काठमाडौं- बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा (एनपीएल) थप बढेको छ। बैंकहरूले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/८३ को अपरिष्कृत वित्तीय विवरणअनुसार २० वाणिज्य बैंकको औसत खराब कर्जा ५.४४ प्रतिशत पुगेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को असार मसान्तमा यस्तो कर्जा औसत ४.६ प्रतिशत थियो।
एक वर्षको अवधिमा बैंकहरूको औसत खराब कर्जा १८.१८ प्रतिशतले बढेको हो। खराब कर्जा बढेसँगै बैंकहरूलाई कर्जा असुली तथा ऋणको गुणस्तर सुधारमा थप दबाब परेको देखिन्छ। विशेषगरी केही बैंकमा खराब कर्जा उच्च दरले बढ्दा समग्र बैंकिङ प्रणालीकै औसत एनपीएल प्रभावित भएको छ।
समीक्षा अवधिमा सबैभन्दा बढी खराब कर्जा प्रभु बैंकको देखिएको छ। प्रभु बैंकको खराब कर्जा एक वर्षमा १२१.८२ प्रतिशतले बढेर १५.५५ प्रतिशत पुगेको छ। अघिल्लो आर्थिक वर्षमा प्रभु बैंकको खराब कर्जा ७.०१ प्रतिशत थियो। खराब कर्जाको यो स्तर वाणिज्य बैंकहरूमध्ये सबैभन्दा उच्च हो।
खराब कर्जा बढ्नेमा स्ट्यान्डर्ड चार्टर्ड बैंक पनि अगाडि देखिएको छ। बैंकको खराब कर्जा ४३.९७ प्रतिशतले बढेर २.०३ प्रतिशत पुगेको छ। नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) को खराब कर्जा ३६.३७ प्रतिशतले बढेर ८.६६ प्रतिशत पुगेको छ।
त्यसैगरी सिद्धार्थ बैंकको खराब कर्जा ३४.७३ प्रतिशतले बढेर ३.५३ प्रतिशत पुगेको छ। एभरेस्ट बैंकको २८.९४ प्रतिशतले बढेर ०.४९ प्रतिशत पुगेको छ। सिटिजन्स बैंकको खराब कर्जा २०.२४ प्रतिशतले बढेर ५.८८ प्रतिशत तथा लक्ष्मी सनराइज बैंकको २०.२२ प्रतिशतले बढेर ५.२३ प्रतिशत पुगेको छ।
एनएमबी बैंकको खराब कर्जा १९.४६ प्रतिशतले बढेर ४.९१ प्रतिशत पुगेको छ। कृषि विकास बैंकको १८.३१ प्रतिशतले बढेर ४.०७ प्रतिशत पुगेको छ। त्यस्तै प्राइम बैंकको खराब कर्जा १५.१४ प्रतिशतले बढेर ६.६९ प्रतिशत पुगेको छ।
कुमारी बैंकको खराब कर्जा ७.३३ प्रतिशतले बढेर ७.४६ प्रतिशत पुगेको छ भने एनआईसी एशिया बैंकको ५.९४ प्रतिशतले बढेर ९.२६ प्रतिशत पुगेको छ। राष्ट्रिय वाणिज्य बैंकको खराब कर्जा ४.२२ प्रतिशतले बढेर ३.९५ प्रतिशत पुगेको छ।
ग्लोबल आइएमई बैंकको खराब कर्जा २.०५ प्रतिशतले बढेर ४.९६ प्रतिशत पुगेको छ। माछापुच्छ्रे बैंकको खराब कर्जा पनि ०.५० प्रतिशतले बढेर ३.९८ प्रतिशत पुगेको छ।
पाँच बैंकले घटाए खराब कर्जा
अधिकांश बैंकको खराब कर्जा बढेका बेला पाँच बैंकले भने आफ्नो एनपीएल घटाउन सफल भएका छन्। नेपाल एसबीआई बैंकले खराब कर्जा १२.८३ प्रतिशतले घटाएर २.९२ प्रतिशतमा झारेको छ।
नेपाल बैंकको खराब कर्जा ८.३३ प्रतिशतले घटेर ४.१८ प्रतिशत पुगेको छ। त्यस्तै नबिल बैंकको खराब कर्जा ६.२५ प्रतिशतले घटेर ४.२० प्रतिशतमा सीमित भएको छ।
सानिमा बैंकले पनि खराब कर्जा ४.६ प्रतिशतले घटाएर २.८७ प्रतिशतमा झारेको छ। हिमालयन बैंकको खराब कर्जा भने ०.१२ प्रतिशतले घटेर ७.९६ प्रतिशतमा सीमित भएको छ।