नारायणगढ- चितवनको रत्ननगर नगरपालिकाले बिना नक्सापास निर्माण गरिएका पुराना संरचनाको अभिलेखीकरण तथा नक्सापास गर्ने प्रक्रिया र स्वीकृत मापदण्डविपरीत निर्माण गरिएका संरचनाको निर्माण सम्पन्न प्रमाणपत्र जारी गर्ने कार्य रोक लगाएको छ।
सहरी विकास मन्त्रालय (भवन निर्माण व्यवस्था सुदृढीकरण समिति) तथा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको परिपत्र तथा निर्णयअनुसार नगरपालिकाले उक्त प्रक्रिया रोकेको हो। नगरपालिकाले आफ्ना १६ वटै वडा कार्यालयलाई परिपत्र गर्दै यससम्बन्धी सूचना नागरिकसम्म पुर्याउन निर्देशन दिएको नगरपालिकाको भूमि व्यवस्थापन तथा भवन नियमन शाखाका इन्जिनियर प्रकाशचन्द्र ढुंगानाले जानकारी दिए।
उनका अनुसार अब पुराना नक्सापास नभइ निर्माण गरिएका घर, टहरा तथा अन्य संरचनाको अभिलेखीकरण गरी नक्सापास गर्ने कार्य गरिने छैन। त्यस्तै, नगरपालिकाबाट नक्सापास स्वीकृति लिएर स्वीकृत नक्साभन्दा फरक ढंगले संरचना निर्माण गर्ने, थप संरचना बनाउने वा आफूखुशी संरचना अदलबदल गर्ने र पछि त्यसलाई अभिलेखीकरण गरी वैधानिकता दिने प्रक्रिया पनि बन्द गरिएको छ।
इन्जिनियर ढुंगानाले भने, 'नगरपालिकाको अनुमति बेगर आफूखुशी संरचना निर्माण गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न यस्तो व्यवस्था गरिएको हो। अब त्यस्ता संरचनाको अभिलेखीकरण तथा निर्माण सम्पन्न प्रमाणपत्र जारी गरिने छैन।'
उनले भवन निर्माणसम्बन्धी कानूनी मापदण्ड पालना नगरी संरचना निर्माण गर्ने र पछि त्यसलाई अभिलेखीकरणमार्फत कानूनी दायरामा ल्याउने प्रवृत्ति अन्त्य गर्न नगरपालिकाले प्रक्रिया कडाइ गरेको बताए। स्वीकृत नक्सा र मापदण्डअनुसार निर्माण गर्नुपर्नेमा त्यसविपरीत निर्माण गरिएका संरचनालाई पछि प्रक्रिया मिलाएर वैधानिकता दिने व्यवस्था अब नरहेको उनको भनाइ छ।
त्यसैगरी, राजमार्गको केन्द्रविन्दुबाट तोकिएको सडक सीमा कायम नगरी निर्माण गरिएका संरचनालाई निर्माण सम्पन्न प्रमाणपत्र जारी नगरिने नगरपालिकाले जनाएको छ। राजमार्गको सडक सीमा सम्बन्धमा प्रचलित कानुन तथा नेपाल सरकारबाट तोकिएको मापदण्डअनुसार संरचना निर्माण गर्नुपर्ने इन्जिनियर ढुंगानाले बताए।
नगरपालिकाका अनुसार रत्ननगरमा हाल नक्सापास नभएका तथा पुराना संरचनाको सङ्ख्या पाँचदेखि सात सयको हाराहारीमा रहेको अनुमान छ। नगरपालिकाभित्र करिब २२ हजार घरधुरी तथा भवन रहेको जनाइएको छ। रासस