काठमाडौं- साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ।
अघिल्लो कारोबार दिन गत शुक्रबारको गिरावटलाई निरन्तरता दिँदै सोमबार नेप्से परिसूचक २.२५ अंकले घटेर २,६४१.५८ विन्दुमा झरेको छ। परिसूचकसँगै यस दिन सेन्सेटिभ इण्डेक्स १.०८ अंक, फ्लोट इण्डेक्स ०.५१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४९ अंकले घटेका छन्।
नेप्से सूचकमा सामान्य गिरावट आए पनि बजारमा कारोबार रकम भने अघिल्लो दिनको तुलनामा उल्लेख्य रूपमा बढेको छ। गत शुक्रबार ४ अर्ब २७ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएकोमा यस दिन ३५० कम्पनीको ५६ हजार ८१८ पटकको कारोबारमा ५ अर्ब ५२ करोड ५५ लाख ११ हजार रुपैयाँबराबरको १ करोड १९ लाख ३२ हजार कित्ता सेयर कारोबार भएको छ।
बजारमा सुस्तता देखिए पनि सर्वोत्तम पेन्ट्स र माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको सेयरमा सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सर्वोत्तम पेन्ट्सको सेयरमूल्य ५९ रुपैयाँ ५० पैसा बढेर ४५६ रुपैयाँ २० पैसामा र माउन्ट एभरेष्ट पावरको सेयरमूल्य ६८ रुपैयाँ ४० पैसा बढेर ५२४ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको हो। त्यसैगरी रिलायन्स स्पिनिङ मिल्स र सगरमाथा जलविद्युत कम्पनीको सेयरमूल्य ११ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको सेयरमूल्य भने सर्वाधिक ६.६३ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा यस दिन रिलायन्स स्पिनिङ्ग मिल्स शीर्ष स्थानमा रहन सफल भएको छ। उक्त कम्पनीको १ अर्ब ३८ करोड ६३ लाख ३४ हजार रुपैयाँबराबरको सेयर किनबेच भएको छ। यसका साथै सोलु हाइड्रोपावरको करिब साढे ३८ करोड रुपैयाँ र रिडी पावर कम्पनीको करिब साढे १६ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको छ।
कारोबारमा आएका १३ उपसमूहमध्ये पाँच उपसमूहको परिसूचक बढेको छ भने आठ उपसमूहको परिसूचक घटेको छ। बढेका उपसमूहहरूमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.३० प्रतिशतले बढेको छ भने जलविद्युत, म्युचुअल फण्ड, अन्य र व्यापार उपसमूहमा पनि सामान्य सुधार आएको छ। यता घटेका उपसमूहहरूमध्ये वित्त उपसमूहको परिसूचक भने सर्वाधिक १.१४ प्रतिशतले ओरालो लागेको छ।