काठमाडौं- समग्र अर्थतन्त्रमा अपेक्षित गतिमा आर्थिक तथा व्यावसायिक गतिविधि विस्तार हुन नसकिरहेका बेला नेपाल बैंकले आफ्नो वित्तीय अवस्थामा उल्लेख्य सुधार गरेको छ। बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/८३ को अपरिष्कृत वित्तीय विवरणले नाफा, व्यवसाय विस्तार, लाभांश क्षमता र खराब कर्जा नियन्त्रणमा सकारात्मक संकेत देखाएको हो।
समीक्षा अवधिमा बैंकको खुद नाफा ४६.२० प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षमा करिब ३ अर्ब ७ करोड रूपैयाँ रहेको बैंकको खुद नाफा गत आवमा बढेर ४ अर्ब ५० करोड रूपैयाँभन्दा माथि पुगेको छ। बैंकिङ क्षेत्रमा ब्याजदर घट्दै गएको र कर्जा मागमा अपेक्षित सुधार हुन नसकेको अवस्थामा पनि नाफामा आएको यो वृद्धिलाई उल्लेख्य उपलब्धिका रूपमा हेरिएको छ।
बैंकको मुख्य आम्दानीको स्रोत खुद ब्याज आम्दानीमा भने सामान्य गिरावट आएको छ। अघिल्लो वर्ष १० अर्ब १३ करोड रूपैयाँभन्दा बढी रहेको खुद ब्याज आम्दानी गत वर्ष १० अर्ब ३ करोड रूपैयाँमा झरेको छ। यो १.०४ प्रतिशतको कमी हो।
ब्याजदरमा आएको गिरावटका कारण ब्याज आम्दानीमा दबाब देखिए पनि बैंकले अन्य आम्दानी तथा सञ्चालन खर्च व्यवस्थापनमार्फत समग्र नाफालाई बलियो बनाएको देखिन्छ।
गत आवमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब २ करोड रूपैयाँ रहेको छ। यसैगरी कुल सञ्चालन आम्दानी बढेर १२ अर्ब ८ करोड रूपैयाँ पुगेको छ।
सञ्चालन नाफामा भने उल्लेख्य वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्षमा ४ अर्ब ४४ करोड रूपैयाँ रहेको सञ्चालन नाफा गत वर्ष बढेर ७ अर्ब १९ करोड रूपैयाँभन्दा माथि पुगेको छ। यसले बैंकको आम्दानी बढाउनुका साथै खर्च व्यवस्थापनमा समेत सुधार भएको संकेत गर्छ।
नाफामा आएको सुधारको प्रत्यक्ष प्रभाव बैंकको वितरणयोग्य मुनाफामा पनि परेको छ। गत आवमा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ३२ करोड रूपैयाँभन्दा बढी कायम भएको छ।
यसका आधारमा बैंकको लाभांश वितरण क्षमता १५.८४ प्रतिशत पुगेको छ। यसले बैंकका सेयरधनीका लागि गत आर्थिक वर्षको वित्तीय परिणामलाई सकारात्मक बनाएको छ।
बैंकको चुक्तापुँजी १४ अर्ब ६९ करोड रूपैयाँ रहेको छ। जगेडा कोषमा भने २५ अर्ब २५ करोड रूपैयाँभन्दा बढी रकम सञ्चित रहेको छ। चुक्ता पुँजीको तुलनामा बलियो जगेडा आधारले बैंकको पुँजीगत क्षमता मजबुत रहेको देखाउँछ।
बैंकप्रतिको ग्राहक तथा बचतकर्ताको विश्वास निक्षेप वृद्धिमा समेत देखिएको छ। गत असार मसान्तसम्म बैंकको कुल निक्षेप २५.०२ प्रतिशतले बढेर ४ खर्ब १५ अर्ब रूपैयाँभन्दा बढी पुगेको छ। अघिल्लो आर्थिक वर्षमा बैंकसँग करिब ३ खर्ब ३२ अर्ब रूपैयाँ निक्षेप रहेको थियो।
निक्षेपमा उल्लेख्य वृद्धि भएअनुसार कर्जा लगानीमा पनि सुधार भएको छ। बैंकले उत्पादनमूलक तथा व्यापारिक क्षेत्रमा गरेको कर्जा प्रवाह १०.४७ प्रतिशतले बढेर २ खर्ब ४३ अर्ब रूपैयाँ पुगेको छ।
बैंकको कर्जा निक्षेप अनुपात ६२.८५ प्रतिशत रहेको छ। यसले बैंकसँग थप कर्जा विस्तार गर्न सक्ने पर्याप्त स्रोत उपलब्ध रहेको संकेत गर्छ।
बैंकको वित्तीय सुधार सेयर बजारका लगानीकर्ताका लागि पनि उत्साहजनक देखिएको छ। प्रतिसेयर आम्दानी अघिल्लो वर्षको २० रूपैयाँ ९५ पैसाबाट बढेर ३० रूपैयाँ ६३ पैसा पुगेको छ।
त्यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ २८७ रूपैयाँ ७० पैसा कायम भएको छ। मूल्य आम्दानी अनुपात ८.५४ गुणा रहेको छ।
नाफा वृद्धि र प्रतिसेयर आम्दानीमा आएको सुधारले बैंकको सेयरमा लगानी गर्ने दृष्टिले पनि वित्तीय आधार बलियो बनेको संकेत गर्छ।
बैंकिङ क्षेत्रमा अहिले सबैभन्दा ठूलो चुनौतीका रूपमा रहेको निष्क्रिय कर्जा व्यवस्थापनमा पनि बैंकले सुधार गरेको छ।
अघिल्लो आर्थिक वर्षमा ४.५६ प्रतिशत रहेको बैंकको खराब कर्जा अनुपात गत आवमा घटेर ४.१८ प्रतिशतमा झरेको छ। कर्जा विस्तारसँगै खराब कर्जा बढिरहेको अवस्थामा बैंकले निष्क्रिय कर्जा अनुपात घटाउन सफल हुनु वित्तीय स्वास्थ्यका दृष्टिले सकारात्मक पक्ष हो।
पुँजी पर्याप्ततामा पनि बैंकको अवस्था नियामकीय मापदण्डअनुकूल देखिएको छ। बैंकको टियर-वान क्यापिटल एडिक्वेसी रेसियो ११.२७ प्रतिशत तथा कुल पुँजी पर्याप्तता अनुपात १३.६६ प्रतिशत पुगेको छ।