काठमाडौं- नेपाल अटोमोबाइल इम्पोटर्स एन्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा)को आयोजनामा मंगलबारदेखि दोस्रो संस्करणको 'नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६' काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ।
पहिलो दिन उद्घाटन सत्रसँगै ११ बजेदेखि १ बजेसम्म मिडिया अवर तय गरिएको नाइमा मोबिलिटी एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता रह्यो। आम अवलोकनकर्ताका लागि १ बजेदेखि खुला गरिएको थियो। पहिलो दिन नाइमा मोबिलिटी एक्स्पोमा करिब २९ हजार जनाले अवलोकन गरेको नाइमाले जनाएको छ।
भदौ ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा चल्ने एक्स्पोमा ५५ वटान्दा बढी सवारी ब्रान्ड सहभागी छन् भने करिब ५० वटा नयाँ सवारी सार्वजनिक भएका छन्।
यो वर्ष टाटा मोटर्सलगायत गत वर्ष सहभागी नभएका ब्रान्डहरु पनि नाइमामा सहभागी भएका छन्। त्यस्तै एक दर्जनभन्दा बढी हालै नेपाल प्रवेश गरेका नयाँ ब्रान्डहरुले नाइमा मोबिलिटी एक्स्पोबाटै सवारी बिक्री सुरु गरेका हुन्।
पहिलोपटक आयोजना हुँदा नै 'नाइमा नेपाल मोबिलिटी एक्स्पो'ले अवलोकनकर्तामाझ आफ्नो पृथक परिचय स्थापित गर्दै सफलता चुमेको थियो। नाइमा मोबिलिटी एक्स्पोले सफलता चुम्नुको प्रमुख कारण यसको व्यवस्थापन शैली र खुला साजसज्जा नै हो। यो वर्ष गत वर्षभन्दा व्यवस्थित देखिएको पहिलो दिन एक्स्पो अवलोकन गर्न आएकाहरुको भनाइ छ।
उद्घाटनदेखि नै व्यवस्थित व्यवस्थापन र मोबिलिटी एक्स्पोका लागि तय गरिएका स्टल, आवागमन र उपलब्ध स्पेसले सवारी प्रदर्शनीलाई भिन्न देखाएको अनुभूत धेरैले गरेका छन्।
नाइमा मोबिलिटी एक्स्पो २०२६ मा ५५ भन्दा बढी ब्रान्डले आफ्ना सवारी प्रदर्शनीमा राख्दै छन् भने करिब ५० वटा नयाँ मोडलका कार र मोटरसाइकल सार्वजनिक भएका छन्। नाइमा मोबिलिटी एक्स्पो २०२६ मा अवलोकनका लागि आउने हरेक अवलोकनकर्ताले फराकिलो स्टल, पर्याप्त कस्टुमर लाउन्ज, झन्झटरहित आवागमन तथा पर्याप्त पार्किङ र तथा अपांगतामैत्री अवलोकनस्थल रहेको छ।
नाइमाले सवारी प्रदर्शनीका साथै गत वर्षझैँ ज्ञानवर्द्धक कार्यक्रमको सिरिज पनि सुरु गरेको छ। पहिलो दिन सवारी दुर्घटना सम्बन्धी सेसन भएको हो।
नाइमाका अनुसार एक्स्पोमा दुईपांग्रे, चारपांग्रे, कमर्सियल भेहिकल, विद्युतीय तथा हाइब्रिड मोबिलिटी सोलुसन, प्रविधि, सेवा तथा मोबिलिटीसम्बन्धी उत्पादन विशेष रूपमा समेटिएको छ । यात्रुबाहक विद्युतीय गाडी पनि अवलोकनकर्ताले एक्स्पोमा रहेका छन्।
प्रदर्शनीमा सहभागी चार पांग्रे सवारी ब्रान्डहरूमा आर्कफक्स, बीएआईसी, सिट्रोन, फोरथिङ, ग्रेटवाल मोटर्स, हेनरी भोल्टस्, होनरी बोमा, हुन्डाई, आईकार, केई, किया, लिपमोटर, महिन्द्रा, म्याक्सस, एमजी जीओ अटोमोबाइल्स, एमजी पारामाउन्ट मोटर्स, निसान, ओमोडा एन्ड जेइको, प्युजो, प्रोटोन, टाटा, टोयोटा, विलिङलगायत छन्।
त्यस्तै दुई पांग्रेतार्फ, एथर, बजाज, सीएफमोटो, जीहो, गारो, होन्डा, केरेन, केटीएम, मर्बिडेली, उनआईयू, प्युजो, रोयल इनफिल्ड, सुजुकी, ट्रायम्फ, टीभीएस, अल्ट्राभोइलेट, याडिया, एक्सजेड मोटो र व्यावसायिक सवारीसाधन ब्रान्डहरूमा चेरी वान्डा, क्यारी, किटोन र स्काइवर्थ रहेका छन्।