बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

चिनियाँ कम्पनीले सस्तो एआई दिएपछि दबाबमा अमेरिकी कम्पनी, धमाधम घटाउँदैछन् मिडरेन्ज मोडेलको मूल्य

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, साउन २९ २०८३
चिनियाँ कम्पनीले सस्तो एआई दिएपछि दबाबमा अमेरिकी कम्पनी, धमाधम घटाउँदैछन् मिडरेन्ज मोडेलको मूल्य

एआईको प्रयोग बढ्दै जाँदा त्यसमा लाग्ने खर्च घटाउनुपर्ने दबाब व्यवसायमा पनि बढेको छ। डोरड्यास र एयरबीएनबीले आफ्ना केही एआई कार्यभार चिनियाँ मोडेलतर्फ सारेका छन्।

काठमाडौं- चिनियाँ एआई कम्पनीहरूले सस्तो मूल्यमै प्रतिस्पर्धी क्षमताका मोडेल उपलब्ध गराउन थालेपछि अमेरिकी एआई कम्पनीहरू दबाबमा परेका छन्।  पछिल्लो समय ओपनएआई र एन्थ्रोपिकले केही मोडेलको मूल्य घटाएपछि विश्व एआई बजारमा मूल्य प्रतिस्पर्धा तीव्र हुने संकेत देखिएको छ।

जुलाईपछि प्रमुख एआई मोडेलको औसत प्रयोग शुल्क २५ प्रतिशत घटेको छ। मूल्य घटाउने प्रतिस्पर्धा विशेषगरी मिड र इन्ट्री लेभलका मोडेलमा देखिएको छ। यही बजारमा चिनियाँ कम्पनीहरूले कम लागतमा उस्तै क्षमता भएका मोडेल ल्याइरहेका छन्।

डीपसिक, मुनसट, अलिबाबाको क्वेन र जिपुजस्ता कम्पनीका नयाँ मोडेलले अमेरिकी कम्पनीमाथि मूल्य घटाउन दबाब बढाएका छन्। कतिपय चिनियाँ मोडेल ओपन सोर्समै उपलब्ध छन्। 

फाइनान्सियल टाइम्सले उद्धृत गरेको परीक्षणअनुसार मुनसटको किमी के३ ले केही काममा एन्थ्रोपिकको क्लाउड ओपस ५ सँग तुलनायोग्य नतिजा दिएको छ। डीपसिकको भी४ फ्ल्यासले ओपनएआईको जीपीटी–५.६ लुनासँग प्रतिस्पर्धी कार्यक्षमता देखाएको तर मूल्य भने न्यून रहेको छ। 

एआईको प्रयोग बढ्दै जाँदा त्यसमा लाग्ने खर्च घटाउनुपर्ने दबाब व्यवसायमा पनि बढेको छ। डोरड्यास र एयरबीएनबीले आफ्ना केही एआई कार्यभार चिनियाँ मोडेलतर्फ सारेका छन्।

ग्राहक सेवा, सामग्री विश्लेषण, कोडिङ सहायता र स्वचालनजस्ता कामका लागि सबैभन्दा शक्तिशाली मोडेल आवश्यक नपर्ने भएकाले व्यवसायहरूले कम लागतका विकल्प रोज्न थालेका हुन्। यसले एआई कम्पनीहरूलाई मोडेलको क्षमतासँगै त्यसको प्रयोग लागतमा पनि प्रतिस्पर्धा गर्नुपर्ने अवस्था बनाएको छ।

मूल्य घटाउने प्रतिस्पर्धा ‘फ्रन्टियर’ मोडेलमा भने देखिएको छैन।

नेपालका स्टार्टअप, सफ्टवेयर कम्पनी र एआई विकासकर्ताले विदेशी एआई मोडेलको एपीआई प्रयोग गर्ने भएकाले अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा उनीहरूको सञ्चालन लागत पनि कम हुन सक्छ। त्यस्तै ओपन सोर्स चिनियाँ मोडेलको क्षमता बढ्दै गएमा नेपाली कम्पनी र अनुसन्धान संस्थाले आफ्नै सर्भरमा त्यस्ता मोडेल सञ्चालन गर्ने विकल्प पाउन सक्छन्। यसले विदेशी एआई सेवामा प्रत्यक्ष शुल्क तिर्नुपर्ने निर्भरता घटाउन सक्छ।

 


प्रकाशित : शुक्रबार, साउन २९ २०८३१०:२८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend