काठमाडौं- इन्टरनेट सेवाप्रदायक कम्पनी भायानेट कम्युनिकेसन लिमिटेडको कर्जा रेटिङ खस्किएको छ।
इक्रा नेपालले कम्पनीको दीर्घकालीन कर्जा रेटिङ घटाउँदै ‘एलबी प्लस’ कायम गरेको छ भने कम्पनीलाई ‘सहकार्य नगर्ने संस्था’ वर्गमा राखेको छ। साथै कम्पनीको रेटिङ फिर्ता लिने प्रक्रियाका लागि सूचना जारी गरिएको छ।
इक्रा नेपालले ६ अगस्ट २०२६ मा सार्वजनिक गरेको प्रतिवेदनअनुसार भायानेटको १ अर्ब १० करोड २५ लाख रुपैयाँ बराबरको दीर्घकालीन कर्जा सीमाको रेटिङ यसअघि ‘एलबीबी माइनस’ रहेकोमा घटाएर ‘एलबी प्लस’ मा झारिएको हो। त्यस्तै, १ अर्ब ९४ करोड ३९ लाख रुपैयाँ बराबरको अल्पकालीन कर्जा सीमाको रेटिङ ‘ए४’ नै कायम राखिए पनि त्यसलाई ‘सहकार्य नगर्ने संस्था’ वर्गमा सारिएको छ।
कम्पनीको कुल कर्जा सीमा ३ अर्ब ४ करोड ६४ लाख रुपैयाँ रहेको छ। रेटिङमा गरिएको पछिल्लो कारबाही कम्पनीले रेटिङ निगरानीका लागि आवश्यक सूचना उपलब्ध नगराएको कारण भएको इक्रा नेपालले जनाएको छ।
इक्रा नेपालका अनुसार कम्पनीको वित्तीय तथा व्यावसायिक अवस्थाको नियमित निगरानीका लागि आवश्यक विवरण उपलब्ध गराउन पटक-पटक अनुरोध गरिएको थियो। तर कम्पनीको व्यवस्थापनबाट आवश्यक सूचना उपलब्ध नगराइएपछि उपलब्ध सीमित सूचनाका आधारमा रेटिङसम्बन्धी धारणा बनाउनुपरेको हो।
कम्पनीको पछिल्लो वित्तीय अवस्थाबारे पर्याप्त सूचना उपलब्ध नभएका कारण यसको वित्तीय प्रोफाइल, ऋण तिर्ने क्षमता तथा कर्जा जोखिममा परेको वास्तविक प्रभाव यकिन गर्न नसकिएको इक्रा नेपालको भनाइ छ। यस्तो अवस्थामा कम्पनीको वास्तविक कर्जा जोखिम हालको रेटिङले देखाएभन्दा उच्च हुन सक्ने भन्दै ऋणदाता, लगानीकर्ता तथा अन्य बजार सहभागीलाई सावधानी अपनाउन इक्राले सुझाव दिएको छ।
इक्रा नेपालसँग उपलब्ध पछिल्लो वित्तीय विवरणअनुसार सन् २०२४ मा भायानेटको सञ्चालन आम्दानी २ अर्ब ३० करोड ६० लाख रुपैयाँ पुगेको थियो। सन् २०२३ मा कम्पनीको सञ्चालन आम्दानी २ अर्ब १७ करोड ९० लाख रुपैयाँ थियो।
कम्पनीको सञ्चालन आम्दानीको तुलनामा ब्याज, कर, मूल्यह्रास तथा अमूर्त सम्पत्तिको ह्रासअघिको नाफाको अनुपात भने सुधार भएको देखिन्छ। सन् २०२४ मा यस्तो अनुपात ३४.१ प्रतिशत पुगेको थियो, जुन सन् २०२३ मा ३०.८ प्रतिशत थियो।
तर कम्पनीको ऋण तथा दायित्वको भार अझै उच्च रहेको इक्रा नेपालको तथ्यांकले देखाएको छ। सन् २०२४ मा कुल ऋण र मूर्त खुद सम्पत्तिको अनुपात ३.५ गुणा रहेको थियो। कुल बाह्य दायित्व र मूर्त खुद सम्पत्तिको अनुपात भने ७.४ गुणा पुगेको थियो।
त्यस्तै, कुल ऋण र सञ्चालन नाफाबीचको अनुपात २.३ गुणा रहेको थियो भने ब्याज तिर्न सक्ने क्षमता ३.७ गुणा थियो। ऋण सेवा भुक्तानी क्षमता अनुपात भने १ गुणा मात्रै रहेको छ। कम्पनीको चालु अनुपातसमेत ०.५ गुणा मात्रै रहेको इक्रा नेपालको प्रतिवेदनमा उल्लेख छ।
इक्रा नेपालको तथ्यांकअनुसार कम्पनीको ऋण भार सन् २०२० मा कुल ऋण र मूर्त खुद सम्पत्तिको अनुपात ७.९ गुणा थियो। सन् २०२१ र २०२२ मा ३.७ गुणा, सन् २०२३ मा ४ गुणा हुँदै सन् २०२४ मा ३.५ गुणामा झरेको देखिन्छ।
तर पछिल्लो वित्तीय विवरण तथा अन्य आवश्यक सूचना कम्पनीबाट प्राप्त हुन नसकेका कारण सन् २०२४ पछिको अवस्था कस्तो छ भन्ने यकिन गर्न नसकिएको इक्राले जनाएको छ।
भायानेटको ऋण सेवा भुक्तानी क्षमता अनुपात १ गुणामा सीमित हुनु कम्पनीको ऋण तिर्ने क्षमतामा रहेको दबाबको संकेत हो। त्यस्तै, चालु अनुपात ०.५ गुणा मात्रै हुनु कम्पनीको अल्पकालीन दायित्व भुक्तानीका लागि चालु सम्पत्तिको अवस्था कमजोर रहेको देखाउने सूचक हो।
इक्रा नेपालले आवश्यक वित्तीय सूचना नपाएकाले कम्पनीको पछिल्लो ऋण, नगद प्रवाह, ब्याज भुक्तानी क्षमता तथा समग्र वित्तीय जोखिमको वास्तविक अवस्था मूल्यांकन गर्न नसकिएको जनाएको छ।
यही कारण रेटिङ घटाउने निर्णयसँगै कम्पनीलाई ‘सहकार्य नगर्ने संस्था’ वर्गमा राखिएको हो। यस्तो वर्गीकरणले कम्पनीले रेटिङ निगरानी प्रक्रियामा आवश्यक सहयोग नगरेको जनाउँछ। यसलाई कम्पनीको वित्तीय अवस्थाबारे प्रत्यक्ष रूपमा ‘डिफल्ट’ भएको निष्कर्षका रूपमा भने लिन नहुने भए पनि लगानीकर्ता तथा ऋणदाताका लागि जोखिम मूल्यांकनमा थप सावधानी आवश्यक हुने देखिन्छ।
सन् १९९९ अक्टोबरमा निजी कम्पनीका रूपमा स्थापना भएको भायानेट सन् २०२२ जुलाईमा सार्वजनिक कम्पनीमा रूपान्तरण भएको हो। कम्पनीले इन्टरनेट कनेक्टिभिटी, सञ्चार समाधान, इन्टरनेट प्रोटोकलमार्फत टेलिभिजन तथा मागअनुसार भिडियो सेवा प्रदान गर्दै आएको छ।
इक्रा नेपालको पछिल्लो मूल्यांकनका क्रममा कम्पनीले नेपालका ७७ मध्ये २८ जिल्लामा ६८ वटा शाखा, सञ्चालन केन्द्र तथा बिक्री केन्द्र मार्फत सेवा दिइरहेको थियो।
नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो उपलब्ध तथ्यांकमा समेत भायानेट प्रमुख फिक्स्ड ब्रोडब्यान्ड सेवा प्रदायकमध्ये एक देखिन्छ। प्राधिकरणको एक तथ्यांकअनुसार कम्पनीका ३ लाख २५ हजार ६२९ फिक्स्ड ब्रोडब्यान्ड ग्राहक र बजार हिस्सा ९.९१ प्रतिशत थियो।