काठमाडौं- सरकारले जापान सरकारबाट प्राप्त हुने करिब २ अर्ब ७३ करोड नेपाली रूपैयाँबराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर ट्राफिक कन्ट्रोल सुधारसम्बन्धी परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने करिब २ अर्ब ७३ करोड नेपाली रूपैयाँबराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको हो।
यस्तै नेपाल र साउदी अरेबियाबीच द्विपक्षीय हवाई सेवा सम्झौता हुने भएको छ।
साथै सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन आदेश, २०८३ स्वीकृत गर्ने, भुक्तानी तथा फर्छ्यौट ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति दिने, नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय बैठकले गरेको छ।
यस्तै, सरकारले प्रारम्भिक बाल विकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीका लागि संघीय सरकारले उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक ५ हजार रूपैयाँका दरले वृद्धि गर्ने र माध्यमिक तह (कक्षा ९-१०) र आधारभूत तह (कक्षा ६-८) मा शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकहरूको तलब क्रमश: माध्यमिक तृतीय श्रेणी र निम्न माध्यमिक तृतीय श्रेणी सरह कायम गर्ने निर्णय गरेको छ।
भाद्र ४ र ५ गते भारतमा आयोजना हुने सीमा व्यवस्थापनसम्बन्धी जोइन्ट वर्किङ ग्रुपको १४औँ बैठकमा सहभागी हुन गृह मन्त्रालयका सहसचिव नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृति प्रदान गर्ने निर्णय पनि आजको मन्त्रिपरिषद् बैठकले गरेको छ।
यस्तै, एसियन डिजास्टर प्रिपियरनेस सेन्टर को सब-सेन्टर (शाखा) नेपालमा स्थापना गर्न स्वीकृति दिने, संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्र संघको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डललाई स्वीकृति प्रदान गर्ने निर्णय सरकारले गरेको छ।
साथै, सहसचिव कमलप्रसाद भट्टराईलाई राजपत्रांकित विशिष्ट श्रेणी (सचिव) मा बढुवा गर्ने निर्णय सरकारले गरेको छ। उनलाई बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रमुख सचिव पदमा पदस्थापन गर्ने निर्णय भएको हो।