बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

राष्ट्रियस्तरका विकास बैंकको नाफामा सुधार, आठवटै विकास बैंकको नाफा बढ्यो

आइतबार, साउन ३१ २०८३
राष्ट्रियस्तरका विकास बैंकको नाफामा सुधार, आठवटै विकास बैंकको नाफा बढ्यो

बैंकहरुले सार्वजनिक गरेको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा राष्ट्रिय स्तरका विकास बैंकहरुको नाफामा ६३.८२ प्रतिशतले वृद्धि भएको छ।

काठमाडौं- गत आर्थिक वर्षमा राष्ट्रियस्तरका विकास बैंकहरुको खुद नाफामा उल्लेख्य सुधार देखिएको छ। 

बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा राष्ट्रियस्तरका विकास बैंकहरुको नाफामा ६३.८२ प्रतिशतले वृद्धि भएको छ।

सञ्चालनमा रहेका राष्ट्रिय स्तरका ८ वटा विकास बैंकहरुले गत आर्थिक वर्षमा कुल ८ अर्ब ६५ करोड ९३ लाख ३९ हजार रुपैयाँ नाफा कमाएका छन्। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यी बैंकहरुको खुद नाफा ५ अर्ब २८ करोड ५७ लाख ४५ हजार रुपैयाँ रहेको थियो। समीक्षा अवधिमा आठै वटा विकास बैंकहरुको नाफा बढेको छ।

कुल नाफाको हिसाबले गरिमा विकास बैंक राष्ट्रियस्तरका विकास बैंकहरुमध्ये शीर्षमा रहेको छ। बैंकले गत आर्थिक वर्ष १ अर्ब ६८ करोड ८६ लाख ६६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको १ अर्ब २४ करोड ७६ लाख रुपैयाँको तुलनामा ३५.३४ प्रतिशतले बढी हो।

प्रतिशतका आधारमा सर्वाधिक नाफा बढाउनेमा ज्योति विकास बैंक पहिलो स्थानमा छ। बैंकले अघिल्लो आर्थिक वर्षको १० करोड रुपैयाँ नाफालाई बढाएर गत आर्थिक वर्षमा १ अर्ब ५९ करोड ५२ लाख रुपैयाँ पुर्‍याएको छ। यो अघिल्लो आवको तुलनामा ९०३.७४ प्रतिशतको उच्च वृद्धि हो।

त्यस्तै, लुम्बिनी विकास बैंकले पनि नाफामा २५२.९६ प्रतिशतको उल्लेख्य सुधार गर्दै ८५ करोड १० लाख रुपैयाँ आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षमा यस बैंकको नाफा २४ करोड ११ लाख रुपैयाँ रहेको थियो।

अन्य बैंकहरुमध्ये मुक्तिनाथ विकास बैंकले १ अर्ब ५१ करोड ८३ लाख रुपैयाँ नाफा कमाउँदै १२.४४ प्रतिशतको वृद्धि दर्ज गरेको छ। अघिल्लो वर्ष बैंकको नाफा १ अर्ब ३५ करोड ३६ लाख रुपैयाँ रहेको थियो।

यसैगरी, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ८२.९७ प्रतिशतले नाफा बढाएर १ अर्ब १८ करोड रुपैयाँ पुर्‍याएको छ भने कामना सेवा विकास बैंकले ३३.५१ प्रतिशतको वृद्धिसहित ८९ करोड ४१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षमा ४६.६९ प्रतिशतले नाफा बढाएर ८८ करोड ९९ लाख रुपैयाँ कमाएको छ। महालक्ष्मी विकास बैंकको नाफा पनि ४८.४६ प्रतिशतले बढेर ६२ करोड ९९ लाख रुपैयाँ पुगेको छ।


प्रकाशित : आइतबार, साउन ३१ २०८३१०:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend