बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

नाइमा नेपाल मोबिलिटी एक्स्पोमा नयाँ गाडीको बहार, ३० लाखदेखि साढे २ करोडसम्मका मोडल सार्वजनिक

मंगलबार, साउन २६ २०८३
नाइमा नेपाल मोबिलिटी एक्स्पोमा नयाँ गाडीको बहार, ३० लाखदेखि साढे २ करोडसम्मका मोडल सार्वजनिक

नाइमा नेपाल मोबिलिटी एक्स्पोको दोस्रो संस्करण मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको हो। ३१ साउनसम्म सञ्चालन हुने एक्स्पोमा ५५ भन्दा बढी सवारी ब्रान्ड सहभागी छन्।

काठमाडौं- नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’मा ३० लाख रूपैयाँदेखि साढे २ करोड रूपैयाँसम्म मूल्य पर्ने नयाँ चारपांग्रे सवारीसाधन सार्वजनिक भएका छन्। विद्युतीय सवारीसाधनको बढ्दो आकर्षणलाई केन्द्रमा राखेर आयोजना गरिएको एक्स्पोमा विभिन्न ब्रान्डले नयाँ प्रविधि, डिजाइन र फरक मूल्य समूहका मोडल नेपाली बजारमा उतारेका हुन्।

यसरी नाइमा मोबिलिटी एक्स्पोमा करिब ३० लाख रूपैयाँको प्रवेश मूल्यबाट सुरु भएर २ करोड ५० लाख रूपैयाँसम्म पुग्ने विभिन्न मूल्य समूहका नयाँ चारपांग्रे सवारीसाधन एकैपटक सार्वजनिक तथा प्रदर्शनमा आएका छन्। विशेषगरी विद्युतीय सवारीसाधनको संख्या र विविधताले यसपटकको एक्स्पोलाई थप महत्वपूर्ण बनाएको छ।

नाइमा नेपाल मोबिलिटी एक्स्पोको दोस्रो संस्करण मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको हो। ३१ साउनसम्म सञ्चालन हुने एक्स्पोमा ५५ भन्दा बढी सवारी ब्रान्ड सहभागी छन्। आयोजकका अनुसार एक्स्पोमा करिब ५० वटा नयाँ सवारीसाधन सार्वजनिक गर्ने तयारी गरिएको छ। एक्स्पोमा ५२ वटा स्टल राखिएका छन् भने दुईपांग्रे सवारीतर्फ १८ र चारपांग्रेतर्फ २९ नयाँ मोडल सार्वजनिक हुनेछन्।

एक्स्पोमा सार्वजनिक भएका नयाँ चारपांग्रे सवारीमध्ये सबैभन्दा कम मूल्यको मोडल टाटाको टियागो ईभी रहेको छ। यसको टप इन्ड भेरियन्टको मूल्य २९ लाख ९९ हजार रूपैयाँ तोकिएको छ। त्यसपछि चेरीले नयाँ ‘चेरी क्यू’ नेपाली बजारमा ल्याएको छ, जसको सुरुवाती मूल्य ३० लाख ९९ हजार रूपैयाँ रहेको छ। टाटा मोटर्सले पनि नयाँ पन्च ईभी सार्वजनिक गरेको छ। यसको सुरुवाती मूल्य ३२ लाख ९९ हजार रूपैयाँ तोकिएको छ।

प्रोटोनले पनि विद्युतीय सवारीसाधनको बजारमा आफ्नो उपस्थिति विस्तार गर्दै ‘ई-मास फाइभ’ सार्वजनिक गरेको छ। यसको सुरुवाती मूल्य ३२ लाख ९९ हजार रूपैयाँ रहेको छ।

proton.jfif

यसले ३० देखि ३५ लाख रूपैयाँको मूल्य समूहमा टाटाको पन्च ईभी र टियागो ईभीसँगै प्रतिस्पर्धा गर्ने देखिएको छ।

emrs5.jfif

मध्यम मूल्य समूहमा लिपमोटरले ‘बी जेरो थ्री एक्स’ सार्वजनिक गरेको छ। यसको मूल्य ४४ लाख ९९ हजार रूपैयाँ तोकिएको छ। त्यस्तै नेपालमै उत्पादन गरिएको हुन्डाइको ‘अल न्यू भेन्यू’ पनि एक्स्पोमा सार्वजनिक गरिएको छ। यसको सुरुवाती मूल्य ४८ लाख ९६ हजार रूपैयाँ रहेको छ।

bo3x.jfif

नेपालमै उत्पादन भएको नयाँ भेन्यूले स्थानीय उत्पादन र विद्युतीय तथा पेट्रोलियम सवारीसाधनबीचको प्रतिस्पर्धामा समेत नयाँ आयाम थपेको छ।

निसानले एक्स्पोमा ‘टेकटन’ एसयूभी सार्वजनिक गरेको छ। यसको सुरुवाती मूल्य ५१ लाख २९ हजार रूपैयाँ रहेको छ। ओमोडाले ‘ई फाइभ प्रो’ सार्वजनिक गरेको छ, जसको सुरुवाती मूल्य ५१ लाख ५९ हजार रूपैयाँ छ। त्यस्तै ओरा फाइभ ईभीको मूल्य ५३ लाख ९९ हजार ९ सय रूपैयाँ तोकिएको छ।

tekton.jfif

महिन्द्राले पनि आफ्नो नयाँ विद्युतीय एसयूभी ‘एक्सईभी नाइन एस’ नेपाली बजारमा सार्वजनिक गरेको छ। यसको सुरुवाती मूल्य ६० लाख रूपैयाँ रहेको छ। मध्यम तथा प्रिमियम मूल्य समूहमा सार्वजनिक भएका यी मोडलले नेपाली विद्युतीय सवारी बजारमा थप प्रतिस्पर्धा बढाउने अपेक्षा गरिएको छ।

xev9x.jfif

एक्स्पोमा मध्यम मूल्यका कार तथा एसयूभीसँगै उच्च मूल्यका प्रिमियम र विद्युतीय सवारीसाधन पनि प्रदर्शनमा राखिएका छन्। एमजीले ‘यू नाइन ईभी’ पिकअप सार्वजनिक गरेको छ। यसको मूल्य १ करोड १० लाख रूपैयाँ तोकिएको छ। पिकअप सेग्मेन्टमा विद्युतीय प्रविधिलाई अगाडि बढाउने उद्देश्यसहित आएको यो मोडल नेपाली बजारमा सार्वजनिक भएका महँगा विद्युतीय सवारीमध्ये एक हो।

बीएआईसीले ‘बीजे३० ई’ सार्वजनिक गरेको छ। यसको मूल्य १ करोड १९ लाख ९६ हजार रूपैयाँ रहेको छ। एसयूभी सेग्मेन्टमा आएको यो मोडलले प्रिमियम मूल्य समूहमा प्रतिस्पर्धा गर्नेछ।

हुन्डाइले भने एक्स्पोमा आफ्नो प्रिमियम विद्युतीय एसयूभी ‘आयोनिक नाइन’ समेत सार्वजनिक गरेको छ। सात सिट क्षमताको यो विद्युतीय एसयूभीको मूल्य २ करोड १९ लाख ९६ हजार रूपैयाँ तोकिएको छ। ठूलो आकार, उच्चस्तरीय सुविधा र विद्युतीय प्रविधिसहितको आयोनिक नाइन एक्स्पोमा सार्वजनिक भएका सबैभन्दा महँगा विद्युतीय सवारीमध्ये एक बनेको छ।

एमजीले प्रिमियम एसयूभी सेग्मेन्टमा ‘म्याजेस्टर’ समेत प्रदर्शनमा ल्याएको छ। यसको मूल्य २ करोड ५० लाख रूपैयाँ रहेको छ। यो एक्स्पोमा सार्वजनिक तथा प्रदर्शन गरिएका नयाँ चारपांग्रे सवारीमध्ये सबैभन्दा महँगो मोडल बनेको छ।

mg majestor.jfif

नाइमा एक्स्पोमा सवारीसाधनका नयाँ मोडलसँगै विद्युतीय प्रविधि, चार्जिङ पूर्वाधार, सुरक्षा प्रणाली, कनेक्टिभिटी र आधुनिक ड्राइभिङ सुविधालाई समेत प्राथमिकता दिइएको छ। एउटै प्लेटफर्ममा कम मूल्यका सहरमुखी ईभीदेखि प्रिमियम सात सिटे एसयूभी र विद्युतीय पिकअपसम्म उपलब्ध भएपछि नेपाली उपभोक्ताले आफ्नो आवश्यकता र बजेटअनुसार विभिन्न विकल्प तुलना गर्न सक्ने छन्।


प्रकाशित : मंगलबार, साउन २६ २०८३१५:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend