बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

झापामा वर्षदिनमा ६ झोलुंगे पुल निर्माण, ५१ किलोमिटर सडक कालोपत्र

बुधबार, भदौ ३ २०८३
झापामा वर्षदिनमा ६ झोलुंगे पुल निर्माण, ५१ किलोमिटर सडक कालोपत्र
फाइल तस्बिर

गत आवमै मेचीनगर नगरपालिका-४ र भद्रपुर नगरपालिका-९ जोड्ने फुलबासा खोलामा ५० मिटर लामो मोटरेबल सडक पुल निर्माण भएको छ।

झापा- जिल्ला पूर्वाधार विकास कार्यालयले गत आर्थिक वर्षमा झापाका विभिन्न स्थानमा ६ वटा झोलुंगे पुल निर्माण सम्पन्न गरेको छ। कार्यालयका प्रमुख राजेश्वर महतोका अनुसार निर्माण सम्पन्न भएका झोलुंगे पुलको कुल लम्बाइ २२८ मिटर रहेको छ।

कार्यालयका अनुसार गौरादह नगरपालिका-१ बाट कमल बासबारी जोड्ने सडकअन्तर्गत कृष्णखोलामा, गौरादह नगरपालिका-५ स्थित निरौला गाउँको चन्दु खोलामा र दमक नगरपालिका-८ र ९ स्थित जलपाथिभरा देवी जाने बाटोअन्तर्गत दिपेनी खोलामा झोलुंगे पुल निर्माण सम्पन्न भएका छन्।

त्यस्तै, कचनाकवल गाउँपालिका-७ स्थित साविक बालुवाडी-९ र वडा नं ३ जोड्ने बालुवा खोलामा, बिर्तामोड नगरपालिका-२ र कनकाई नगरपालिका-९ जोड्ने स्थानमा तथा बाह्रदशी गाउँपालिकाको कटहरडाँगी जाने बाटोअन्तर्गत अनुवा खोलामा पनि झोलुंगे पुल निर्माण सम्पन्न भएको कार्यालयले जनाएको छ।

यसैगरी, गत आवमै मेचीनगर नगरपालिका-४ र भद्रपुर नगरपालिका-९ जोड्ने फुलबासा खोलामा ५० मिटर लामो मोटरेबल सडक पुल निर्माण सम्पन्न भएको कार्यालयका प्रमुख महतोले जानकारी दिए।

पूर्वाधार निर्माणतर्फ कार्यालयले गत आवमा ५१ किलोमिटर सडक कालोपत्र गरेको छ। यस्तै, ३२.८० किलोमिटर सडक ग्राभेल, ९.५२ किलोमिटर सडकमा आरसीसी ढलान र ९०० मिटर सडक मर्मतसम्भार गरिएको कार्यालयले जनाएको छ।

गत आवका लागि कार्यालयलाई १ अर्ब ५१ करोड १४ लाख ७८ हजार रूपैयाँ बजेट विनियोजन भएकामा १ अर्ब ५ करोड ४५ लाख ६४ हजार ५४० रूपैयाँ खर्च भएको छ।

कार्यालयका अनुसार पुल तथा सडक निर्माणका यी कामले जिल्लाका ग्रामीण तथा दुर्गम क्षेत्रलाई सडक सञ्जालसँग जोड्न तथा स्थानीय बासिन्दाको आवागमन सहज बनाउन योगदान पुर्‍याएको छ। रासस


प्रकाशित : बुधबार, भदौ ३ २०८३११:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend