काठमाडौं- एनसेलले नेपालमै डोमेन दर्ता र वेब होस्टिङ सेवा उपलब्ध गराउने गरी ‘एनसेल बिजनेस क्लाउडसुइट’ सञ्चालनमा ल्याएको छ। कम्पनीले व्यवसाय, स्टार्टअप, उद्यमी, शैक्षिक संस्था तथा विभिन्न संघसंस्थालाई लक्षित गर्दै यो सेवा ल्याएको हो।
कम्पनीका अनुसार क्लाउडसुइटमार्फत ग्राहकले एउटै प्लेटफर्मबाट डोमेन दर्ता, वेबसाइट होस्टिङ तथा अनलाइन उपस्थितिसँग सम्बन्धित विभिन्न सेवा व्यवस्थापन गर्न सक्नेछन्। सेवामा डोमेन नवीकरण, डोमेन ट्रान्सफरमा सहयोग, डीएनएस व्यवस्थापन, डोमेन फर्वार्डिङ, सबडोमेन व्यवस्थापन तथा केन्द्रीय डोमेन प्रशासनलगायत सुविधा समेटिएका छन्।
एनसेलले वेब होस्टिङका लागि दुईवटा प्याकेज ल्याएको छ। बेसिक प्याकेजको मासिक शुल्क १ हजार रुपैयाँ तोकिएको छ। यसमा ३ जीबी साझा स्टोरेज, व्यावसायिक इमेल अकाउन्ट, एसएसएल प्रमाणपत्र, स्वचालित ब्याकअप तथा सुरक्षा सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ।
त्यस्तै, बढ्दो डिजिटल आवश्यकता भएका व्यवसायलाई लक्षित गर्दै प्रो प्याकेजको मासिक शुल्क २ हजार रुपैयाँ तोकिएको छ। यसमा थप स्टोरेज र डेटा ट्रान्सफरका साथै २० वटासम्म व्यावसायिक इमेल अकाउन्ट, १० वटा डेटाबेस र पाँचवटासम्म सबडोमेनको सुविधा उपलब्ध हुनेछ। प्रो प्याकेजमा पनि एसएसएल, स्वचालित ब्याकअप र सुरक्षा सुविधा समावेश छन्।
कम्पनीका अनुसार ग्राहकले सेवाको भुक्तानी नेपाली रुपैयाँमै गर्न सक्नेछन्। यसले विदेशी वेब होस्टिङ सेवा खरिद गर्दा आवश्यक पर्ने विदेशी मुद्राको भुक्तानी प्रक्रियाबाट ग्राहकलाई अलग राख्नेछ।
एनसेलका प्रमुख इन्टरप्राइज बिजनेस अधिकृत डियोन एसेन्सियोले नेपालका व्यवसायलाई डिजिटल क्षेत्रमा प्रवेश गर्न सहज बनाउने उद्देश्यले क्लाउडसुइट ल्याइएको बताए।
‘डोमेन नाम र भरपर्दो वेब होस्टिङ प्रत्येक डिजिटल यात्राको आधार हुन्,’ उनले भने, ‘स्थानीय सहयोग, नेपाली मुद्रामा भुक्तानी र नेपालभित्रै डेटा होस्टिङको सुविधा दिएर व्यवसायलाई डिजिटल क्षेत्रमा अझ सहज र विश्वस्त भएर अघि बढ्न मद्दत गर्ने लक्ष्य छ।’
एनसेलले क्लाउडसुइटअन्तर्गत वेबसाइट होस्टिङ तथा डेटा नेपालमै राख्न सकिने जनाएको छ। नेपालमै डेटा राखिने भएकाले संस्थाहरूलाई आफ्नो वेबसाइट डेटा र डिजिटल सम्पत्तिमाथि थप नियन्त्रण कायम गर्न तथा नियामकीय आवश्यकताहरू पूरा गर्न सहज हुने कम्पनीको दाबी छ।
कम्पनीले पहिलो चरणमा डोमेन र वेब होस्टिङलाई प्राथमिकतामा राखेको जनाएको छ। नेपालमा व्यवसाय तथा संस्थाहरूको डिजिटल उपस्थिति विस्तार हुँदै जाँदा वेबसाइटका लागि आवश्यक आधारभूत पूर्वाधारको माग बढिरहेको भन्दै एनसेलले क्लाउडसुइटलाई त्यसैको सम्बोधनका रूपमा अघि सारेको हो।