काठमाडौं- करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार आज घोषणा भएको छ।
साउन महिनाको दोस्रो पाक्षिक पुरस्कारअन्तर्गत गणेश इलेक्ट्रोनिक्स एन्ड मोबाइल सेन्टरबाट ३५० रुपैयाँको सामान किनेका उपभोक्ता विजेता बनेका छन्। ती उपभोक्ताले १० लाख रूपैयाँ जितेका छन्। यो पुरस्कार रकममा २५ प्रतिशत कर लाग्नेछ।
त्यस्तै, १६ जनाले समान १-१ लाख जितेका छन्। गत साउन १६ गतेदेखि ३१ गतेसम्म नियमसम्मत कारोबारमा संलग्न उपभोक्ता पुरस्कृत भएका हुन्।
विभागका अनुसार सुरुवाती पहिलो महिनामै पुरस्कारमा सहभागी हुने उपभोक्ताको सङ्ख्यामा उछाल आएको छ। उक्त अवधिमा मात्रै तीन लाख ५७ हजार १४९ वटा नगद कारोबारका बिलहरू उपहारका लागि दर्ता (अपलोड) भएका छन्।
यसअघि साउनको पहिलो १५ दिनमा बिल अपलोड गर्ने उपभोक्ताको कारोबार सङ्ख्या ७ हजार ७७ मात्रै थियो। साथै क्यूआर कारोबारबाट उपहार योजनामा स्वतः सहभागी भएका उपभोक्ताको कारोबार सङ्ख्या २ करोड ५६ लाख ८ हजार ९४ बाट बढेर ३ करोड २० लाख ८६ हजार ३८० पुगेको छ।
विभागका अनुसार पछिल्लो १७ दिनको उपहार योजनामा कुल कारोबार सङ्ख्या ३ करोड २४ लाख ४३ हजार २२९ पुगेको छ। यिनैमध्येबाट आज १७ जना विजेता छनोट गरिएको हो। जसमा साउन १६ गतेदेखि ३१ गतेसम्मका १७ दिनका एक-एक जनाले प्रतिव्यक्ति १ लाख ३३ हजार ३३४ रूपैयाँ जितेका हुन्। उनीहरूले कर कटाएर खुद १ लाख प्राप्त गर्नेछन्।