म्याग्दी- म्याग्दीमा निर्माणाधीन १३२ केभी क्षमताको डाडाखेत-राहुघाट प्रसारणलाइन आयोजनाको तेस्रोपटक थपिएको म्याद सकिनै लाग्दा ८९ प्रतिशत भौतिक प्रगति भएको छ।
मालिका गाउँपालिका-७ डाडाखेतदेखि रघुगंगा गाउँपालिका-३ अम्बाङ जोड्ने २५ किलोमिटर लामो प्रसारणलाइन र दुवै ठाउँमा सबस्टेसन निर्माणका लागि सन् २०२१ को डिसेम्बर ३१ मा ३ अर्ब ५७ करोड रूपैयाँमा लार्सन एन्ड टर्वो लिमिटेडसँग ठेक्का सम्झौता भएको थियो।
पहिलो पटकको म्याद सन् २०२५ जुलाई १६ र दोस्रो पटकको म्याद नोभेम्बर १६ सम्ममा सकिएपछि २०२६ अगस्ट १६ सम्मका लागि तेस्रोपटक म्याद थपिएको थियो। आयोजनाका सहायक प्रबन्धक इन्जिनियर सुरज गुरुङले तेस्रोपटक थप भएको म्यादभित्र पनि ठेकेदारले काम सम्पन्न गर्नसक्ने अवस्था नदेखिएको बताए।
'आयोजनाका तर्फबाट ठेकेदारलाई ताकेता, सरोकारवालासँग समन्वय, सहजीकरण भइरहे पनि अझै चार/पाँच महिना लाग्ने देखिएको छ,' उनले भने,' प्रसारणलाइनको क्षेत्राधिकारमा पर्ने वन क्षेत्रमा रूख कटान आदेश प्राप्त नहुनु, राहुघाट सबस्टेसन निर्माण स्थलको कमजोर भूगोल, विपद्को जोखिम र केही टावर निर्माण स्थलमा स्थानीयको विवादका कारणले निर्माण अवधि लम्बिएको हो।'
म्याग्दी र राहुघाट वेसिनका जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत्लाई केन्द्रीय प्रणालीमा आबद्ध गराउन नेपाल विद्युत् प्राधिकरणले सो प्रसारणलाइन निर्माण गरिरहेको हो। कुल १३२ केभी क्षमताको डबल सर्किट प्रसारणलाइनको हालसम्म ८२ वटामा ८० वटाको जग निर्माण र ७२ वटा टावर खडा भएका छन्। प्रसारणलाइन र सबस्टेसनको उपकरण आयात भइसकेको छ।
डाडाखेतको सबस्टेसनमा ९० प्रतिशत प्रगति भएको र २५ किलोमिटरमध्ये १२ दशमलव एक किलोमिटर प्रसारणलाइनको तार तान्ने काम सकिएको छ। डाडाखेत सबस्टेसनको भौतिक संरचना निर्माण सकेर परीक्षण कार्य भइरहेको आयोजना प्रमुख रोशन अग्रवालले बताए।
कुल ५१ रोपनी क्षेत्रफलमा निर्माण भएको डाडाखेत सबस्टेसनमा १३३/३३ केभी, ३० एमभीए क्षमता र एआईएस प्रविधिको उपकरण जडान भइरहेको छ। यस्तै, २२०/१३२/३३ केभी, २०० एमभीए क्षमताको उपकरण जडान हुने जिआइएस प्रविधिको राहुघाट सबस्टेसनमा उपकरण राख्ने र कार्यालयको भवन निर्माण अन्तिम चरणमा पुगेको छ।
कुल ४ अर्ब ८८ करोड रूपैयाँ लागत अनुमान गरिएको आयोजना निर्माणका लागि १ अर्ब पाँच करोड रूपैयाँ विद्युत् प्राधिकरण र ३ अर्ब ८२ करोड रूपैयाँ एसियाली विकास बैंकको ऋण लगानी छ। एसियाली विकास बैंकसँग भएको २७ मिलियन डलर ऋण सम्झौता पछिल्लो पटक बढाएर ३१ मिलियन डलर बनाइएको छ। एसियाली विकास बैंकले विद्युत् प्रसारणलाइन आधुनिकीकरण परियोजनामार्फत राहुघाट-डाडाखेत प्रसारणलाइन बनाउन ऋण लगानी गरेको हो।
प्रसारणलाइनको मार्गाधिकार र टावर रहने २५ दशमलब ६२ हेक्टर सामुदायिक र राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग गर्नका लागि २०८० फागुन ६ गतेको मन्त्रिपरिषद्ले बैठकले स्वीकृति दिएको दुई वर्ष दुई महिनापछि डिभिजन वन कार्यालयबाट गत जेठ महिनाको पहिलो साता कटान आदेश प्राप्त भएको थियो।
आयोजना निर्माण स्थलमा तीन हजार ९३६ वटा रूख छन्। प्रसारणलाइनका ८२ वटा टावरमध्ये ४० वटा वन क्षेत्र र ४२ वटा व्यक्तिगत जग्गामा छन्। वन क्षेत्रको जग्गा प्रयोग गरेबापत आयोजनाले २०८१ असोजमा ५०४ रोपनी जग्गा खरिद गरी बिरुवा हुर्काउनका लागि पहिलो किस्ता बापतको रकम पनि उपलब्ध गराइसकेको थियो।
म्याग्दी नदीमा १७२ दशमलव आठ मेगावाट क्षमताको चारवटा जलविद्युत् आयोजना निर्माणाधीन छन्। राहुघाटमा ३५ दशमलव पाँच मेगावाटको चिमखोला-राहुघाट-मंगले, ४८ मेगावाटको अपर राहुघाट, २१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला र २३ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजनाले उत्पादन थालेका छन्।
४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा छन्। तुदी पावरले बनाएको चिमखोला-राहुघाट-मंगले र संयुक्त ऊर्जाको ठूलोखोला जलविद्युत् आयोजनाले अस्थायी टावर बनाएर २२० केभी क्षमताको कालीगण्डकी प्रसारणलाइनमा विद्युत् आपूर्ति गराएका छन्। रासस