बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

गँड्यौला मल बेचेर लाखौँ आम्दानी गरिरहेका सर्लाहीका लोप्चन

मंगलबार, साउन २६ २०८३
गँड्यौला मल बेचेर लाखौँ आम्दानी गरिरहेका सर्लाहीका लोप्चन

तालिमबाट आधारभूत ज्ञान र एक हजार वटा गँड्यौला पाएपछि सुरु गरेको मल उत्पादन अहिले उनको मनग्य आम्दानीको बाटो बनेको छ।

सर्लाही- सर्लाहीको लालबन्दीका सन्त लोप्चनले रोजगारीका लागि हुने विदेश पलायनले थिलथिलो बनाएको समाजमा सीप र मेहनतले जुनसुकै पेसा गरेर पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण पेस गरेका छन्। लालबन्दी नगरपालिका-२, जुटपानी निवासी ५७ वर्षीय लोप्चनले जैविक र गँड्यौला मल बिक्री गरेर मनग्य आम्दानी गरिरहेका हुन्।

चौध वर्षदेखि घरमै सञ्चालन गरेको फर्मबाट उत्पादन गरेको जैविक र गँड्यौला मल बेचेर आफूले विदेशको भन्दा धेरै आम्दानी गर्न सफल भएका छन्। 'मेहनत गर्ने हिम्मत र हातमा सीप भए एक दुई लाख कमाउन विदेश जानु पर्दैन', लोप्चनले भने। धमाधम मल प्याकिङ गरिरहेका लोप्चन किसानहरूको मागअनुसार मल दिन नसकेको बताउँछन्।

जैविक मल बोटबिरुवाको लागि निकै उपयोगी मानिन्छ। यहाँ उत्पादन भएको मल गाउँ घरमा गमलामा फूल रोप्नदेखि नर्सरीमा बिरुवा उत्पादन गर्न र व्यावसायिक तरकारीखेती गर्ने किसानले बेर्ना निकाल्न प्रयोग गर्ने गर्दछन्।

सुरुमा जैविक तथा गँड्यौला मल बोटबिरुवाको लागि रासायनिक मलखादभन्दा राम्रो हुन्छ भन्ने विश्वास दिलाउन निकै सास्ती भएकामा अहिले अहिले उनीहरु आफै मल खोज्दै आउँदा खुशी लाग्ने उनी सुनाउँछन्। साना बेर्ना तथा बोट बिरुवामा रासायनिक मलखाद प्रयोग गर्न नमिल्ने हुँदा जैविक तथा गँड्यौला मलको माग उच्च रहेको उनको भनाइ छ।

गँड्यौला मल कृषि बजारमा कालो हीरा (ब्ल्याक डाइमण्ड) को रुपमा बिक्रीवितरण हुने गरेको छ। लोप्चनले २०६९ सालतिर कृषि ज्ञान केन्द्रले दिएको जैविक तथा गँड्यौला मल उत्पादनसम्बन्धी सात दिनको तालिम लिएका थिए। तालिम लिएर आएपछि उत्पादन सुरु गरेका उनले बजार खोज्दाको सास्ती अझै भुलेका छैनन्।

गाउँमा तरकारीखेती गर्ने किसानले भारतबाट बिरुवामा हाल्ने मन ल्याउने चलन थियो। 'मैले धेरै अनुरोध गरी सम्झाए बुझाएँ', उनले भने, 'आफ्नो गाडीले १०/१० बोरा मल निःशुल्क खेतमा लगेर दिएर प्रयोग गर्न अनुरोध गरेँ। खेती राम्रो भएपछि किसानहरु आफै मल खोज्दै आउन थाल्नुभयो।'

तरकारीमा आलु, प्याज, काउली, टमाटरखेतीको लागि सर्लाहीको लालबन्दी निकै चर्चित ठाउँ हो। त्यसपछि बजारले आफूलाई खोज्न थालेको उनले सुनाए। तालिमबाट आधारभूत ज्ञान र एक हजार वटा गँड्यौला पाएपछि सुरु गरेको मल उत्पादन अहिले उनको मनग्य आम्दानीको बाटो बनेको छ।

लालबन्दी-२, जुटपानी घरैमा उनले लोप्चन गाई फर्म तथा भार्मिङ कम्पोस्ट दर्ता गरी सञ्चालन गरिरहेका छन्। सोही फर्मको नाममा बोरामा २५ किलोको दरले प्याक गरेको जैविक तथा गँड्यौला मल काठमाडौं, ललितपुर, भक्तपुर, धनुषा, महोत्तरी, रौतहट र सर्लाहीका एग्रोभेटहरूसम्म पुग्ने गरेको छ।

जिल्लाका गमलामा फूल सजाउने बगैँचाको सौखिनदेखि व्यावसायिक तरकारी उत्पादन गर्ने किसान र अहिले अन्य अन्नबाली लगाउने किसानसमेत यस मलप्रति आकर्षित भएका छन्।

२५ किलोको एउटा बोरा मलको ३२५ रूपैयाँ पर्छ। 'धेरै उत्पादन हुँदा स्थानीय किसानलाई बेचेर महिनाको दुईट्रक मल काठमाडौं पठाउने गरेको थिए', उनले भने, 'भएनभन्दा पनि महिनामा एक ट्रक पठाउने गरेको छु। उता पनि आफ्ना ग्राहक छन्।'

ट्रकमा ४०० बोराका दरले मल जान्छ। लोप्चनले ६ सन्तानलाई यसैको कमाइले शिक्षादीक्षा र लालनपालन गरे। अहिले दुई छोरा एउटा युरोप र अर्को मलेसियामा छन्। पुगेको छ। उसलाई विदेश पठाउन लागेको ठूलो धनराशि यसैबाट जुटाएको उनको भनाइ छ। लोप्चनले तीन सन्तानको पठनपाठन र लालनपालनको दायित्व अझै यसैको आम्दानीबाट पूरा गरिरहेका छन्। चार मजदुर र उनी र श्रीमती नियमित काममा लाग्ने गरेका छन्।

काठमाडौंमा गरेको किराना पसलको व्यापार बिग्रिएपछि लोप्चन परिवारलाई दैनिक गुजारामा समेत धौधौ भयो। त्यसपछि उनी भएको थोरै जग्गामा खनिखोस्री गर्छु भनेर गाउँ फर्किएका थिए। गाउँमा किसान समूह गठन गरेका थिए। समूहमा विभिन्न तरकारीका बीउबिजन लिएर कृषि ज्ञान केन्द्रका कर्मचारी आउने जाने गरिरहन्थे।

उनीहरुले दिएको ज्ञानबाट यो पेसामा लग्न प्रेरित गरेको बताउँछन्। अहिले वार्षिक ४० देखि ४५ लाखसम्मको जैविक तथा गँड्यौला मल बिक्री गरेर २० देखि २२ लाख रूपैयाँसम्म आम्दानी गर्ने गरेको उनको भनाइ छ।

सुरुमा गँड्यौलासमेत बिक्री गरेर आम्दानी गर्ने गरेको भए पनि अहिले मल उत्पादनमा जोड दिएका छन्। गँड्यौला बिक्रीले मल उत्पादनमा कमी हुने भएकाले गँड्यौला बिक्री गर्न छाडेको उनले बताए। यहाँ गँड्यौलामात्र प्रतिगोटा दुई रुपैयाँमा बिक्री हुन्छ। यसबाट समेत ठूलो रकम आम्दानी गर्न सकिने उनको सुझाव छ।

गाउँघर र वनमा कुहिएर रहेका पातपतिंगर, पराललगायतका वनस्पति र गोबर मल जम्मा गरेर जैविक तथा गँड्यौला मल तयार गर्ने गरिएको लोप्चनले बताए। गँड्यौला मलको लागि गोबर मल प्रति ट्रेलर तीन हजार र ढुवानी र मजदुर खर्च १५ सय लगानी पर्ने उनको भनाइ छ।

'जैविक घाँसपात र गोबर जम्मा गरेर गँड्यौलालाई दिएपछि गँड्यौलाले खाएर मल तयार गरिदिन्छ', उनले भने, 'यसरी गँड्यौलाले खाएर मलको रुपमा निकालेको धुलो छानेर प्याकिङ गरेर बजार पठाउने गरिन्छ।' लगानीको झन्डै ५० प्रतिशतसम्म फाइदा बस्ने भएकाले यसमा दुःख, फोहर र मोहर यसैमा रहेको उनी बताउँछन्।

कम्पोष्ट मलको प्रयोगले जमिनको उर्बर शक्ति वृद्धि हुने भएकाले निकै राम्रो हुने कृषि जेटिए सुरज खनाल बताउँछन्। रासायनिक मलका कारण जमिनमा उत्पादन शक्ति ह्रास हुँदै जाने र मानव स्वास्थ्यमा समेत यसले प्रत्यक्ष असर गर्ने भएकाले जैविक तथा गँड्यौला मलको प्रयोगलाई प्रोत्साहन गर्नुपर्नेमा उनको जोड छ। रासस


प्रकाशित : मंगलबार, साउन २६ २०८३१३:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend