काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले विद्यार्थीहरूमा पुँजी बजारसम्बन्धी ज्ञान तथा सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ सञ्चालन गर्दै आएको 'भिजिट नेप्से' कार्यक्रमका लागि आवेदन खुला गरेको छ।
चालु आर्थिक वर्ष २०८३/८४ मा आफ्ना विद्यार्थीहरूलाई नेप्सेको प्रत्यक्ष अवलोकन भ्रमण तथा अन्तरक्रिया कार्यक्रममा सहभागी गराउन इच्छुक विद्यालय तथा क्याम्पसहरूलाई नेप्सेले आवेदन दिन आग्रह गरेको हो।
सूचना अनुसार कार्यक्रममा सहभागी हुन चाहने शिक्षण संस्थाहरूले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र तोकिएको विवरणसहित ईमेलमार्फत दर्ता गराउनुपर्नेछ।
सहभागी हुनका लागि क्याम्पस वा विद्यालयको नाम र ठेगाना, सहभागी हुने अनुमानित विद्यार्थी संख्या, सहभागिताका लागि प्रस्तावित मिति, विद्यार्थी अध्ययनरत कक्षा वा तह, तथा सम्पर्क व्यक्तिको नाम र सम्पर्क नम्बर खुलाई [email protected] मा आवेदन पठाउनुपर्नेछ।
पुँजी बजारको व्यावहारिक ज्ञान र कार्यप्रणालीबारे विद्यार्थीहरूलाई प्रत्यक्ष जानकारी दिने लक्ष्यका साथ नेप्सेले यो कार्यक्रम सञ्चालन गर्दै आएको छ।