काठमाडौं- कुमारी बैंक लिमिटेडले नेपाल सरकार तथा आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन कार्यक्रमलाई सहयोग पुर्याउने उद्देश्यले आफ्नो मोबाइल बैंकिङ एपमा आईआरडी प्रोत्साहन कार्यक्रम सुविधा उपलब्ध गराएको छ।
यस सुविधामार्फत कुमारी बैंकका ग्राहकहरूले नेपालभित्र व्यक्तिगत प्रयोजनका लागि १०० रूपैयाँभन्दा बढीको वस्तु वा सेवा खरिद गरी व्यापारीको क्यूआरमार्फत भुक्तानी गर्दा स्वतः पुरस्कार योजनामा सहभागी हुन सक्नेछन्।
ग्राहकहरूले कुमारी स्मार्ट मोबाइल बैंकिङ एपको आईआरडी प्रोत्साहन कार्यक्रम मेनुमार्फत योग्य कारोबारहरूको संख्या, कारोबार विवरण तथा पुरस्कार प्राप्त गरेको अवस्थासमेत सजिलै हेर्न सक्नेछन्। यसले ग्राहकहरूलाई डिजिटल भुक्तानी गर्न, प्यान र भ्याट बिल लिन तथा औपचारिक कारोबारलाई प्रोत्साहन गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
आन्तरिक राजस्व विभागको व्यवस्थाअनुसार योग्य कारोबारमध्येबाट दैनिक लक्की ड्रमार्फत एकजना ग्राहकले कर कट्टीपश्चात १ लाख रूपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्, भने प्रत्येक १५ दिनमा एकजना भाग्यशाली ग्राहकले १० लाख रूपैयाँबराबरको बम्पर पुरस्कार प्राप्त गर्नेछन्।
आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सुरु गरिएको यस कार्यक्रमले उपभोक्तालाई प्यान र भ्याट बिल लिन प्रोत्साहन गर्नुका साथै डिजिटल भुक्तानी, कर अनुपालन तथा वित्तीय पारदर्शिता प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।
कुमारी बैंकले ग्राहकहरूलाई व्यापारीको क्यूआरमार्फत भुक्तानी गर्न, प्यान र भ्याट बिल लिन, बिल सुरक्षित राख्न तथा नियमितरूपमा आईआरडी प्रोत्साहन कार्यक्रम सुविधा प्रयोग गरी आफ्नो योग्यताको अवस्था जाँच गर्न आग्रह गरेको छ। बैंकले यस अभियानले डिजिटल कारोबार विस्तार गर्नुका साथै नगदरहित अर्थतन्त्र निर्माण, कर अनुपालन वृद्धि तथा वित्तीय पारदर्शितालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ।