बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

‘राष्ट्र केवल भूगोलले बन्दैन, भाषा, संस्कृति र इतिहासले बन्छ’ : सभामुख अर्याल

आइतबार, साउन ३१ २०८३
‘राष्ट्र केवल भूगोलले बन्दैन, भाषा, संस्कृति र इतिहासले बन्छ’ : सभामुख अर्याल

प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले राष्ट्र केवल भूगोलले नभई भाषा, संस्कृति, इतिहास, साहित्य र सामूहिक स्मृतिले निर्माण हुने बताएका छन्।

काठमाडौं- प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले राष्ट्र केवल भूगोलले नभई भाषा, संस्कृति, इतिहास, साहित्य र सामूहिक स्मृतिले निर्माण हुने बताएका छन्। उनले आर्थिक विकास र प्रविधिको विस्तारसँगै नेपाली भाषा, साहित्य, कला तथा संस्कृतिको संरक्षणलाई पनि समान प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।

नूर–गङ्गा प्रतिभा पुरस्कार गुठीको वार्षिक पुरस्कार वितरण तथा कृति लोकार्पण समारोहलाई सम्बोधन गर्दै सभामुख अर्यालले भाषा, साहित्य, कला र संस्कृति राष्ट्रको पहिचानका आधार भएको बताए।

'राष्ट्र केवल भूगोलले बन्दैन; राष्ट्र आफ्नो भाषा, संस्कृति, इतिहास, साहित्य र सामूहिक स्मृतिले बन्छ,' उनले भने।

उनले विश्वव्यापीकरण, सामाजिक सञ्जाल, कृत्रिम बुद्धिमत्ता र प्रविधिको तीव्र विकासका बीच आफ्नो मौलिकता र सांस्कृतिक पहिचान जोगाउनु चुनौतीपूर्ण बन्दै गएको बताए। विश्वका भाषा र साहित्यसँग परिचित हुँदै गर्दा आफ्नै मातृभाषा, लोककला, परम्परा र साहित्यप्रतिको सम्बन्ध अझ बलियो बनाउनुपर्ने उनको भनाइ थियो।

नेपालको बहुभाषिक, बहुजातीय, बहुसांस्कृतिक र बहुधार्मिक स्वरूपलाई नेपालको शक्ति भएको उल्लेख गर्दै सभामुख अर्यालले देशका सबै भाषा, लोकपरम्परा, कला र सांस्कृतिक अभ्यासलाई साझा राष्ट्रिय सम्पत्तिका रूपमा संरक्षण गर्नुपर्ने बताए।

सभामुख अर्यालले नूर–गङ्गा प्रतिभा पुरस्कार गुठीले वि.सं. २०४९ सालदेखि नेपाली भाषा, साहित्य, लोकसाहित्य, लोकगायन, कला, संस्कृति, शिक्षा तथा अनुसन्धानका क्षेत्रमा योगदान पुर्‍याउने स्रष्टा तथा प्रतिभालाई सम्मान र प्रोत्साहन गर्दै आएकोमा प्रशंसा गरे।

उनले पुरस्कारलाई केवल सम्मानको प्रतीकका रूपमा मात्र लिन नहुने बताए। स्रष्टाले समाज र राष्ट्रमा पुर्‍याएको योगदानको सार्वजनिक स्वीकारोक्ति र नयाँ पुस्ताका लागि प्रेरणाको स्रोतका रूपमा पुरस्कारलाई लिनुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा गुठीकी संरक्षक विदुषी राणाले स्वर्गीय सासू–ससुरा नूर र गङ्गाबाट प्राप्त संस्कार, मानवीय मूल्य र समाजप्रतिको उत्तरदायित्व नै नूर–गङ्गा प्रतिभा पुरस्कार गुठीको मूल प्रेरणास्रोत रहेको बताइन्।

उनले व्यक्तिगत उपलब्धिभन्दा समाजका लागि केही योगदान गरेर जान सक्नु जीवनको वास्तविक सार्थकता भएको उल्लेख गरिन्।

'आफ्नो लागि बाँच्नु जीवन हो, तर अरूका लागि केही गरेर जान सक्नु जीवनको सार्थकता हो,' राणाले भनिन्।

आफ्ना सासू–ससुराले जीवनभर आर्जन गरेको शिक्षा, संस्कार र समाजसेवाको भावनालाई निरन्तरता दिनु परिवारका लागि सम्मान मात्र नभई जिम्मेवारीसमेत भएको उनको भनाइ थियो।

तीन दशकभन्दा लामो यात्रामा गुठीले पुरस्कार र सम्मानमार्फत स्रष्टाको योगदानको कदर गर्नुका साथै नवप्रतिभालाई प्रोत्साहन, छात्रवृत्ति तथा सिर्जनात्मक अवसर उपलब्ध गराउँदै आएको उनले बताइन्।

बदलिँदो समय, प्रविधिको तीव्र विकास र विश्वव्यापीकरणका बीच नेपाली भाषा, साहित्य, कला, संस्कृति र मौलिक पहिचानको संरक्षण झन् आवश्यक बन्दै गएको राणाले बताइन्।

'सम्मान एउटा व्यक्तिको मात्र होइन, उसले प्रतिनिधित्व गर्ने साधना, संस्कार र सिर्जनाको सम्मान हो। प्रतिभालाई सम्मान गर्नु भनेको भविष्यको सिर्जनशील समाजमा लगानी गर्नु हो,' उनले भनिन्।

नूर–गङ्गा प्रतिभा पुरस्कार गुठीका संरक्षक अमिर प्रताप जङ्गबहादुर राणाले गुठी केवल पुरस्कार वितरण गर्ने संस्था नभई संस्कार, सिर्जना र सामाजिक उत्तरदायित्वलाई पुस्तान्तरण गर्ने अभियान भएको बताए।

गुठीका अध्यक्ष प्रा. डा. गोविन्द नेपालले नेपाली भाषा, साहित्य, कला, संस्कृति, शिक्षा र सिर्जनशीलताको क्षेत्रमा योगदान पुर्‍याउने प्रतिभालाई सम्मान गर्ने अभियानलाई आगामी दिनमा अझ व्यवस्थित र व्यापक बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे।

समारोहमा विभिन्न विधाका स्रष्टा तथा प्रतिभालाई नूर–गङ्गा प्रतिभा पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो। साथै विभिन्न कृतिहरूको लोकार्पणसमेत गरिएको थियो।

कार्यक्रममा साहित्यकार, कलाकार, शिक्षाविद्, स्रष्टा, विद्वत् वर्ग तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।


प्रकाशित : आइतबार, साउन ३१ २०८३०६:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend