काठमाडौं- युनिलिभर नेपाल लिमिटेडको नाफामा गिरावट आएको छ। कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य रूपमा घटेको छ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले १ अर्ब ५७ करोड रूपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कमाएको १ अर्ब ९७ करोड रूपैयाँको तुलनामा २०.०५ प्रतिशतले कम हो। मुख्य गरी सञ्चालन आम्दानीमा आएको गिरावट र कुल खर्चमा भएको वृद्धिले नाफामा दबाब सिर्जना गरेको हो।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ४.०३ प्रतिशत र कुल आम्दानी ४.४० प्रतिशतले घटेको छ। अर्कोतर्फ, व्यवसाय सञ्चालन तथा प्रशासनिक लागत बढ्दा कुल खर्च २.२२ प्रतिशतले बढेको विवरणमा उल्लेख छ।
नाफा घटेसँगै कम्पनीको प्रतिसेयर आम्दानीमा पनि ठूलो गिरावट आएको छ। अघिल्लो वर्षको तुलनामा प्रतिसेयर आम्दानी ४२९ रूपैयाँ ५३ पैसाले घटेर १ हजार ७१२ रूपैयाँ २७ पैसामा सीमित भएको छ।
हाल ९ करोड २१ लाख रूपैयाँ चुक्तापुँजी रहेको युनिलिभर नेपालको रिटेन्ड अर्निङ ४ अर्ब ७७ करोड ३६ लाख रूपैयाँ पुगेको छ।
असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ५ हजार ५३९ रूपैयाँ र मूल्य आम्दानी अनुपात २७.५७ गुणा कायम भएको छ।