बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

साउनमा राजस्व ९ प्रतिशत बढ्यो, खर्च १० प्रतिशत घट्यो

सोमबार, भदौ १ २०८३
साउनमा राजस्व ९ प्रतिशत बढ्यो, खर्च १० प्रतिशत घट्यो

सरकारको कुल प्राप्ति भने साउनसम्म ९३ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा कुल प्राप्ति ८५ अर्ब २० करोड रुपैयाँ थियो। कुल प्राप्तिमा राजस्वसँगै अनुदान र अन्य प्राप्तिसमेत समावेश छन्।

काठमाडौं- चालु आर्थिक वर्षको पहिलो महिना साउनमा सरकारको राजस्व संकलन गत वर्षको सोही अवधिको तुलनामा करिब ९ प्रतिशतले बढेको छ। खर्च भने करिब १० प्रतिशत घटेको छ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालु आर्थिक वर्षको साउनमा सरकारले ९२ अर्ब २२ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। यो वार्षिक राजस्व लक्ष्यको ५.८४ प्रतिशत हो। गत वर्षको साउनमा सरकारले ८४ अर्ब ४७ करोड रुपैयाँ राजस्व उठाएको थियो।

चालु आर्थिक वर्षमा कुल राजस्व लक्ष्य १५ खर्ब ८० अर्ब ३२ करोड रुपैयाँ राखिएको छ। साउनमा संकलित राजस्वमध्ये ८५ अर्ब १९ करोड रुपैयाँ कर र ७ अर्ब ३ करोड रुपैयाँ गैरकर राजस्वबाट उठेको छ। कर राजस्व गत वर्षको तुलनामा ५.६ प्रतिशत बढेको हो।

सरकारको कुल प्राप्ति भने साउनसम्म ९३ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा कुल प्राप्ति ८५ अर्ब २० करोड रुपैयाँ थियो। कुल प्राप्तिमा राजस्वसँगै अनुदान र अन्य प्राप्तिसमेत समावेश छन्।

खर्चतर्फ चालु आर्थिक वर्षको साउनमा सरकारले ४१ अर्ब ८९ करोड रुपैयाँ खर्च गरेको छ। यो कुल बजेटको १.९७ प्रतिशत हो। गत वर्षको साउनमा ४६ अर्ब ३१ करोड रुपैयाँ खर्च भएको थियो।

चालु वर्षको साउनमा भएको खर्चमध्ये २१ अर्ब ४० करोड रुपैयाँ चालु खर्च, १ अर्ब ३३ करोड रुपैयाँ पुँजीगत खर्च र १९ अर्ब १५ करोड रुपैयाँ वित्तीय व्यवस्थातर्फ खर्च भएको छ। गत वर्षको सोही अवधिमा चालु खर्च १८ अर्ब ४८ करोड, पुँजीगत खर्च ७२ करोड ६३ लाख र वित्तीय व्यवस्थातर्फ २७ अर्ब १० करोड रुपैयाँ खर्च भएको थियो।

यस वर्ष कुल खर्च घट्नुको मुख्य कारण वित्तीय व्यवस्थातर्फको खर्चमा आएको कमी हो। गत वर्षको तुलनामा चालु र पुँजीगत खर्च भने बढेको देखिन्छ। पुँजीगत खर्च बढे पनि साउनमै विकास बजेट कार्यान्वयनको गति भने निकै न्यून छ।


प्रकाशित : सोमबार, भदौ १ २०८३१०:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend