काठमाडौं- प्राइम कमर्सियल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म ४ अर्ब ११ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा २८.४८ प्रतिशतले बढेको हो।
अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म बैंकको खुद नाफा ३ अर्ब २० करोड ७५ लाख रुपैयाँ रहेको थियो।
बैंकको खुद नाफा बढ्नुमा सञ्चालन आम्दानीमा भएको वृद्धि तथा सञ्चालन खर्च व्यवस्थापनले मुख्य भूमिका खेलेको देखिन्छ। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ९ अर्ब २१ करोड २६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी ८ अर्ब ९१ करोड ८२ लाख रुपैयाँ थियो।
त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ११ अर्ब ९० करोड ८४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ११ अर्ब २४ करोड ५३ लाख रुपैयाँ रहेको थियो। बैंकको सञ्चालन मुनाफा भने ६ अर्ब ८३ करोड ३१ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ५ अर्ब ३८ करोड २८ लाख रुपैयाँको तुलनामा उल्लेख्य बढी हो।
नाफामा वृद्धि भएसँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ६३ पैसा पुगेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी १६ रुपैयाँ ५० पैसा थियो।
असार मसान्तसम्म बैंकको कुल सम्पत्ति ३ खर्ब ३८ अर्ब ६ करोड ७४ लाख रुपैयाँ पुगेको छ। बैंकको ग्राहक निक्षेप २ खर्ब ७७ अर्ब ७४ करोड रुपैयाँ रहेको छ भने कर्जा तथा सापटी २ खर्ब २६ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ।
बैंकको खराब कर्जा अनुपात ६.६९ प्रतिशत रहेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यमा यस्तो अनुपात ५.८१ प्रतिशत रहेको थियो। यसले नाफा बढे पनि कर्जाको गुणस्तरमा भने दबाब बढेको देखाउँछ।
बैंकको चुक्ता पुँजी २० अर्ब ९५ करोड ४८ लाख रुपैयाँ रहेको छ। जगेडा तथा सञ्चित कोषसहित बैंकको इक्विटी ३६ अर्ब ८४ करोड रुपैयाँभन्दा बढी रहेको वित्तीय विवरणमा देखिन्छ।
समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ९० करोड ७४ लाख रुपैयाँ रहेको छ। यसअनुसार बैंकको वार्षिकीकृत वितरणयोग्य नाफा प्रतिसेयर ९ रुपैयाँ १० पैसा रहेको छ।