काठमाडौं- एनआईसी एसिया बैंक गत आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्ममा नाफामा फर्किएको छ। अघिल्लो आर्थिक वर्ष ३ अर्ब ८७ करोड २० लाख रूपैयाँभन्दा बढी नोक्सानमा रहेको बैंकले गत आवमा १८ करोड १७ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको हो।
बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार इम्पेयरमेन्ट चार्जमा आएको उल्लेख्य गिरावटले बैंकलाई नोक्सानबाट नाफामा फर्काउन मुख्य भूमिका खेलेको देखिन्छ। अघिल्लो आवमा ९ अर्ब ७१ करोड ३८ लाख रूपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज गत आवमा घटेर २ अर्ब ९१ करोड ७६ लाख रूपैयाँमा झरेको छ।
यद्यपि बैंकको मुख्य आम्दानीको स्रोत खुद ब्याज आम्दानी भने घटेको छ। अघिल्लो आवमा १० अर्ब १३ करोड ५ लाख रूपैयाँ रहेको खुद ब्याज आम्दानी गत आवमा घटेर ७ अर्ब ८४ करोड ५० लाख रूपैयाँमा सीमित भएको छ।
खुद फि तथा कमिशन आम्दानी भने बढेको छ। अघिल्लो आवमा १ अर्ब २१ करोड ७ लाख रूपैयाँ रहेको यस्तो आम्दानी गत आवमा बढेर १ अर्ब ४२ करोड १६ लाख रूपैयाँ पुगेको छ।
बैंकको सञ्चालन नाफा पनि ऋणात्मक अवस्थाबाट सुधार भएको छ। अघिल्लो आवमा ४ अर्ब ५१ करोड ३ लाख रूपैयाँ ऋणात्मक रहेको सञ्चालन नाफा गत आवमा ९७ करोड ९१ लाख रूपैयाँमा पुगेको छ।
तर बैंकको वितरणयोग्य नाफा अझै गहिरो ऋणात्मक अवस्थामा छ। गत असार मसान्तसम्म बैंकको वितरणयोग्य नाफा १४ अर्ब ८६ करोड ५० लाख रूपैयाँ ऋणात्मक रहेको छ।
बैंकको चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख रूपैयाँ रहेको छ भने जगेडा कोषमा २५ अर्ब ६५ करोड ३० लाख रूपैयाँ सञ्चित छ।
गत आवको अन्त्यसम्म बैंकले ३ खर्ब ४३ अर्ब ६७ करोड ९० लाख रूपैयाँ निक्षेप संकलन गरेको छ। बैंकको कर्जा लगानी भने १ खर्ब ९२ अर्ब १ करोड ६१ लाख रूपैयाँ रहेको छ।
बैंकको प्रतिसेयर आम्दानी १ रूपैयाँ २२ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १७२ रूपैयाँ ३२ पैसा रहेको छ।
बैंकको खराब कर्जा अनुपात भने बढेको छ। अघिल्लो आवको असार मसान्तमा ८.७४ प्रतिशत रहेको निष्क्रिय कर्जा गत आवमा बढेर ९.२६ प्रतिशत पुगेको छ।
नाफामा फर्किए पनि एनआईसी एसियाको चुनौती भने अझै सकिएको छैन। इम्पेयरमेन्ट चार्ज घट्दा नाफा आएको छ, तर खुद ब्याज आम्दानी घट्नु, वितरणयोग्य नाफा ठूलो ऋणात्मक रहनु र खराब कर्जा ९.२६ प्रतिशत पुग्नु बैंकका प्रमुख चुनौतीका रूपमा देखिएका छन्।