा उचित मूल्य नपाइनु र आधुनिक प्रशोधन प्रयोगशालाको अभाव हुनु, भारततर्फको निर्यातमा बेलाबेलामा देखिने क्वारेन्टाइन तथा गैरभन्सार अवरोधजस्ता चुनौती रहेको नेपाल जडीबुटी व्यवसायी संघका अध्यक्ष शर्माले बताए।

नेपालगञ्ज नाकाबाट गत आर्थिक वर्ष ०८२/८३ मा ८४ करोड २६ लाख ७४ हजार रूपैयाँबराबरको जडीबुटी निर्यात भएको छ। गत आर्थिक वर्षमा नेपालगञ्ज नाकाबाट ३७ लाख तीन हजार ८६१ किलो बराबरका विभिन्न प्रकारका जडीबुटी निर्यात भएको नेपालगञ्ज भन्सार कार्यालयले जनाएको छ।

नेपालगञ्ज नाका मुलुककै सबैभन्दा बढी जडीबुटी निर्यात हुने नाकाका रूपमा स्थापित भएको छ। निर्यात बढेसँगै पश्चिम नेपालका जडीबुटी उत्पादक किसान, संकलक र व्यवसायी उत्साहित भएका छन्।

यसअघि आर्थिक वर्ष ०८१/८२ मा नेपालगञ्ज नाकाबाट ८३ करोड ६४ लाख ७० हजार र आर्थिक वर्ष ०८०/८१ मा ७९ करोड ४८ लाख ८२ हजार रूपैयाँबराबरको जडीबुटी निर्यात भएको थियो। रासस


प्रकाशित : बिहीबार , भदौ ४ २०८३१७:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend