बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

नाफा कमाउनेमा नबिल पहिलो, कुमारी दोस्रो; २० बैंकले कमाए ६९ अर्ब ८६ करोड रूपैयाँ खुद नाफा

शनिबार, साउन ३० २०८३
नाफा कमाउनेमा नबिल पहिलो, कुमारी दोस्रो; २० बैंकले कमाए ६९ अर्ब ८६ करोड रूपैयाँ खुद नाफा

नाफाको आकारमा नबिल बैंक सबैभन्दा अगाडि रहेको छ भने कुमारी बैंक ले उल्लेख्य ‘कमब्याक’ गर्दै दोस्रो स्थानमा उक्लिएको छ।

काठमाडौं- गत आर्थिक वर्ष २०८२/८३ वाणिज्य बैंकहरूका लागि समग्रमा सुधारोन्मुख वर्ष बनेको छ। अर्थतन्त्रका कतिपय सूचकमा अझै सुस्तता कायमै रहे पनि २० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणले बैंकिङ क्षेत्रको नाफामा उल्लेख्य सुधार भएको देखाएको छ।

समीक्षा अवधिमा २० वाणिज्य बैंकले कुल ६९ अर्ब ८६ करोड ६० लाख रूपैयाँ खुद नाफा आर्जन गरेका छन्। अघिल्लो आर्थिक वर्षमा यी बैंकको कुल खुद नाफा ५२ अर्ब ८१ करोड ७५ लाख रूपैयाँ थियो। यसरी एक वर्षमा बैंकहरूको सामूहिक नाफा १७ अर्ब ४ करोड ८५ लाख रूपैयाँ अर्थात् ३२.२७ प्रतिशतले बढेको छ।

नाफाको आकारमा नबिल बैंक सबैभन्दा अगाडि रहेको छ भने कुमारी बैंक ले उल्लेख्य ‘कमब्याक’ गर्दै दोस्रो स्थानमा उक्लिएको छ।

नबिल पहिलो, कुमारीको आक्रामक छलाङ

नबिल बैंकले गत आर्थिक वर्ष ७ अर्ब ९० करोड ५८ लाख रूपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्षको ५ अर्ब ९२ करोड २१ लाख रूपैयाँको तुलनामा बैंकको नाफा ३३.५० प्रतिशतले बढेको हो।

नाफाको आकारमा नबिल पहिलो भए पनि कुमारी बैंकले उसलाई पछ्याउँदै दोस्रो स्थानमा आफूलाई उभ्याएको छ। कुमारीले गतवर्ष ७ अर्ब ३८ करोड ७२ लाख रूपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्ष १ अर्ब ८१ करोड ९७ लाख रूपैयाँमा सीमित रहेको नाफा एकै वर्षमा ३०५.९६ प्रतिशतले बढेको हो।

कुमारीको नाफा वृद्धि प्रतिशतका हिसाबले मात्रै होइन, नाफाको आकारका हिसाबले समेत बैंकिङ क्षेत्रको सबैभन्दा उल्लेखनीय सुधारमध्ये एक हो। अघिल्लो वर्षको कमजोर आधारका कारण वृद्धि प्रतिशत असाधारण देखिए पनि बैंकले खुद नाफाको आकारमा ठूलो फड्को मारेको छ।

ग्लोबल तेस्रो, एभरेस्ट चौथो

नाफाको आकारमा ग्लोबल आइएमई बैंक तेस्रो स्थानमा छ। बैंकले गत आर्थिक वर्ष ६ अर्ब २२ करोड ७२ लाख रूपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्षको ५ अर्ब ७ करोड ६३ लाख रूपैयाँको तुलनामा नाफा २२.६७ प्रतिशतले बढेको हो।

एभरेस्ट बैंक ५ अर्ब ६ करोड ९९ लाख रूपैयाँ नाफासहित चौथो स्थानमा छ। बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ४.७५ प्रतिशतले मात्रै बढेको छ।

त्यसपछि राष्ट्रिय वाणिज्य बैंक ४ अर्ब ५५ करोड ६९ लाख रूपैयाँ र नेपाल बैंक ४ अर्ब ५० करोड २ लाख रूपैयाँ नाफासहित क्रमशः पाँचौँ र छैटौँ स्थानमा छन्।

राष्ट्रिय वाणिज्य बैंकले नाफामा ६०.६८ प्रतिशतको वृद्धि गरेको छ भने नेपाल बैंकको नाफा ४६.२० प्रतिशतले बढेको छ।

४ अर्बभन्दा बढी नाफा कमाउने ४ बैंक

प्राइम कमर्सियल बैंकले ४ अर्ब ११ करोड २६ लाख रूपैयाँ नाफा कमाएको छ। बैंकको नाफा २८.४९ प्रतिशतले बढेको छ।

त्यस्तै एनएमबि बैंकले ४ अर्ब १ करोड ३७ लाख रूपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्षको तुलनामा एनएमबिको नाफा ४०.६० प्रतिशतले बढेको हो।

सानिमा बैंकले ३ अर्ब ५५ करोड १ लाख रूपैयाँ तथा सिद्धार्थ बैंकले ३ अर्ब ५१ करोड ९४ लाख रूपैयाँ खुद नाफा कमाएका छन्। यी दुई बैंकको नाफा वृद्धि क्रमशः ३८.०१ प्रतिशत र ४.५४ प्रतिशत रहेको छ।

सिटिजन्सको नाफा वृद्धिदर आक्रामक

नाफाको आकार मध्यम भए पनि सिटिजन्स बैंकले वृद्धिदरमा उल्लेख्य सुधार गरेको छ। बैंकले गत आवमा २ अर्ब ९ करोड ८६ लाख रूपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्षको तुलनामा बैंकको नाफा ६३.०५ प्रतिशतले बढेको हो।

माछापुच्छ्रे बैंकले २ अर्ब ११ करोड ४१ लाख रूपैयाँ नाफा कमाएको छ भने नेपाल एसबिआई बैंकले २ अर्ब ४ करोड ४३ लाख रूपैयाँ नाफा आर्जन गरेको छ। यी बैंकको नाफा क्रमशः १२.२४ प्रतिशत र १२.८९ प्रतिशतले बढेको छ।

हिमालयन बैंकले भने वृद्धिदरमा सबैलाई उछिनेको छ। अघिल्लो वर्ष १२ करोड ९७ लाख रूपैयाँमा सीमित रहेको नाफा गत आवमा बढेर १ अर्ब ४८ करोड ४ लाख रूपैयाँ पुगेको छ। यससँगै बैंकको नाफा १ हजार ४१.४० प्रतिशतले बढेको देखिन्छ।

एनआईसी एसिया नोक्सानीबाट नाफामा

एनआईसी एसिया बैंकका लागि गत आर्थिक वर्ष सुधारको वर्ष बनेको छ। अघिल्लो वर्ष ३ अर्ब ८७ करोड २० लाख रूपैयाँ खुद नोक्सानीमा रहेको बैंकले गतवर्ष १८ करोड १७ लाख रूपैयाँ खुद नाफा कमाएको छ।

अर्थात् बैंक नोक्सानीबाट बाहिर निस्केर पुनः नाफामा फर्किएको छ। यद्यपि नाफाको आकार भने अन्य ठूला वाणिज्य बैंकको तुलनामा निकै कम छ।

पाँच बैंकको नाफा घट्यो

सबै बैंकको वित्तीय अवस्था भने सकारात्मक छैन। केही बैंकको नाफामा उल्लेख्य गिरावट आएको छ।

लक्ष्मी सनराइज बैंकको नाफा २२.७७ प्रतिशतले घटेर ३ अर्ब १३ करोड ७१ लाख रूपैयाँमा सीमित भएको छ। स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा ५.३९ प्रतिशतले घटेर २ अर्ब ८५ करोड २ लाख रूपैयाँ कायम भएको छ।

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नाफा ३६.५९ प्रतिशतले घटेर २ अर्ब ७४ करोड ७२ लाख रूपैयाँमा झरेको छ। कृषि विकास बैंकको नाफा पनि २९.५२ प्रतिशतले घटेर २ अर्ब ६३ करोड ६ लाख रूपैयाँमा सीमित भएको छ।

सबैभन्दा कमजोर अवस्था प्रभु बैंकको देखिएको छ। अघिल्लो वर्ष ८७ करोड २३ लाख रूपैयाँ नाफामा रहेको बैंक गत आर्थिक वर्ष २४ करोड १२ लाख रूपैयाँ खुद नोक्सानीमा गएको छ।

कसले कति कमाए?

बैंक

खुद नाफा २०८२/८३

वृद्धि

नबिल बैंक

७ अर्ब ९० करोड ५८ लाख

३३.५०%

कुमारी बैंक

७ अर्ब ३८ करोड ७२ लाख

३०५.९६%

ग्लोबल आइएमई

६ अर्ब २२ करोड ७२ लाख

२२.६७%

एभरेस्ट बैंक

५ अर्ब ६ करोड ९९ लाख

४.७५%

राष्ट्रिय वाणिज्य बैंक

४ अर्ब ५५ करोड ६९ लाख

६०.६८%

नेपाल बैंक

४ अर्ब ५० करोड २ लाख

४६.२०%

प्राइम कमर्सियल

४ अर्ब ११ करोड २६ लाख

२८.४९%

एनएमबि बैंक

४ अर्ब १ करोड ३७ लाख

४०.६०%

सानिमा बैंक

३ अर्ब ५५ करोड १ लाख

३८.०१%

सिद्धार्थ बैंक

३ अर्ब ५१ करोड ९४ लाख

४.५४%

लक्ष्मी सनराइज

३ अर्ब १३ करोड ७१ लाख

-२२.७७%

स्ट्याण्डर्ड चार्टर्ड

२ अर्ब ८५ करोड २ लाख

-५.३९%

नेपाल इन्भेष्टमेण्ट मेगा

२ अर्ब ७४ करोड ७२ लाख

-३६.५९%

कृषि विकास बैंक

२ अर्ब ६३ करोड ६ लाख

-२९.५२%

माछापुच्छ्रे बैंक

२ अर्ब ११ करोड ४१ लाख

१२.२४%

सिटिजन्स बैंक

२ अर्ब ९ करोड ८६ लाख

६३.०५%

नेपाल एसबिआई

२ अर्ब ४ करोड ४३ लाख

१२.८९%

हिमालयन बैंक

१ अर्ब ४८ करोड ४ लाख

१,०४१.४०%

एनआईसी एशिया

१८ करोड १७ लाख

नोक्सानीबाट नाफामा

प्रभु बैंक

२४ करोड १२ लाख नोक्सानी

नाफाबाट नोक्सानीमा

 


प्रकाशित : शनिबार, साउन ३० २०८३१५:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend