बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

रास्वपा सांसद क्रान्तिशिखाले सरकारलाई भनिन् - नागरिकको सरकार भएको अनुभूति गराऊ

मंगलबार, भदौ २ २०८३
रास्वपा सांसद क्रान्तिशिखाले सरकारलाई भनिन् - नागरिकको सरकार भएको अनुभूति गराऊ

गाउँहरूमा सडक, सञ्चार, स्वास्थ्य र शिक्षाको अवस्था झन् दयनीय छ। राज्यको उपस्थिति केवल तथ्यांक संकलनमा मात्र होइन, नागरिकको दुःखमा सहानुभूति र संवेदनशीलतामा देखिनुपर्छ’ उनले भनिन्।

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक एवं सांसद क्रान्तिशिखा धितालले सरकारलाई ‘नागरिकको सरकार’ भएको अनुभूति गराउन आग्रह गर्दै विपद आएपछि राहत बाँड्ने परम्पराभन्दा पनि विपद् आउनुअघि नै नागरिकलाई सुरक्षित राख्ने दीर्घकालीन योजना ल्याउन माग गरेकी छिन्।

उनले रोल्पामा बाढी र पहिरोका कारण उत्पन्न भयावह स्थिति र जिल्लाको समग्र दुरावस्थाप्रति सरकारको ध्यानाकर्षण गराएकी छिन्।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद धितालले रोल्पाका थबाङ, सुनछहरी र लुङग्री क्षेत्रमा प्राकृतिक विपदका कारण हालसम्म १७ जनाको मृत्यु भइसकेको र केही नागरिक अझै बेपत्ता रहेको जानकारी दिइन्। उनले मान्छेको अमूल्य ज्यानलाई केवल अंकमा मात्र सीमित राखिएको भन्दै चिन्ता व्यक्त गरिन्।

सांसद धितालले रोल्पा ऐतिहासिक रूपमा राजनीतिक विद्रोह, प्राकृतिक विपद र दुर्घटनाहरूको निरन्तर चपेटामा परिरहेको उल्लेख गरिन्। केही महिनाअघि भएको जीप दुर्घटनामा १९ जनाको ज्यान गएको स्मरण गराउँदै उनले रोल्पाका नागरिकहरू सधैँ शोक र त्रासमा बाँच्नुपर्ने नियतिप्रति दुःख व्यक्त गरिन्। परिवर्तनको इतिहास बोकेको र १० वर्षे सशस्त्र द्वन्द्वको मुख्य केन्द्र रहेको रोल्पा अझै पनि विकासको न्यूनतम पूर्वाधारबाट वञ्चित रहेको उनको तर्क छ।

‘तथ्यांकमा मृत्यु हुनेको संख्या गन्न सकिएला, तर परिवारले गुमाएको अभिभावक वा सन्तानको रिक्तता कुनै राहत वा क्षतिपूर्तिले भर्न सक्दैन। परिवर्तनको सपना बोकेको जिल्ला आज समृद्धिको उदाहरण बन्नुपर्ने थियो, तर आज पनि सामान्य हावा चल्दा सदरमुकाममै विद्युत अवरुद्ध हुन्छ। गाउँहरूमा सडक, सञ्चार, स्वास्थ्य र शिक्षाको अवस्था झन् दयनीय छ। राज्यको उपस्थिति केवल तथ्यांक संकलनमा मात्र होइन, नागरिकको दुःखमा सहानुभूति र संवेदनशीलतामा देखिनुपर्छ’ उनले भनिन्। 

विगतको सशस्त्र युद्धको गहिरो प्रभाव (ट्रमा) बाट गुज्रिरहेका रोल्पालीहरूका लागि थबाङजस्तो ऐतिहासिक ठाउँ ‘वार म्युजियम’ बन्नुपर्नेमा आज त्यहाँका नागरिकहरू वर्षाको समयमा ज्यान जोगाउनै मुस्किल पर्ने स्थितिमा रहेको उनले बताइन्। 


प्रकाशित : मंगलबार, भदौ २ २०८३१३:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend