बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

सरकार आपूर्ति बढेको भन्छ तर जनताले झरीमा लाइन बस्दा पनि ग्यास पाएका छैनन् : वर्षमान पुन

सोमबार, भदौ १ २०८३
सरकार आपूर्ति बढेको भन्छ तर जनताले झरीमा लाइन बस्दा पनि ग्यास पाएका छैनन् : वर्षमान पुन

‘सरकार आपूर्ति बढेको भन्छ तर जनता झरीमा लाइन बस्दा पनि ग्यास पाइरहेका छैनन्। यो कि त सरकारले झुटो बोलेको हो, कि व्यापारीले सरकारलाई नटेरेको हो।’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले मुलुकमा देखिएको ग्यास अभाव, प्रधानमन्त्रीको विवादित अभिव्यक्ति र संसदीय समितिमा देखिएको अस्वाभाविक व्यवहारप्रति गम्भीर आपत्ति जनाएका छन्।

संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद पुनले सरकारले तथ्यांकमा आपूर्ति बढेको दाबी गरे पनि उपभोक्ताले सहज रूपमा ग्यास नपाउनुले बजारमा कृत्रिम अभाव वा कालाबजारी भइरहेको संकेत गरेको बताएका हुन्।

सांसद पुनले संसद्मा ग्यास अभावको विषयमा सत्ता पक्ष र प्रतिपक्ष दुवैले आवाज उठाएको उल्लेख गर्दै सरकारको दाबी र बजारको यथार्थबीच तालमेल नमिलेको बताए। आपूर्ति पर्याप्त छ भने उपभोक्ताले सुलभ ढंगले पाउनुपर्ने र कतै लुकाइएको भए सरकारले तत्काल कारबाही गरी नागरिकको अधिकार सुनिश्चित गर्नुपर्नेमा उनले बताए।

प्रधानमन्त्रीले सीमा सम्बन्धमा दिएको विवादित मन्तव्यबारे संसद्मा स्पष्टीकरण दिनुपर्ने माग गर्दै विपक्षीले लामो समयदेखि आवाज उठाउँदै आएकोमा सभामुखबाट भएको रुलिङलाई पुनले स्वागत गरे। उनले प्रधानमन्त्री संसदबाट पन्छिन खोजेको आरोप लगाउँदै अब अविलम्ब सदनमा आएर आफ्ना अभिव्यक्तिका बारेमा स्पष्ट पार्नुपर्ने बताए। यदि रुलिङ कार्यान्वयन नभए पुनः दबाबमूलक आन्दोलन सिर्जना हुने उनको चेतावनी छ।

‘सरकार आपूर्ति बढेको भन्छ तर जनता झरीमा लाइन बस्दा पनि ग्यास पाइरहेका छैनन्। यो कि त सरकारले झुटो बोलेको हो, कि व्यापारीले सरकारलाई नटेरेको हो’ उनले भने।

सार्वजनिक लेखा समितिमा प्रहरीको पोशाक खरिदमा भएको भनिएको भ्रष्टाचारका विषयमा भएको छलफलमा सांसद र प्रहरी महानिरीक्षक (आईजीपी) बीच भएको भनाभनलाई पुनले ‘शासकीय अराजकता’ को संज्ञा दिए। उनले सत्ता पक्षकै सांसदले अमर्यादित ढंगले प्रश्न राख्नु र जवाफमा प्रहरी प्रमुखले पनि मर्यादा नाघेर ‘धम्कीपूर्ण’ भाषा प्रयोग गर्नु दुवै गलत भएको टिप्पणी गरे।


प्रकाशित : सोमबार, भदौ १ २०८३१७:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend