बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

पर्यटन र पूर्वाधार विकासले स्थानीयस्तरमै रोजगारी सिर्जना गर्छ : चन्द्र ढकाल

मंगलबार, भदौ २ २०८३
पर्यटन र पूर्वाधार विकासले स्थानीयस्तरमै रोजगारी सिर्जना गर्छ : चन्द्र ढकाल

केबलकार तथा अन्य पर्यटकीय पूर्वाधार निर्माणमा स्थानीयस्तरबाट सहयोग प्राप्त भए छोटो समयमै सकारात्मक नतिजा निकाल्न सकिने धारणा उनले राखे।

बागलुङ- नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले धार्मिक पर्यटन प्रवर्द्धन र स्थानीय स्तरमा पूर्वाधारको विकास गर्न सके वैदेशिक रोजगारीको बाध्यता अन्त्य भइ गाउँठाउँमै रोजगारीका अवसरहरू सिर्जना हुने बताएका छन्। बागलुङको ऐतिहासिक भैरवस्थान मन्दिर परिसरमा आयोजित ‘ऐतिहासिक हरेलो मेला २०८३’ लाई सम्बोधन गर्दै ढकालले सो धारणा व्यक्त गरेका हुन्।

बाइसे-चौबिसे राज्यकालदेखिको ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको भैरवस्थान क्षेत्रमा पर्यटन, कृषि उपज र रोजगारीको प्रचुर सम्भावना रहेको औँल्याउँदै उनले यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै प्रवर्द्धन गर्नुपर्ने आवश्यकता औँल्याए।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ भ्रमणपछि मुक्तिनाथ दर्शनका लागि आउने भारतीय तथा बाह्य पर्यटकहरूको सङ्ख्या उल्लेख्यरूपमा वृद्धि भएको चर्चा गर्दै उनले भने, 'मुक्तिनाथ पुग्ने पर्यटकमध्ये केही प्रतिशतलाई मात्र पनि बागलुङका भैरवस्थान लगायतका पर्यटकीयस्थलहरूमा आकर्षित गर्न सकिए यस क्षेत्रको आर्थिक विकासले ठूलो फड्को मार्नेछ।'

पर्यटकलाई कम्तीमा एकरात यस क्षेत्रमा अड्याउनका लागि गुणस्तरीय होटल, रिसोर्ट तथा होमस्टे जस्ता पूर्वाधार विस्तारमा जोड दिनुपर्ने उनले बताए। साथै केबलकार तथा अन्य पर्यटकीय पूर्वाधार निर्माणमा स्थानीयस्तरबाट सहयोग प्राप्त भए छोटो समयमै सकारात्मक नतिजा निकाल्न सकिने धारणा उनले राखे।

नेपालभित्रै स्वदेशी पुँजी परिचालन गरी ठूला आयोजना तथा उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने उद्देश्यले महासंघको ढोरपाटन बैठकको निर्णयबमोजिम १० अर्ब रूपैयाँको ‘नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड’ नामक लगानी कम्पनी सञ्चालनमा ल्याइएको जानकारी दिँदै उनले पर्यटन, जलविद्युत्, उत्पादन र प्रविधिको क्षेत्रमा लगानी भित्र्याउन कम्पनीले काम सुरु गरिसकेको बताए।


प्रकाशित : मंगलबार, भदौ २ २०८३१८:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend