काठमाडौं- काठमाडौँ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त भएका छन्।
प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले उपकुलपति छनोट तथा सिफारिस समितिको सिफारिसमा बराललाई उपकुलपति नियुक्त गरेका हुन्।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शुक्रबार मन्त्रालयमा बराललाई नियुक्तिपत्र हस्तान्तरण गरे। मन्त्री पोखरेलको संयोजकत्वमा गठित समितिले बरालसहित तीन जनाको नाम उपकुलपतिका लागि प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा शाहले बराललाई नियुक्त गरेका हुन्।
गत जेठ १९ गते बसेको विश्वविद्यालयको सिनेट बैठकले नयाँ उपकुलपति नियुक्तिका लागि मन्त्री पोखरेलको संयोजकत्वमा समिति गठन गरेको थियो। समितिमा राष्ट्रिय योजना आयोगकी सदस्य रेशु अर्याल ढुंगाना र काठमाडौँ विश्वविद्यालय संरक्षण समितिका अध्यक्ष तथा विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्मा सदस्य थिए।
बराल काठमाडौँ विश्वविद्यालयको मेकानिकल इन्जिनियरिङ विभागका प्राध्यापक हुन्। उनी काठमाडौँ विश्वविद्यालयमै अध्ययन गरेर सोही विश्वविद्यालयको उपकुलपति बन्ने पहिलो व्यक्ति हुन्। उनी विश्वविद्यालयको इन्जिनियरिङतर्फको दोस्रो ब्याचका विद्यार्थी थिए।
बरालले काठमाडौँ विश्वविद्यालयबाट मेकानिकल इन्जिनियरिङमा स्नातक, जापानको टोकियो विश्वविद्यालयबाट स्नातकोत्तर र न्युजिल्यान्डको अकल्यान्ड विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन्।
उनको विशेषज्ञता इन्धन तथा ऊर्जा, दहन विज्ञान तथा वातावरणीय प्रदूषण, थर्मोफ्लुइड इन्जिनियरिङ र कम्प्युटेसनल फ्लुइड डाइनामिक्समा छ। उनी उपप्राध्यापक र सहप्राध्यापक हुँदै प्राध्यापक बनेका हुन्।