बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

उद्यममैत्री वातावरण बनाएर युवालाई स्वदेशमै रोक्नुपर्छ : विदुषी राणा

सोमबार, भदौ १ २०८३
उद्यममैत्री वातावरण बनाएर युवालाई स्वदेशमै रोक्नुपर्छ : विदुषी राणा

प्रतिनिधिसभा सदस्य विदुषी राणाले युवालाई स्वदेशमै रोजगारी र उद्यमको अवसर सिर्जना गर्न सरकार र निजी क्षेत्रले उद्यममैत्री वातावरण बनाउनुपर्ने बताएकी छन्।

काठमाडौं- प्रतिनिधिसभा सदस्य विदुषी राणाले युवालाई स्वदेशमै रोजगारी र उद्यमको अवसर सिर्जना गर्न सरकार र निजी क्षेत्रले उद्यममैत्री वातावरण बनाउनुपर्ने बताएकी छन्।

नेपाल अटोमोबाइल्स इम्पोटर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आइतबार काठमाडौंमा आयोजना गरेको ‘प्रतिभा भित्र्याउने र कामदार बाहिर पठाउने : प्रक्रियामार्फत नेपालमा शिक्षा, सीप र उद्यमशीलताको खाडल पुर्ने’ विषयक संवादमा राणाले नेपालमा अटोमोबाइल, सूचना प्रविधि र पर्यटनलगायतका क्षेत्रमा अथाह सम्भावना रहेको बताइन्।

उनले सम्भावना हुँदाहुँदै पनि नीतिगत जटिलता र प्रशासनिक झन्झटका कारण युवाहरू विदेशिन बाध्य भइरहेको बताइन्। युवालाई स्वदेशमै रोक्न व्यवसाय सञ्चालनका लागि सहज वातावरण बनाउनुपर्ने उनको भनाइ थियो।

‘युवालाई स्वदेशमै रोक्न सरकार र निजी क्षेत्रले उद्यममैत्री वातावरण बनाउनुपर्छ। व्यवसाय दर्तादेखि कर तिर्नेसम्मका झन्झटिला प्रक्रिया अन्त्य गरी एकद्वार प्रणाली लागू गर्नु अबको आवश्यकता हो,’ राणाले भनिन्।

कार्यक्रममा नाइमा संस्थापक तथा उद्यमी सौरभ ज्योतिले नेपालमै विभिन्न प्रकारका सवारीसाधन उत्पादन गर्न सकिने सम्भावना रहेको बताए। त्यसका लागि स्थानीय आपूर्ति शृङ्खला र पार्टपुर्जा उद्योगको विकास गर्नुपर्नेमा उनले जोड दिए।

उद्योगको आवश्यकता र शैक्षिक पाठ्यक्रमबीच पर्याप्त तालमेल नहुँदा दक्ष जनशक्तिको अभाव भइरहेको भन्दै ज्योतिले तत्काल शैक्षिक पाठ्यक्रम परिमार्जन गर्नुपर्ने बताए। उद्योगले खोजेको सीप र विश्वविद्यालय तथा शैक्षिक संस्थाले उत्पादन गर्ने जनशक्तिबीचको दूरी कम गर्नुपर्ने उनको भनाइ थियो।

थापाथली क्याम्पसका सहप्राध्यापक लोचनकेन्द्र देवकोटाले विश्वविद्यालयले सैद्धान्तिक ज्ञान दिए पनि विद्यार्थीलाई व्यावहारिक सीप प्रदान गर्न उद्योगसँगको सहकार्य अपरिहार्य रहेको बताए।

‘इन्टर्नसीप, अनुसन्धान र विद्यार्थीका परियोजनालाई उद्योगका समस्या समाधानसँग जोड्न सकेमात्र उत्पादनमुखी जनशक्ति तयार हुन्छन्,’ उनले भने।

पद्मकन्या क्याम्पसकी प्राध्यापक भगवती सेढाईंले नेपालमा केही हुँदैन भन्ने नकारात्मक भाष्य परिवर्तन गर्नुपर्ने बताइन्। सरकारले उद्यमशीलता प्रवर्द्धनका लागि विभिन्न नीति ल्याए पनि त्यसको व्यावहारिक कार्यान्वयन प्रभावकारी हुन नसकेको उनको भनाइ थियो।

निजी क्षेत्रलाई सीप विकासमा लगानी गर्न प्रोत्साहन गर्दै शिक्षा, सीप र रोजगारीलाई उद्योगको आवश्यकतासँग जोड्नुपर्ने सेढाईंले बताइन्।

 


प्रकाशित : सोमबार, भदौ १ २०८३०७:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend