काठमाडौं- निजी क्षेत्रले अघि बढाएको अहिलेसम्मकै ठूलो जलविद्युत् आयोजना ४४० मेगावाट क्षमताको तिला-१ का लागि वित्तीय व्यवस्थापन सम्पन्न भएको छ।
कर्णाली प्रदेशको कालिकोटमा निर्माण हुने आयोजनाका लागि एनएमबी बैंकको नेतृत्वमा १३ बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गर्ने गरी वित्तीय व्यवस्थापन सम्पन्न गरेका हुन्। वित्तीय स्रोत सुनिश्चित भएसँगै आयोजना निर्माणले गति लिने भएको छ।
एससी पावर कम्पनी प्रालिले प्रवर्द्धन गर्ने आयोजनाको कुल क्षमता ४४० मेगावाट भए पनि नेपाल विद्युत् प्राधिकरणले हाल २९८ मेगावाटका लागि मात्रै विद्युत् खरिद सम्झौता (पीपीए) गरेको छ। त्यसैले अहिले २९८ मेगावाट क्षमताको आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापन गरिएको हो। यस चरणका लागि आयोजनाको लागत ५९ अर्ब ४० करोड रुपैयाँ अनुमान गरिएको छ।
४४० मेगावाटको पूर्ण आयोजना निर्माण गर्न करिब ६८ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। अहिले आयोजनाको मुख्य संरचनाहरू (जस्तै हेडवर्क्स र सुरुङ) भने ४४० मेगावाटकै क्षमतामा निर्माण गरिनेछ।
अहिले हुने लागतमध्ये करिब १४ अर्ब रुपैयाँ प्रवर्द्धक कम्पनीले स्वपुँजीका रूपमा लगानी गर्नेछ भने बाँकी रकम बैंक तथा वित्तीय संस्थाबाट ऋणमार्फत जुटाइनेछ।
एनएमबी बैंकको नेतृत्वमा भएको सहवित्तीयकरणमा बैंक तथा वित्तीय संस्थाले कुल ४४ अर्ब ५५ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन्।
एनएमबी बैंकले १० अर्ब, ग्लोबल आईएमई बैंकले ७ अर्ब, हिमालयन बैंकले ७ अर्ब र प्रभु बैंकले ७ अर्ब रुपैयाँ लगानी गर्नेछन्। नबिल बैंकले ३ अर्ब र नेपाल इन्फ्रास्ट्रक्चर बैंकले २ अर्ब रुपैयाँ लगानी गर्नेछन्। बाँकी रकम अन्य विकास बैंक तथा वित्तीय संस्थाबाट जुटाइनेछ।
अहिले २९८ मेगावाटका लागि मात्रै पीपीए भए पनि यसको मुख्य संरचना ४४० मेगावाट क्षमतालाई लक्षित गरेर निर्माण गरिनु हो। आयोजनाको बाँध, मुख्य सुरुङलगायतका संरचना पूर्ण क्षमताका लागि निर्माण गर्ने कम्पनीको योजना छ। बाँकी १४२ मेगावाटका लागि आवश्यक अनुमति र प्रक्रिया पूरा गरेर पछि विद्युत् उत्पादनमा ल्याउने योजना प्रवर्द्धकको छ। कुल ४४० मेगावाट क्षमताको आयोजना पूर्ण रूपमा निर्माण गर्दा करिब ६९ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ।
तिला-१ निजी क्षेत्रबाट निर्माणका लागि अघि बढाइएको अहिलेसम्मकै ठूलो जलविद्युत् आयोजना हो। यसअघि निजी क्षेत्रले ३४१ मेगावाटको बूढीगण्डकी आंशिकजलाशय र २८५ मेगावाटको माथिल्लो तमोरजस्ता ठूला आयोजना अघि बढाएको थियो। ४४० मेगावाटको तिला-१ ले निजी क्षेत्रको जलविद्युत् विकासमा नयाँ आकारको आयोजना निर्माण गर्ने बाटो खोल्ने देखिएको छ।
आयोजनाको विद्युत् उत्पादन सुरु गर्ने मिति (आरसीओडी) २०८७ पुस १५ गते तोकिएको छ। वित्तीय व्यवस्थापन सम्पन्न भएपछि अब आयोजना निर्माणलाई द्रुत गतिमा अघि बढाउने प्रवर्द्धक कम्पनीकी अध्यक्ष सुसन कर्माचार्यले बताएकी छिन्।
'वित्तीय व्यवस्थापन सम्पन्न भएसँगै अब आयोजनालाई द्रुत गतिमा कार्यान्वयनमा लैजान्छौँ। तोकिएको समयमै आयोजना सम्पन्न गरी विद्युत् उत्पादन सुरु गर्ने हाम्रो लक्ष्य हो,' अध्यक्ष कर्माचार्यले भनिन्।
आयोजना सञ्चालनमा आएको पहिलो वर्षमै करिब ११ अर्ब ४० करोड रुपैयाँ आम्दानी गर्ने प्रक्षेपण गरिएको छ। आयोजना निर्माण सम्पन्न भएपछि कर्णालीको विद्युत् उत्पादन क्षमता बढ्नुका साथै राष्ट्रिय प्रसारण प्रणालीमा ठूलो परिमाणमा विद्युत् थपिनेछ।
निजी क्षेत्रले पहिलोपटक ४४० मेगावाटको ठूलो आयोजना वित्तीय व्यवस्थापनसहित निर्माणमा लैजान लागेको हुँदा तिला-१ लाई नेपालको जलविद्युत् क्षेत्रमा निजी लगानीको आकार र क्षमता विस्तारको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको पनि अध्यक्ष कर्माचार्यले बताइन्।