काठमाडौं- वार्षिक सेवाको रकम भुक्तानी गरेर फाइबर इन्टरनेट र आईपी टीभी सेवा लिँदै आएका ग्राहकको सेवा अवरुद्ध भएपछि पुन: सञ्चालनमा लापरबाही गरेको भन्दै उपभोक्ता अदालतले डिस मिडिया नेटवर्क लिमिटेड (डिसहोम) लाई क्षतिपूर्ति तिराएको छ।
पछिल्लो समय डिसहोमको सेवा लिइरहेका सेवाग्राहीले समयमा मर्मत नहुने समस्या भोग्दै आइरहेका छन्। कुनै पनि क्षेत्रमा इन्टरनेटमा समस्या आएपछि सेवा अवरुद्ध भएको म्यासेज कम्पनीले पठाउने गरे पनि मर्मतमा भने ढिलाइ गर्दै आएको छ।
गएको असार तेस्रो साता थापाथलीमा बिजुलीको पोलमा आगलागी हुँदा अवरुद्ध इन्टरनेट सेवा पुन: सञ्चालनमा पनि डिसहोमले चार दिनसम्म समय लगाएको थियो। अन्यत्रका ग्राहकको पनि मर्मतमा बेवास्ता हुने गरेको गुनासोहरू आइरहेका छन्।
सेवा अवरुद्ध भएपछि पाँच दिनसम्म सेवा नदिएको भन्दै एक सेवाग्राही २०८२ पुस ८ गते क्षतिपूर्तिका लागि उपभोक्ता अदालत गएका थिए।
ग्राहक दिपेन्द्र प्रकाश मल्लले डिसहोमको फाइबर इन्टरनेट र आईपी टीभीको निरन्तर ग्राहकको रुपमा प्रत्येक वर्ष वार्षिक अग्रिम ९ हजार ८ सय रुपैयाँ भुत्तानी गर्दै सेवा उपभोग गरिरहेको अवस्थामा २०८२ कात्तिक २८ गते राति १ बजेदेखि सेवा अवरुद्ध भएको तर मर्मतमा पाँच दिनसम्म आलटाल गरेको उल्लेख गरेका छन्।
कात्तिक २८ गतेबाट अवरुद्ध भएको सेवा मंसिरको २ गतेमात्रै सञ्चालनमा आएको थियो। मल्लले अनलाइन क्लास, अफिसियल काम साथै विभिन्न प्रकारका सेमिनार वेविनारहरुमा प्रत्यक्ष असर पारी शैक्षिक गतिविधि, आर्थिक रुपमा तथा मानसिक रुपमासमेत तनाव भइ आफूलाई क्षति पुगेको भन्दै क्षतिपूर्ति माग गरेका थिए।
डिस मिडिया नेटवर्क लिमिटेड (डिसहोम) ले उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिमको दायित्व पूरा नगरेको र अनुचित व्यापारिक क्रियाकलाप गरको कारण उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ५० बमोजिम उचित क्षतिपूर्ति पाउनुपर्ने माग गरेका थिए।
उपभोक्ता अदालतका अध्यक्ष दिवाकर भट्ट, सदस्य गेहेन्द्रराज रेग्मी र सदस्य आनन्दराज पोखरेलको इजालसले डिस मिडिया नेटवर्क लिमिटेडलाई एक लाख पचास हजार रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश दिएको हो।
इन्टरनेट अवरुद्ध हुने अवस्थामा समेत सेवाग्राहीलाई पूर्व जानकारी गराउनुपर्ने कानूनी व्यवस्था भएकोमा सोसमेत विपक्षीले नगरेको फैसलामा उल्लेख छ।
फैसलामा भनिएको छ, 'पाँच दिनसम्म इन्टरनेट सेवा अवरुद्ध भए पनि मर्मत नगरिएको देखिँदा दूरसञ्चार सेवाको गुणस्तरसम्बन्धी विनियमावली ११ (४) बमोजिम इन्टरनेट सेवा अवरुद्ध भएबापत पाउने छुट वा सोबराबरको रकम वादीले प्रतिवादी डिस नेटवर्क लिमिटेडबाट दिलाइ भराइ पाउने ठहर्छ।'
'साथै पेसागत एवं व्यावसायिक काममा पर्न गएको क्षतिबापत पचहत्तर हजार रुपैयाँ र मानसिक कष्ट र तनावलाई समेत विचार गर्दा हुन आउने क्षतिबापत पचहत्तर हजार रुपैयाँसमेत गरी एक लाख पचास हजार रुपैयाँ क्षतिपूर्ति वादी दिपेन्द्र प्रकाश मल्लले प्रतिवादी मध्येका डिस मिडिया नेटवर्क लिमिटेडबाट दिलाइ भराइ पाउने ठहर्छ' फैसलामा भनिएको छ।