बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

करदाता प्रोत्साहन पुरस्कार : आज दोस्रो चरणका विजेताको घोषणा हुँदै

सोमबार, भदौ १ २०८३
करदाता प्रोत्साहन पुरस्कार : आज दोस्रो चरणका विजेताको घोषणा हुँदै

पछिल्लो १७ दिनको उपहार योजनामा कुल कारोबार सङ्ख्या ३ करोड २४ लाख ४३ हजार २२९ पुगेको छ।

काठमाडौं- करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार आज घोषणा हुने भएको छ। आन्तरिक राजस्व विभागले अर्थ मन्त्रालयमा कार्यक्रम आयोजना गरी अर्थमन्त्री डा स्वर्णिम वाग्ले र अर्थसचिव डा घनश्याम उपाध्यायमार्फत पुरस्कार घोषणा गर्न लागेको विभागले जनाएको छ।

गत साउन १६ गतेदेखि ३१ गतेसम्म नियमसम्मत कारोबारमा संलग्न उपभोक्ता आज घोषणा हुने पुरस्कारमा सहभागी हुनेछन्। विभागका अनुसार सुरुवाती पहिलो महिनामै पुरस्कारमा सहभागी हुने उपभोक्ताको सङ्ख्यामा उछाल आएको छ। उक्त अवधिमा मात्रै तीन लाख ५७ हजार १४९ वटा नगद कारोबारका बिलहरू उपहारका लागि दर्ता (अपलोड) भएका छन्।

यसअघि साउनको पहिलो १५ दिनमा बिल अपलोड गर्ने उपभोक्ताको कारोबार सङ्ख्या ७ हजार ७७ मात्रै थियो। साथै क्यूआर कारोबारबाट उपहार योजनामा स्वतः सहभागी भएका उपभोक्ताको कारोबार सङ्ख्या २ करोड ५६ लाख ८ हजार ९४ बाट बढेर ३ करोड २० लाख ८६ हजार ३८० पुगेको छ।

विभागका अनुसार पछिल्लो १७ दिनको उपहार योजनामा कुल कारोबार सङ्ख्या ३ करोड २४ लाख ४३ हजार २२९ पुगेको छ। यिनैमध्येबाट आज १७ जना विजेता छनोट गरिनेछ। जसमा साउन १६ गतेदेखि ३१ गतेसम्मका १७ दिनका एक-एक जनाले प्रतिव्यक्ति १ लाख ३३ हजार ३३४ रुपैयाँ जित्नेछन्। उनीहरूले कर कटाएर खुद १ लाख प्राप्त गर्नेछन्।

यस्तै, यी सबैमध्येबाट एक जनाले बम्पर उपहारस्वरूप १० लाख रुपैयाँ जित्नेछन्। यो पुरस्कार रकममा २५ प्रतिशत कर लाग्नेछ। आजको कार्यक्रममा गत साउनको पहिलो पाक्षिकमा उपहार जित्नेहरूलाई नगद पुरस्कार प्रदान गर्ने कार्यक्रम छ। रासस


प्रकाशित : सोमबार, भदौ १ २०८३१५:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend