झापा- एक वर्षमा १४ करोड ६ लाख ८३ हजार रूपैयाँको जडीबुटी निर्यात भएको छ। काँकरभिट्टाबाट भारत र बंगलादेशतर्फ १२ थरीका कूल एक हजार १०८ मेट्रिकटन जडीबुटी निर्यात भएको हो।
भारततर्फ ४२२ मेट्रिकटन तेजपात निर्यात भइ २ करोड ६६ लाख ६४ हजार रूपैयाँ र बंगलादेशतर्फ २६९ मेट्रिकटन चिराइतो निर्यात हुँदा ६ करोड ५६ लाख ३५ हजार रूपैयाँ आम्दानी भएको पूर्वी भन्सार नाका काँकरभिट्टाका प्रमुख नन्दकिशोर सिंहले बताए।
नेपाली जडीबुटीको परम्परागत बजार भारत हो। पछिल्लो समय बंगलादेशतर्फ रिठ्ठा, क्यानोला तेल, सतावर, मजिठो र जटामसीलगायतका जडीबुटीको निकासी बढेको छ।
यस अवधिमा बंगलादेशतर्फ १८७ मेट्रिकटन रिठ्ठा (२ करोड तीन लाख ८६ हजार रूपैयाँ), ४० मेट्रिकटन क्यानोला तेल (१ करोड २८ लाख ३६ हजार रूपैयाँ) र पाँच मेट्रिकटन सतावर (९४ लाख ५६ हजार रूपैयाँ) निर्यात भएको छ।
कम परिमाणमा निर्यात भए पनि हिमाली तथा पहाडी क्षेत्रमा पाइने पदमचाल र सतावरले निकै राम्रो बजार मूल्य पाएका छन्। १२ मेट्रिकटन पदमचालबाट ९४ लाख ८८ हजार रूपैयाँ र पाँच मेट्रिकटन जटामसीबाट ६३ लाख ८० हजार रूपैयाँ आम्दानी भएको छ।
यसबाहेक २६ मेट्रिकटन चुत्रो (११ लाख ४१ हजार रूपैयाँ), २२ मेट्रिकटन नागबेली पाउडर (१० लाख १८ हजार रूपैयाँ), आठ मेट्रिकटन अमला (आठ लाख ६७ हजार रूपैयाँ) र दुई मेट्रिकटन टिमुर (आठ लाख रूपैयाँ) निर्यात भएको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाले जनाएको छ।
स्वदेशी जडीबुटीको प्रशोधन र बजारीकरणमा सरकारी तवरबाट थप सहजीकरण हुन सके पूर्वी नाकाबाट जडीबुटी निर्यात अझै बढाउन सकिने सरोकारवालाहरू बताउँछन्। रासस