बाँके- मह उत्पादनका लागि पालिएका मौरी खपटे किराको संक्रमणले मर्न थालेपछि यहाँका मौरीपालक किसान चिन्तित भएका छन्। खपटे किराले घारमै मौरीको खानेकुरा, फूल र लार्भा खाइदिएका कारण मौरी रित्तिने अवस्था आएको छ।
कोहलपुरस्थित मौरीपालक किसान पुरमल बस्नेतले भने, 'अहिले मौरीका लागि संकटकालजस्तै भएको छ, खपटे किराले मौरीको खाने कुरा, फूल र लार्भा खाइदिएका कारण मौरी जोगाउनै कठिन भएको छ। बाहिर आउँदा चराको आक्रमण छ भने घारभित्र खपटे किराको संक्रमण बढ्दो छ।'
मौरीलाई खानपानको व्यवस्था गर्न सकिएन भने मौरीको घारमा किसानले ठूलो नोक्सानी बेहोर्नुपर्ने उल्लेख गर्दै बस्नेतले यसतर्फ सरोकारवाला निकायले ध्यान दिनुपर्ने बताए।
एकसय घार मौरीपालन गर्दै आएका बढैयाताल गाउँपालिका मैनापोखर बर्दिया निवासी मौरीपालक किसान घनश्याम खत्रीले वर्षायाम मौरीको खाना अभाव हुने समयमा खपटे किरा र सिलसाको संक्रमणले मौरी जोगाउनै कठिन भएको बताए।
उनका अनसार विगत दुई महिनादेखि मौरीको घारमा यो समस्या देखिएको छ। उपचारका लागि घरेलु विधि अपनाए पनि प्रभावकारी हुन सकेको छैन। 'एउटा घारमा १० वटा ‘फ्रेम’ हुन्छ त्यसमध्ये दुईदेखि तीन फ्रेम खाली भएको छ,' खत्रीले भने, 'यसको प्रत्यक्ष असर मौरीपालक किसानलाई परेको छ।'
यस्तै, बर्दिया बढैयातालका किसान सिंहबहादुर शाहीले पहिला यस्तो संक्रमण कहिल्यै नदेखिएको बताए। एकसय ५० घार मौरीपालन गरिरहेका उनले खपटे र सिलसा किरोको संक्रमण नरोकिए एकसय घार मौरी जोगाउन पनि कठिन हुने उल्लेख गरे।
बाँके र बर्दिया जिल्लामा किसानले व्यावसायिक मौरीपालन गर्दै आएका छन्। यहाँका किसान मौरी चराउन दाङ लैजाने गरेका छन्। तोरी फुल्ने सिजनमा बाँके बर्दियाका विभिन्न क्षेत्रमा मौरीका घार राखेर चराउने गरिए पनि अधिकांश समय दाङ जिल्लामै मौरी चराउने गरिएको मौरीपालक किसान बताउँछन्।
अहिले यहाँका अधिकांश किसानले मौरी चराउन दाङमा घार राखेका छन्। दाङमा चराउन लगिएको मौरीको घारमा खपटे किरा र सिलसाको संक्रमण देखिएपछि मौरी जोगाउन कठिन भइरहेको छ। रासस