बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

कालीगण्डकी नदीको कटानले मालढुंगा पुल जोखिममा

बुधबार, साउन २७ २०८३
कालीगण्डकी नदीको कटानले मालढुंगा पुल जोखिममा

करिब तीन दशकअघि निर्माण गरिएको उक्त पुलको पर्वत तर्फको मुख्य पिलरको जग अविरल वर्षापछि बढेको नदीको बहावले कटान गरेको हो।

बागलुङ- कालीगण्डकी नदीको कटानले बागलुङको प्रवेशद्वार मालढुंगा पुल जोखिममा परेको छ। पुलको पर्वत खण्डतर्फको जगमा निरन्तर पहिरो गएकाले जोखिम बढाएको छ। बागलुङ र पर्वत जिल्लालाई जोड्ने मालढुंगास्थित मोटरेबल पुलमा नदी कटानका कारण क्षति पुगेपछि आवतजावतमा जोखिम बढेको हो।

करिब तीन दशकअघि निर्माण गरिएको उक्त पुलको पर्वत तर्फको मुख्य पिलरको जग अविरल वर्षापछि बढेको नदीको बहावले कटान गरेको हो। नदीको सतह बढेसँगै गत बिहीबारबाट पुलको जगमा क्षति पुग्न थालेको बताइएको छ। हाल जग क्षेत्रबाट माटो खसिरहेको सडक डिभिजन कार्यालयले जनाएको छ।

पुलको अवस्थाबारे प्रारम्भिक निरीक्षणपछि सडक डिभिजन कार्यालयले थप प्राविधिक मूल्याङ्कनका लागि डिभिजन सडक कार्यालय पोखरालाई जानकारी गराएको कार्यालयका प्रमुख इञ्जिनियर हरि सुवेदीले जानकारी दिए। तत्कालै केही गर्ने अवस्था छैन, पानी घटेपछि क्षति हेरेर पुल मर्मतको काम सुरु गरिन्छ।

मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा-बागलुङ सडकखण्डमा पर्ने मालढुंगा पुल यसअघि पनि नदीको धार परिवर्तन र कटानका कारण जोखिममा पर्दै आएको थियो। पुलको जग संरक्षणसँगै थप क्षति हुन नदिनका लागि निर्माण गरिएको पर्खाल भत्किएपछि यात्रुवाहक तथा मालवाहक सवारीसाधन सावधानी अपनाएर मात्र सञ्चालन गर्न दिइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईंले जानकारी दिए।

सडक डिभिजन कार्यालयका अनुसार पुलको माथिल्लो भाग ५०० मिटर र तल्लो भाग एक किलोमिटरसम्म नदीजन्य पदार्थ उत्खनन गर्न नपाइने कानूनी व्यवस्था भए पनि पुल आसपास नदी दोहन र नदीजन्य सामग्रीको उत्खनन हुँदै आएको छ। यसले पुलसँगै मालढुंगा बस्ती थप जोखिममा परेको कार्यालयको भनाइ छ।

हाल नदीमा पानीको बहाव उच्च रहेकाले तत्काल मर्मत कार्य सुरु गर्न सम्भव नभएको सडक डिभिजन कार्यालय पोखराका इन्जिनियर अमर अधिकारीले जानकारी दिए। बहाव कम भएपछि पुलको विस्तृत प्राविधिक परीक्षण गरी आवश्यक मर्मत तथा संरक्षणको काम अघि बढाइने अधिकारीको भनाइ छ। रासस


प्रकाशित : बुधबार, साउन २७ २०८३१०:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend