काठमाडौं- बैंकिङ प्रणालीमा पर्याप्त तरलता कायम रहेपछि वाणिज्य बैंकहरूले भदौ महिनाका लागि निक्षेपको ब्याजदर पुनः घटाएका छन्।
२० वाणिज्य बैंकहरूले सार्वजनिक गरेको नयाँ विवरण अनुसार साउन महिनाको तुलनामा भदौमा निक्षेपको औसत ब्याजदरमा थप गिरावट आएको हो।
सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूमध्ये १५ वटा बैंकले साउनकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने ५ वटा बैंकले ब्याजदर घटाएका छन्।
भदौ महिनाका लागि व्यक्तिगत निक्षेपतर्फको औसत अधिकतम ब्याजदर ४.१३६ प्रतिशत कायम भएको छ, जुन साउनको ४.१६७५ प्रतिशतको तुलनामा ०.०३१५ प्रतिशतबिन्दुले कम हो। त्यसैगरी, संस्थागत निक्षेपको औसत अधिकतम ब्याजदर पनि ३.११६ प्रतिशतबाट घटेर ३.०८१ प्रतिशत बिन्दुमा झरेको छ।
ब्याजदर घटाउने बैंकहरूमा सिद्धार्थ, नेपाल बैंक, सिटिजन्स, कुमारी र स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेका छन्। सिद्धार्थ बैंकले व्यक्तिगततर्फ सबैभन्दा बढी ०.२९ प्रतिशतबिन्दुले कटौती गरी नयाँ दर ३.७६ प्रतिशत कायम गरेको छ भने संस्थागततर्फ ३.०५ प्रतिशत तोकेको छ।
त्यस्तै नेपाल बैंकले व्यक्तिगततर्फ ४.१५ प्रतिशत र संस्थागततर्फ ३.५ प्रतिशत दर कायम गरेको छ। सिटिजन्स बैंकले ३.८५ प्रतिशत, कुमारी बैंकले ३.७६ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३.८ प्रतिशत ब्याजदर निर्धारण गरेका छन्।
अर्कातर्फ, नबिल बैंक र प्रभु बैंकले अधिकतम ४.५५ प्रतिशत व्यक्तिगत ब्याजदर दिएका छन्। नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबि, सानिमा, माछापुच्छ्रे, राष्ट्रिय वाणिज्य र ग्लोबल आइएमई बैंकसहित १५ बैंकले भने साउन महिनाकै ब्याजदरलाई भदौमा पनि यथावत् राखेका छन्।
कर्जाको मागमा आएको सुस्तता र बैंकहरूमा लगानीयोग्य रकम थुप्रिने क्रम जारी रहेकाले निक्षेपको लागत घटाउने रणनीति स्वरूप बैंकहरूले ब्याजदर घटाउने तथा स्थिर राख्ने नीति लिएका हुन्।