बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

वर्षासँगै नौ सडकखण्ड अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

सोमबार, भदौ १ २०८३
वर्षासँगै नौ सडकखण्ड अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

रसुवाको पासाङल्हामु सडकखण्ड उत्तरगया गाउँपालिका-५ खाल्टेमा त्रिशूली नदीले सडकमुनिबाट कटान गरेपछि अवरुद्ध भएको छ। त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी जाने सडकखण्डमा यातायात सञ्चालन हुन सकेको छैन।

काठमाडौं- लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका नौ सडकखण्ड पहिरो, सडक भासिने तथा नदी कटानका कारण पूर्णरूपमा अवरुद्ध भएका छन्।

नेपाल प्रहरीद्वारा आज यहाँ जारी सूचनाका  अनुसार काभ्रेपलाञ्चोक-सिन्धुली जोड्ने बीपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी-सिन्धुली सडकखण्डमा बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधनको आवतजावत रोकिएको छ। बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने यातायात सञ्चालन गर्न दिइनेछ।

त्यसैगरी, मकवानपुरको कान्ति लोकपथमा वर्षाका कारण बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। इलामको मेची राजमार्ग इलाम नगरपालिका-९ राजदुवालीमा वर्षाका कारण सडक हिलाम्मे भएपछि पूर्णरूपमा अवरुद्ध भएको छ। उक्त स्थानमा वैकल्पिक बाटो रहेको प्रहरीले जनाएको छ।

सिन्धुपाल्चोकको अरनिको राजमार्ग भोटेकोशी गाउँपालिका-२ कोदारीस्थित ईकु पहिरोमा ढुंगा, माटो र लेदोसहितको पहिरो खसेपछि तथा सोही गाउँपालिका-२ लिपीङमा सडक भासिएपछि पूर्णरूपमा अवरुद्ध भएको छ।

रसुवाको पासाङल्हामु सडकखण्ड उत्तरगया गाउँपालिका-५ खाल्टेमा त्रिशूली नदीले सडकमुनिबाट कटान गरेपछि अवरुद्ध भएको छ। त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी जाने सडकखण्डमा यातायात सञ्चालन हुन सकेको छैन।

रुकुमपश्चिमको भेरी करिडोर आठबिसकोट नगरपालिका-६ रिजेगार्ड खोलामा सडक माथिबाट ढुंगा, माटो र लेदोसहितको पहिरो खसेपछि पूर्णरूपमा अवरुद्ध भएको छ। उक्त सडकखण्डले जाजरकोट-डोल्पा जोड्छ। त्यस्तै, सङ्खुवासभाको कोशी राजमार्ग भोटखोला गाउँपालिका-३ सिरेकडाँडामा करिब १० मिटर सडक भासिएपछि पूर्णरूपमा अवरुद्ध भएको छ। वर्षाका कारण खाँदबारी-किमाथांका सडकखण्डमा सडक भासिएको प्रहरीले जनाएको छ।

लमजुङको बेँसीसहर-मनाङ सडकखण्ड मर्स्याङ्दी गाउँपालिका-४ रामबजारमा सडक माथिबाट पहिरो खसेपछि अवरुद्ध भएको छ। अविरल वर्षाका कारण पहिरो खसेपछि उक्त सडकखण्डमा यातायात ठप्प भएको हो। यसैगरी, म्याग्दीको बेनी-जोमसोम सडकखण्ड अन्नपूर्ण गाउँपालिका-३ रुक्सेमा सडक माथिबाट ढुंगा, माटो र लेदोसहितको पहिरो खसेपछि पूर्णरूपमा अवरुद्ध भएको छ।

लगातारको वर्षाका कारण पहाडी तथा हिमाली जिल्लाका सडकमा पहिरो, सडक भासिने तथा नदी कटानको जोखिम बढेकाले प्रहरीले यात्रुलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न तथा जोखिमयुक्त सडकखण्डमा आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ। रासस


प्रकाशित : सोमबार, भदौ १ २०८३११:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend