काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै डिजाइन तथा उत्पादन गरिएको विद्युतीय स्कुटर ‘यात्री पीटू’लाई विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने उत्पादनका रूपमा अघि बढाउन सरकारको साथ रहने बताएका छन्।
काठमाडौंको बुढानीलकण्ठस्थित सिप्रदी यात्रीको कारखानामा पुगेर नेपालमै निर्माण भइरहेको विद्युतीय स्कुटर ‘यात्री पीटू’को उत्पादन प्रक्रिया, डिजाइन, सुरक्षा परीक्षण तथा प्रयोग भएका पार्टपुर्जाबारे जानकारी लिएपछि अर्थमन्त्री वाग्लेले नेपाली इन्जिनियर तथा डिजाइनरको मेहनतको प्रशंसा गर्दै उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन आग्रह गरेका हुन्।
‘तपाईंहरूले गरेको मेहनत सह्रानीय छ। यात्री पीटू नेपालमै डिजाइन भएर निर्माण हुनु सुखद कुरा हो,’ अर्थमन्त्री वाग्लेले भने, ‘गुणस्तरमा विश्वस्तरीय प्रतिस्पर्धामा अब्बल हुनुहोस्। अघि बढ्नुहोस्, सरकार तपाईंहरूको साथमा छ।’
नेपालले आफ्नै डिजाइन र इन्जिनियरिङमा दुईपांग्रे विद्युतीय सवारीसाधन निर्माण गर्नु ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै उनले नेपाली उत्पादनलाई घरेलु बजारमा मात्रै सीमित नराखी विश्व बजारमा विस्तार गर्ने रणनीति बनाउन सुझाव दिए।
‘एप्पलको डिजाइन क्यालिफोर्नियामा हुन्छ, उत्पादन चीनमा हुन्छ। सकेसम्म तपाईंहरूले नेपालमै गर्नुहोस्। सरकारले के-के सहयोग गर्नुपर्ने हो भन्नुस्,’ उनले भने, ‘तर विश्व बजारमा फैलन अरू के गर्न सकिन्छ भन्नेमा पनि सोच्नुहोस्। नेपाली इन्जिनियर र डिजाइनरहरूले गरेको यो मेहनतको म सम्मान गर्छु।’
अर्थमन्त्री वाग्लेले नेपालमा बनेको स्कुटरले विश्व बजारमा स्थापित ब्रान्डसँग प्रतिस्पर्धा गर्न सक्ने विश्वास व्यक्त गर्दै नेपाली उत्पादन अमेरिकी पहाडदेखि विश्वका विभिन्न भूभागमा गुडेको हेर्ने आफ्नो चाहना रहेको बताए।
उनले प्रवासमा रहेका नेपालीबीच समेत नेपाली ब्रान्डप्रतिको आकर्षण बढाउनुपर्नेमा जोड दिए। ‘नेपालीहरूले खोजीखोजी नेपाली उत्पादन चढेको हेर्न पाइयोस्,’ उनले भने।
कारखाना अवलोकनका क्रममा यात्री विद्युतीय बाइकका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत असिम पाण्डेले अर्थमन्त्री वाग्लेलाई ‘यात्री पीटू’को डिजाइन, इन्जिनियरिङ, सुरक्षा परीक्षण, प्रयोग भएका पार्टपुर्जा तथा विभिन्न भौगोलिक क्षेत्रमा गरिएको परीक्षणबारे जानकारी गराएका थिए।
पाण्डेका अनुसार स्कुटरको डिजाइन तथा इन्जिनियरिङ नेपालमै गरिएको हो। नेपालका कठिन पहाडी तथा हिमाली भूभागमा समेत यसको परीक्षण गरिएको छ। परीक्षणका क्रममा प्राप्त अनुभवका आधारमा स्कुटरलाई थप परिष्कृत गरिएको कम्पनीले जनाएको छ।
सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले नेपालमै विद्युतीय स्कुटर डिजाइन र उत्पादन गर्न सक्नु नेपाली अटोमोबाइल उद्योगका लागि महत्वपूर्ण उपलब्धि भएको बताए।
उनका अनुसार दुईपांग्रे सवारीसाधनको डिजाइन तथा उत्पादन नेपालमै गर्नुका साथै स्कुटरमा प्रयोग भएका केही प्रविधि तथा विशेषता विशिष्ट छन्। कम्पनीले नेपालमा सफल परीक्षणपछि केही दिनमै ‘यात्री पीटू’लाई औपचारिक रूपमा सार्वजनिक गर्ने तयारी गरेको छ।
कम्पनीका अधिकारीहरूले डीसी चार्जिङ सुविधा भएको विद्युतीय स्कुटर नेपालमै निर्माण हुनु विश्वकै पहिलो उपलब्धि भएको दाबी गरेका छन्। यद्यपि यसको विश्वव्यापी दाबीको स्वतन्त्र प्रमाणीकरण भने सार्वजनिक हुन बाँकी छ।
श्रेष्ठले नेपाली विद्युतीय सवारीसाधनलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन सरकारले ब्याट्री, मोटर तथा स्कुटरका अन्य पार्टपुर्जा उत्पादनमा प्रयोग हुने कच्चा पदार्थमा सहुलियतपूर्ण नीति ल्याउनुपर्ने बताए।
‘नेपालमै उत्पादन गर्ने वातावरण बनेमा लागत घटाउन र नेपाली उत्पादनलाई प्रतिस्पर्धी बनाउन सहयोग पुग्छ,’ उनले सरकारसँग नीतिगत सहजीकरणको अपेक्षा व्यक्त गर्दै भने।
अहिले कम्पनीले ‘यात्री पीटू’का प्राविधिक विवरण र अन्य पक्ष सार्वजनिक गरेको छैन। केही दिनमै औपचारिक सार्वजनिक कार्यक्रममार्फत स्कुटरका विशेषता, मूल्य, बिक्री तथा बजार रणनीतिबारे जानकारी दिने तयारी छ।
नेदरल्याण्ड्सबाट इन्जिनियरिङ अध्ययन पूरा गरी नेपाल फर्किएका असिम पाण्डेले सन् २०१७ मा विद्युतीय मोटरसाइकल निर्माण गर्ने उद्देश्यसहित ‘यात्री मोटरसाइकल’ स्थापना गरेका थिए। कम्पनीले नेपालमै डिजाइन तथा इन्जिनियरिङमा केन्द्रित भएर विद्युतीय दुईपांग्रे सवारीसाधन विकास गर्दै आएको थियो।
पछि नेपालको अग्रणी अटोमोबाइल व्यवसायिक समूह सिप्रदी ट्रेडिङसँगको व्यावसायिक सहकार्यपछि कम्पनी ‘सिप्रदी यात्री’का रूपमा अघि बढेको हो।
सिप्रदी यात्रीले आफ्नै डिजाइन र इन्जिनियरिङमा विकास गरेको ‘यात्री पीटू’को गुणस्तर परीक्षण भारतमा सम्बन्धित दुईपांग्रे सवारीसाधन परीक्षण निकायबाट समेत गराएको जनाएको छ।