बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

अटोमोबाइल क्षेत्रलाई १० वर्षमै ‘मेक इन नेपाल’बाट ‘मेड इन नेपाल’तर्फ लैजान सकिन्छ : सौरभ ज्योती

आइतबार, साउन ३१ २०८३
अटोमोबाइल क्षेत्रलाई १० वर्षमै ‘मेक इन नेपाल’बाट ‘मेड इन नेपाल’तर्फ लैजान सकिन्छ : सौरभ ज्योती

एकातिर नेपालले दक्ष जनशक्ति विदेशबाट ल्याउनुपर्ने र अर्कोतिर नेपाली दक्ष जनशक्ति विदेशिने विरोधाभासपूर्ण अवस्था रहेको उनले बताए।

काठमाडौं- उद्यमी सौरभ ज्योतीले नेपालमा औद्योगिकीकरणको प्रक्रिया तीव्र बनाउँदै आगामी ५ देखि १० वर्षभित्र अटोमोबाइल क्षेत्रलाई ‘मेक इन नेपाल’बाट ‘मेड इन नेपाल’तर्फ लैजान सकिने बताएका छन्।

नाइमा मोबिलिटी एक्स्पो २०२६ का अवसरमा 'इम्पोर्टिङ ट्यालेन्ट, एक्सपोर्टिङ वर्कर्स :  ब्रिजिङ नेपाल्स एजकेसन, स्किल्स एन्ड एन्टरपेनसिप क्याप' विषयमा आयोजित संवादमा ज्योतीले नेपालमा अटोमोबाइल उद्योगको विकासका लागि एसेम्ब्लीबाट पार्टपुर्जा उत्पादनतर्फ अघि बढ्नुपर्ने बताएका हुन्।

नेपालमा पछिल्ला वर्षमा सवारीसाधन एसेम्ब्ली उद्योगको विस्तार भइरहेको उल्लेख गर्दै उनले अब उद्योगको अर्को चरण स्थानीय पार्टपुर्जा तथा कम्पोनेन्ट उत्पादन र आपूर्ति शृंखला विकास भएको बताए।

‘अटोमोबाइल क्षेत्रमा विशेषगरी मेड इन नेपालभन्दा पनि पहिलो स्टेप मेक इन नेपाल हो। मेक इन नेपाल औद्योगिकीकरणको पहिलो चरण हो,’ उनले भने, ‘५/१० वर्षमा हामी मेक इन नेपालबाट मेड इन नेपालमा जान सक्छौँ र धेरै पार्ट कम्पोनेन्ट तथा डोमेस्टिक मटेरियल कन्टेन्टतिर जान सक्छौँ।’

नेपालमा अहिले एक दर्जनभन्दा बढी एसेम्ब्ली उद्योग स्थापना भइसकेको उनको भनाइ छ। चारपांग्रे सवारीतर्फ हुन्डाईको एसेम्ब्ली उद्योग सञ्चालनमा रहेको तथा दुईपांग्रे सवारीतर्फ विभिन्न प्रमुख ब्रान्डका मोटरसाइकल तथा स्कुटर नेपालमै एसेम्बल हुँदै आएको उनले बताए।

एसेम्ब्ली उद्योग स्थापना गर्दैमा औद्योगिकीकरणको प्रक्रिया पूरा नहुने उनको तर्क छ। एसेम्ब्ली उद्योगसँगै आवश्यक पार्टपुर्जा र कम्पोनेन्टको उत्पादन नेपालमै विस्तार गर्नुपर्ने उनले बताए।

यसका लागि सरकारले स्पष्ट समयसीमा तोकेर औद्योगिक नीति ल्याउनुपर्ने र नीतिको निरन्तरता सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिए। स्थिर र पूर्वानुमानयोग्य नीतिले निजी क्षेत्रलाई थप लगानी गर्न प्रोत्साहित गर्ने उनको भनाइ छ।

ज्योतीले अटोमोबाइल क्षेत्रले नेपालको अर्थतन्त्र र सरकारी राजस्वमा महत्वपूर्ण योगदान गरिरहेको दाबी गरे। आर्थिक वर्ष २०८२/८३ को तथ्यांकअनुसार अटोमोबाइल क्षेत्रको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा करिब ७ प्रतिशत योगदान रहेको र सरकारले यस क्षेत्रबाट करिब ८९ अर्ब रुपैयाँ राजस्व प्राप्त गर्दै आएको उनले बताए।

उनले विद्युतीय तथा अन्य स्वच्छ ऊर्जामा आधारित सवारीसाधनको प्रयोग बढाउन सरकारले लिएको नीतिलाई सकारात्मक रूपमा लिनुपर्ने बताए। पेट्रोलमा इथानोल मिसाउने नीतिले पनि आयातित इन्धनमाथिको निर्भरता घटाउन र प्रदूषण न्यूनीकरणमा सहयोग पुग्ने उनको भनाइ छ।

नेपालले इथानोलको प्रयोग बढाउँदै लैजान सके स्थानीय स्रोतको उपयोग हुनुका साथै पेट्रोल आयातमा बाहिरिने रकमसमेत केही हदसम्म रोक्न सकिने उनले बताए।

अटोमोबाइल उद्योगको विस्तारले रोजगारी सिर्जनासँगै प्राविधिक सीप विकासमा समेत योगदान गरिरहेको ज्योतीले बताए। अहिले नेपालका धेरै एसेम्ब्ली उद्योगमा विदेशी कामदारमाथिको निर्भरता न्यून रहेको र व्यवस्थापनदेखि उत्पादन तथा गुणस्तर परीक्षणसम्मका क्षेत्रमा नेपाली जनशक्तिले जिम्मेवारी सम्हालिरहेको उनले बताए।

एकातिर नेपालले दक्ष जनशक्ति विदेशबाट ल्याउनुपर्ने र अर्कोतिर नेपाली दक्ष जनशक्ति विदेशिने विरोधाभासपूर्ण अवस्था रहेको उनले बताए।

यसको प्रमुख कारण शैक्षिक संस्था र निजी क्षेत्रबीचको कमजोर समन्वय रहेको ज्योतीको भनाइ छ। ‘हाम्रो एकेडेमिया र प्राइभेट सेक्टरबीच ठूलो ग्याप छ। थियोरेटिकल नलेज छ, तर वास्तविक उद्योगलाई चाहिने स्किल सेटमा ठूलो ग्याप छ,’ उनले भने।

उद्योगको वास्तविक आवश्यकता र बजारको मागअनुसार शैक्षिक पाठ्यक्रम परिमार्जन गर्नुपर्नेमा उनले जोड दिए। शिक्षा, सीप र उद्योगबीचको सम्बन्ध बलियो बनाउन सके नेपालमा आवश्यक जनशक्ति उत्पादन गर्नुका साथै विदेशिने दक्ष जनशक्तिको प्रवृत्तिसमेत घटाउन सकिने उनको धारणा छ।

ज्योतीका अनुसार नेपालमा करिब ८६ प्रतिशत रोजगारी निजी क्षेत्रले सिर्जना गरिरहेको छ भने कुल जीडीपीमा निजी क्षेत्रको योगदान करिब ८२ प्रतिशत छ।


प्रकाशित : आइतबार, साउन ३१ २०८३१८:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend