बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

एनआईसी एसिया बैंकको वित्तीय अवस्थामा सुधार, नाफामा फर्कियो

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, साउन ३१ २०८३
एनआईसी एसिया बैंकको वित्तीय अवस्थामा सुधार, नाफामा फर्कियो

वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०८२/८३ मा बैंकले १८ करोड १७ लाख २ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षमा बैंक ३ अर्ब ८७ करोड २० लाख रुपैयाँभन्दा बढी खुद घाटामा रहेको थियो।

काठमाडौं- एनआईसी एसिया बैंक लिमिटेड घाटाबाट नाफामा फर्किएको छ। बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षमा बैंकको नाफामा सुधार देखिएको हो।

वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०८२/८३ मा बैंकले १८ करोड १७ लाख २ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षमा बैंक ३ अर्ब ८७ करोड २० लाख रुपैयाँभन्दा बढी खुद घाटामा रहेको थियो। 

चालु आर्थिक वर्षको चौथो त्रैमासमा मात्रै बैंकले ४ करोड १३ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंक ४० करोड २८ लाख रुपैयाँभन्दा बढी घाटामा थियो। समूहगत रूपमा भने चौथो त्रैमासमा ८ करोड ११ लाख ३५ हजार रुपैयाँ खुद नाफा देखिएको छ।

बैंकको नाफामा आएको सुधारसँगै खराब कर्जाका लागि गरिएको प्रोभिजन तथा इम्पेयरमेन्ट चार्जमा समेत ठूलो परिवर्तन देखिएको छ। अघिल्लो आर्थिक वर्षमा बैंकले ठूलो रकम इम्पेयरमेन्ट चार्जका रूपमा व्यवस्था गर्नुपरेको थियो। चालु आर्थिक वर्षमा भने यस्तो व्यवस्थामा उल्लेख्य सुधार आएको वित्तीय विवरणले देखाएको छ।

बैंकको खुद ब्याज आम्दानी पनि चालु आर्थिक वर्षमा ७ अर्ब २४ करोड रुपैयाँभन्दा बढी पुगेको छ। अघिल्लो आर्थिक वर्षमा बैंकको खुद ब्याज आम्दानी १० अर्ब १९ करोड रुपैयाँभन्दा बढी थियो। समूहगत रूपमा चालु आर्थिक वर्षको खुद ब्याज आम्दानी १० अर्ब ७६ करोड रुपैयाँभन्दा बढी रहेको छ।

बैंकको कुल सञ्चालन आम्दानी चालु आर्थिक वर्षमा ९ अर्ब २९ करोड रुपैयाँभन्दा बढी रहेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी ११ अर्ब ६० करोड रुपैयाँभन्दा बढी थियो। सञ्चालन आम्दानी घटे पनि कर्जा नोक्सानी व्यवस्थापनमा आएको सुधारले बैंकलाई नाफामा फर्काउन सहयोग गरेको देखिन्छ।

वित्तीय विवरणअनुसार बैंकको खराब कर्जा अर्थात् निष्क्रिय कर्जा अनुपात ९.२० प्रतिशत पुगेको छ। अघिल्लो आर्थिक वर्षमा बैंकको एनपीएल ८.७४ प्रतिशत थियो। 

त्यस्तै, बैंकको खुद गैरनिष्क्रिय कर्जा अनुपात ०.५७ प्रतिशत रहेको छ। कुल कर्जाको तुलनामा कर्जा नोक्सानी व्यवस्थाको अनुपात ११४.२३ प्रतिशत रहेको छ।

बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा तथा सापटी, निक्षेप र ग्राहक कर्जामा समेत बैंकको कारोबारको आकार ठूलो रहेको वित्तीय विवरणले देखाएको छ।

बैंकको चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँभन्दा बढी रहेको छ। समूहगत रूपमा पुँजी पर्याप्तता अनुपात १०.६३ प्रतिशत र बैंकतर्फ ११.१० प्रतिशत रहेको छ।

बैंकको आधार दर चालु आर्थिक वर्षमा ५.९४ प्रतिशत रहेको छ भने बैंकतर्फ ५.८३ प्रतिशत रहेको छ। कस्ट अफ फन्ड समूहमा ४.१३ प्रतिशत र बैंकतर्फ ४.०२ प्रतिशत रहेको वित्तीय विवरणमा उल्लेख छ।

एनआईसी एसिया बैंक अघिल्लो आर्थिक वर्षमा अर्बौं रुपैयाँ घाटामा रहे पनि चालु आर्थिक वर्षमा नाफामा फर्किन सफल भएको छ। बैंकको एनपीएल अघिल्लो वर्षको तुलनामा बढेकाले खराब कर्जा व्यवस्थापन भने बैंकका लागि अझै चुनौतीका रूपमा देखिएको छ।


प्रकाशित : आइतबार, साउन ३१ २०८३११:५४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend