बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

ढुक्क भएर नेपालमा लगानी गर्न प्रवासी नेपालीलाई अर्थमन्त्रीको आह्वान

शनिबार, साउन ३० २०८३
ढुक्क भएर नेपालमा लगानी गर्न प्रवासी नेपालीलाई अर्थमन्त्रीको आह्वान

अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपालको पर्यटन, सूचना प्रविधि र ऊर्जा क्षेत्रमा लगानी गर्नका लागि अनुरोध गरेका छन्।

काठमाडौं- अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीलाई नेपालमा ढुक्क भएर लगानी गर्नका लागि आह्वान गरेका छन्।

चीनको ग्वाङ्झाउ सहरमा आजदेखि सुरु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासेफिक सम्मेलनलाई भिडियो सन्देशमार्फत नेपालमा लगानीको वातावरण बन्दै गइरहेकाले ढुक्क भएर लगानी गर्नका लागि अनुरोध गरेका हुन्।

'सरकारले लगानीको माहोल बनाइरहेको छ। देशमै रोजगारीको वातावरण सिर्जना गर्ने वातावरण भइरहेको छ', उनले भने, 'एआई र सूचना प्रविधि क्षेत्रमा काम गर्न प्रोत्साहन गर्ने गरी नीतिगत रणनीतिहरू कार्यान्वयन भइरहेको छ। त्यसैले पनि नेपालमा ढुक्क भएर लगानी गर्न प्रवासी नेपालीहरूलाई आग्रह गर्दछु।'

अर्थमन्त्री वाग्लेले नेपालको पर्यटन, सूचना प्रविधि र ऊर्जा क्षेत्रमा लगानी गर्नका लागि अनुरोध गरेका छन्।

'प्रवासी साथीहरू, अब नेपाल आएर ढुक्कसँग नेपालमा लगानी गर्नुहोस्। पर्यटन, सूचना प्रविधि क्षेत्रमा, हरित ऊर्जा, उच्च मूल्ययुक्त कृषिमा र आयात प्रतिस्थापन हुने क्षेत्रमा लगानी गर्नुहोस्', उनले भने, 'सरकारले नतिजा देखिने गरी तीव्र गतिमा काम गरिरहेको छ। बजेटबाट २७ वटा नयाँ कानूनी ऐन ल्याएर लगानीमैत्री वातावरण बनाउन सरकारले काम गरिरहेको छ।'

अर्थमन्त्री वाग्लेले सम्मानजनक रोजगारी सिर्जना गर्न सरकारले विशेष ध्यान दिएको बताए।

सरकारको आम्दानी बढाउन कर प्रणालीमा सुधार गरेको पनि उनको भनाइ छ। बजेटमार्फत आर्थिक राजकाजको जहाज मोडेको र पहिलो वर्ष सुधारको सुरुआत मात्रै गरेको उनले उल्लेख गरे। रासस


प्रकाशित : शनिबार, साउन ३० २०८३१६:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend