बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

सिटिजन्स बैंकको खुद नाफा ६३.०५ प्रतिशत बढेर २ अर्ब ९ करोड पुग्दा, ईपीएस १३.५३ रुपैयाँ

शुक्रबार, साउन २९ २०८३
सिटिजन्स बैंकको खुद नाफा ६३.०५ प्रतिशत बढेर २ अर्ब ९ करोड पुग्दा, ईपीएस १३.५३ रुपैयाँ

काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा २ अर्ब ९ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको १ अर्ब २८ करोड ७१ लाख रुपैयाँको तुलनामा ६३.०५ प्रतिशतले बढेको हो।

बैंकको नाफामा उल्लेख्य सुधार आए पनि कर्जाको गुणस्तरमा भने दबाब बढेको छ। बैंकको निष्क्रिय कर्जा (एनपीएल) अनुपात ४.८९ प्रतिशतबाट बढेर ५.८८ प्रतिशत पुगेको छ। यसले बैंकको खराब कर्जामा वृद्धि भएको देखाउँछ।

सिटिजन्स बैंकको ग्राहक निक्षेप ९.५७ प्रतिशतले बढेर २ खर्ब ३१ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको चौथो त्रैमासमा बैंकको निक्षेप २ खर्ब ११ अर्ब ५० करोड रुपैयाँ थियो। निक्षेप बढे पनि कर्जा विस्तार भने सुस्त देखिएको छ। बैंकको कर्जा तथा सापटी ०.७६ प्रतिशतले मात्रै बढेर १ खर्ब ७० अर्ब १४ करोड रुपैयाँ पुगेको छ।

बैंकको खुद ब्याज आम्दानी भने १.९० प्रतिशतले घटेको छ। गत वर्ष ६ अर्ब ४१ करोड ५४ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी चालु आर्थिक वर्षमा ६ अर्ब २९ करोड ३६ लाख रुपैयाँमा सीमित भएको छ।

तर, बैंकको नाफामा सबैभन्दा ठूलो सुधार इम्पेरमेन्ट चार्ज घट्दा भएको देखिन्छ। बैंकले खराब कर्जाबापत छुट्याउने इम्पेरमेन्ट चार्ज ६९.०५ प्रतिशतले घटाएर ८२ करोड ९३ लाख रुपैयाँमा झारेको छ। गत वर्ष यस्तो रकम २ अर्ब ६८ करोड रुपैयाँ थियो।

इम्पेरमेन्ट चार्जमा आएको ठूलो कमीले बैंकको सञ्चालन नाफा ८१.२६ प्रतिशतले बढेको छ। सञ्चालन नाफा गत वर्षको १ अर्ब ९८ करोड ६९ लाख रुपैयाँबाट बढेर ३ अर्ब ६० करोड १५ लाख रुपैयाँ पुगेको छ।

बैंकको कोषको लागतमा पनि उल्लेख्य सुधार आएको छ। कोषको लागत ४.४९ प्रतिशतबाट घटेर ३.३६ प्रतिशतमा झरेको छ। यसले बैंकको फन्डिङ लागत घटेको देखाउँछ।

यता, कर्मचारी खर्च भने बढेको छ। बैंकको कर्मचारी खर्च २०.१३ प्रतिशतले बढेर २ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ पुगेको छ।

सिटिजन्स बैंकको चुक्ता पुँजी ५ प्रतिशतले बढेर १५ अर्ब ५० करोड ७४ लाख रुपैयाँ पुगेको छ। गत वर्ष यस्तो पुँजी १४ अर्ब ७६ करोड ९० लाख रुपैयाँ थियो। बैंकको रिजर्भ १९.७४ प्रतिशतले बढेर ८ अर्ब ८६ करोड ११ लाख रुपैयाँ पुगेको छ।

तर, बैंकको रिटेन्ड अर्निङ ३२.७८ प्रतिशतले घटेर ५२ करोड ३१ लाख रुपैयाँमा झरेको छ।

नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि उल्लेख्य सुधार भएको छ। ईपीएस ८ रुपैयाँ ७१ पैसाबाट ५५.२९ प्रतिशतले बढेर १३ रुपैयाँ ५३ पैसा पुगेको छ। प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ ३८ पैसाबाट बढेर १६० रुपैयाँ ५१ पैसा पुगेको छ।

बैंकको पुँजी पर्याप्तता अनुपात १२.४७ प्रतिशतमा स्थिर रहेको छ। यद्यपि, एनपीएल बढेर ५.८८ प्रतिशत पुगेकाले आगामी दिनमा कर्जाको गुणस्तर सुधार गर्नु बैंकका लागि महत्वपूर्ण चुनौती देखिएको छ।

चौथो त्रैमासको अन्त्यमा सिटिजन्स बैंकको सेयर मूल्य प्रतिकित्ता १९६ रुपैयाँ ९० पैसा रहेको थियो। सो मूल्यका आधारमा बैंकको मूल्य आम्दानी अनुपात (पी/ई) १४.५५ गुणा रहेको छ।

यसअघि चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा भने सिटिजन्स बैंकको खुद नाफा ४५.७८ प्रतिशतले घटेको थियो। त्यसबेला इम्पेरमेन्ट चार्ज ३२.३० प्रतिशतले बढेपछि सञ्चालन नाफा र खुद नाफामा दबाब परेको थियो।

 


प्रकाशित : शुक्रबार, साउन २९ २०८३०७:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend