बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

धुलिखेलदेखि नमोबुद्धको दाप्चा पुलसम्मको सडक चौडा पारिँदै, ३ अर्ब ७९ करोड रूपैयाँ खर्चको अनुमान

मंगलबार, भदौ २ २०८३
धुलिखेलदेखि नमोबुद्धको दाप्चा पुलसम्मको सडक चौडा पारिँदै, ३ अर्ब ७९ करोड रूपैयाँ खर्चको अनुमान

सडक कालोपत्र गर्न प्रतिकिलोमिटर १८ करोड ५ लाख रूपैयाँ खर्च हुने अनुमान गरिएको कार्यालयले जनाएको छ।

काभ्रेपलाञ्चोक- बीपी राजमार्गको प्रवेशबिन्दु काभ्रेपलाञ्चोकको धुलिखेलदेखि नमोबुद्धको दाप्चा पुलसम्मको सडक चौडा पारिने भएको छ। योजनाअनुसार उक्त सडकखण्डमा १० मिटर बराबरको मुख्य कालोपत्रे भाग बनाइने डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।

हाल मुख्य कालोपत्र भएको सडकको चौडाइ औसतमा पाँच दशमलव पाँच मिटर छ। चौडा पारिने सडकको लम्बाइ करिब २० किलोमिटर रहेको कार्यालयले जनाएको छ।

सडक चौडा पार्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिए। उनका अनुसार प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयार पार्ने काम भइरहेको छ।

डीपीआरअनुसार सडक विस्तारमा ३ अर्ब ७९ करोड ७८ लाख रूपैयाँ खर्च हुने अनुमान गरिएको छ। सडक कालोपत्र गर्न प्रतिकिलोमिटर १८ करोड ५ लाख रूपैयाँ खर्च हुने अनुमान गरिएको कार्यालयले जनाएको छ।

सडकको दायाँबायाँ १५ मिटरसम्म बनेका संरचना तथा जग्गाको मुआब्जा वितरण भइसकेको योगेशले बताए। विस्तार गरिने सडकखण्ड धुलिखेल, पाँचखाल, पनौती र नमोबुद्ध नगरपालिकामा पर्छ।

विसं २०८१ असोजमा आएको बाढीपहिरोले बीपी राजमार्गअन्तर्गत भकुन्डेबेँसीदेखि नेपालथोकसम्म करिब ३० किलोमिटर सडकमा क्षति पुर्‍याएको थियो। रोशी खोलामा अस्थायी डाइभर्सन निर्माण गरी यातायात सञ्चालन गरिँदै आएकामा हाल क्षतिग्रस्त क्षेत्रमा स्थायी पुनर्निर्माणको काम भइरहेको कार्यालयले जनाएको छ।

क्षतिग्रस्त राजमार्गको पुनर्निर्माणका लागि काभ्रेपलाञ्चोकतर्फ तीन र सिन्धुलीतर्फ एक गरी चार प्याकेज बनाएर ठेक्का सम्झौता भइ काम अघि बढाइएको छ। 

काभ्रेपलाञ्चोकतर्फका तीन सडकखण्डका लागि ७ अर्ब ५० करोड रूपैयाँ र सिन्धुलीतर्फको एक सडकखण्डका लागि १ अर्ब रूपैयाँबराबरको स्रोत सुनिश्चित गरिएको कार्यालयले जनाएको छ।

जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ देखि बीपी राजमार्ग (धुलिखेल-सिन्धुली-बर्दिबास) निर्माण सुरु गरिएको थियो। 

१६० किलोमिटर लामो उक्त राजमार्ग निर्माण सम्पन्न भएपछि विसं २०७२ असार १८ गते जापान सरकारले नेपाल सरकारलाई औपचारिक रूपमा हस्तान्तरण गरेको थियो। रासस


प्रकाशित : मंगलबार, भदौ २ २०८३१२:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend