काठमाडौं- इलन मस्कको कम्पनी स्टारलिंकले भारतमा मोबाइल फोनमा सिधै स्याटेलाइट जोडिने सेवा सञ्चालनका लागि पुनः अनुमति मागेको छ। स्टारलिंकको सञ्चालक कम्पनी स्पेसएक्सले भारतको अन्तरिक्ष नियामक निकायसँग दोस्रो पुस्ताको स्याटेलाइट नेटवर्क सञ्चालनका लागि नयाँ आवेदन दिएको हो।
कम्पनीले पृथ्वीबाट ३४० देखि ६१५ किलोमिटर उचाइमा रहने लो अर्थ अर्बिट (एलईओ) स्याटेलाइट सञ्चालनको अनुमति मागेको छ। यो नेटवर्कले परम्परागत स्याटेलाइट इन्टरनेटसँगै मोबाइल फोनमा सिधै स्याटेलाइट जडान हुने ‘डाइरेक्ट–टु–डिभाइस’ (डीटूडी) सेवा पनि सञ्चालन गर्न सक्नेछ।
स्टारलिंकले यसअघि पहिलो र दोस्रो पुस्ताका स्याटेलाइट नेटवर्क सञ्चालनका लागि आवेदन दिएको थियो। तर भारतको अन्तरिक्ष प्रवर्द्धन तथा अनुमति निकाय (इन–स्पेस) ले २०२५ जुलाईमा पहिलो पुस्ताको नेटवर्कलाई मात्र अनुमति दिएको थियो। उक्त नेटवर्कमा ४ हजार ४०८ स्याटेलाइटमार्फत परम्परागत ब्रोडब्यान्ड इन्टरनेट सेवा दिने योजना छ।
दोस्रो पुस्ताका करिब ३० हजार स्याटेलाइट सञ्चालनसम्बन्धी यसअघिको आवेदन भने प्राविधिक मापदण्ड र फ्रिक्वेन्सी ब्यान्ड नमिलेको भन्दै अस्वीकृत गरिएको थियो। अहिले स्पेसएक्सले संशोधित प्रस्तावसहित पुनः अनुमति मागेको हो।
स्पेसएक्सले दीर्घकालमा दोस्रो पुस्ताअन्तर्गत करिब ४२ हजार स्याटेलाइट तैनाथ गर्ने योजना बनाएको छ। तर भारतका लागि अहिले करिब ३० हजार स्याटेलाइटको मात्र अनुमति मागिएको बताइएको छ।
‘डाइरेक्ट–टु–डिभाइस’ प्रविधिले मोबाइल फोनलाई छुट्टै स्याटेलाइट डिश वा विशेष उपकरणबिनै सिधै स्याटेलाइटसँग जोड्न सक्छ। मोबाइल टावरको पहुँच नभएको क्षेत्रमा पनि अनुकूल मोबाइल र सेवा उपलब्ध भए प्रयोगकर्ताले स्याटेलाइटमार्फत सन्देश पठाउन, फोन गर्न वा डेटा चलाउन सक्नेछन्।
तर यसका लागि मोबाइल फोन, स्याटेलाइट नेटवर्क र सम्बन्धित दूरसञ्चार सेवा प्रदायकबीच प्राविधिक अनुकूलन हुन आवश्यक हुन्छ।
स्टारलिंक नेपालमा आउन खोजे पनि घरेलु कठोर नीतिका कारण सम्भव भएको छैन। यदि भारतमा स्टारलिंकको सेवा पूर्ण सञ्चालनमा आयो भने त्यसबाट नेपालको बजार सिधै प्रभावित हुनेछ।