काठमाडौं- जन्ममिति समय र स्थान राखेपछि केही सेकेन्डमै कुण्डली तयार हुन्छ। ग्रहको स्थिति, दशा र अन्य ज्योतिषीय गणना पनि अहिले मोबाइल एप वा कम्प्युटर सफ्टवेयरमै हेर्न सकिन्छ। सामाजिक सञ्जालको लाइभमा आएर सम्बन्धित व्यक्तिहरूले जवाफ पनि दिइरहेका हुन्छन्। आस्थाको ‘विश्वास’ मा टिकेको ज्योतिष सेवालाई सूचना प्रविधि र एआईले धेरै रूपान्तरण गरिदिएको छ।
प्रविधिले कुण्डली बनाउने तरिका मात्र बदलेको छैन, ज्योतिष सेवा दिने व्यवसायको ढाँचा पनि परिवर्तन गरेको छ। कागजमा बनाइने कुण्डली मोबाइलको स्क्रिनमा पुगेको छ भने ज्योतिषी र ग्राहकबीचको परामर्श पनि कार्यालय वा घरमा सीमित छैन। च्याट र भिडियो कलबाटै सेवा लिन सकिने भएको छ।
योसँगै ज्योतिष सेवाको पछाडि काम गर्ने जनशक्ति पनि फेरिएको छ। ज्योतिषको ज्ञान भएका व्यक्तिसँगै सफ्टवेयर इन्जिनियर, डेटा विश्लेषक, यूआई/यूएक्स डिजाइनर र एआईमा काम गर्ने प्राविधिक जनशक्ति यस क्षेत्रमा जोडिन थालेका छन्।
विरासतमामात्र होइन तपस्यबाट प्राप्त हुने विद्याका रुपमा लिइने यस्तो विज्ञतालाई कम्प्युटर विज्ञानले धेरै पहिलेदेखि आश्रमबाट तानिसकेको थियो तर अहिलेको एआई तथा सामाजिक सञ्जालको विकासले सर्वत्र बनाइदिएको छ।
यो पेसा तथा सेवा दिनेमा अहिले पहिलेजस्तो ज्योतिषशास्त्र अध्ययन गरेका होइन भौतिक विज्ञान, इन्जिनियरिङ अध्ययन गरेकाहरू धेरै देखिन थालेका छन्। सामाजिक सञ्जालबाट घोषित रुपमै ज्योतिषशास्त्रका सन्दर्भमा टिप्स दिनेहरू कयौँको पृष्ठभूमि नै इन्जिनियरिङ छ।
पछिल्लो समय धेरैजसो इन्जिनियरिङबाट आएकाहरूले यस्तो परामर्श सेवा दिन थालेका छन्। परम्परागत ज्योतिषमा ग्रहको स्थिति निकाल्ने काम विभिन्न गणनासँग जोडिएको हुन्छ। डिजिटल प्रणालीमा त्यही गणनालाई सफ्टवेयरमा रूपान्तरण गर्न सकिन्छ। यसले एउटै काम पटकपटक हातैले गर्नुपर्ने अवस्था घटाउँछ।
जन्मसमय र स्थानको विवरण प्रशोधन गर्ने, ग्रहको अवस्थासम्बन्धी गणना गर्ने, परिणाम देखाउने तथा मोबाइल र वेबमा सेवा प्रयोग गर्न सहज बनाउने काम प्राविधिक टोलीले गर्छ। यसरी प्रविधिले ज्योतिषीको कामलाई विस्थापित गर्नुभन्दा सेवा र गणनाको प्रक्रियालाई डिजिटल बनाइरहेको छ।
नेपालीहरूले प्रविधिको प्रयोगबाट यस्तो सेवा दिएर राम्रो आम्दानी तथा रोजगारी दिइरहेका छन्। नेपाली युवाहरूले सुरू गरेको कतिपय प्रणाली र प्ल्याटफर्म चर्चित छन्। हाम्रो पात्रो,नवकुण्डली, नेपाली पात्रो, एष्ट्रो फ्युजन, वेदिक मार्ग लगायतका नेपालीले बनाएका माध्यम हुन्।
यी प्ल्याटफर्म तथा सामाजिक सञ्जाल पेज नेपालभन्दा विदेशमा चर्चित छन् कतिपय।
बजार नेपालभन्दा विदेशमा धेरै छ। प्रविधिको प्रयोग हुनुभन्दा पहिले पनि कलसेन्टरको माध्यमबाट यस्तो सेवा दिने नेपालीहरू पनि थिए, अहिले प्रविधिले यसको बजार विस्तार गरिदिएको छ। नेपालीमात्र नभएर विदेशीहरू नै यस्ता माध्यमका ग्राहक धेरै हुने गर्छन् कतिपयका।
डिजिटल ज्योतिषको विस्तार नेपालमा मात्र सीमित छैन। विभिन्न बजार अनुसन्धान संस्थाका अनुमानअनुसार विश्वव्यापी ज्योतिष एप बजार तीव्र गतिमा बढिरहेको छ। अर्बौँ डलरको बजार भएको विश्वको ज्योतिष बजारको केन्द्र भने भारत हो। वैदिक ज्योतिष सेवाका लागि पश्चिमारुले पनि भारतलाई विश्वास गर्दै आएका छन्। त्यही भएर भारतमा यसको बजार तीव्र विस्तार भएको छ।