काठमाडौं- नाइमा मोबिलिटी एक्स्पोको दोस्रो संस्करण सुरु भएको छ। आज मंगलबार सुरु भएको एक्स्पो ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुनेछ।
एक्स्पोमा ५५ वटाभन्दा बढी सवारी ब्रान्ड सहभागी छन् भने करिब ५० वटा नयाँ सवारी सार्वजनिक गर्ने तयारी सहभागी कम्पनीहरुले गरेका छन्।
नाइमाले मोबिलिटी एक्स्पोसँगै क्षमता अभिवृद्धि, सडक सुरक्षा, ज्ञान सिरिललगायतका काम पनि गर्दै आएको नाइमाकी अध्यक्ष ऋतु सिंह वैद्यले बताइन्। सवारी प्रविधिमा आएको परिवर्तनसँगै सरकारले लिने नीतिमा पनि परिवर्तन हुनुपर्ने उनको भनाइ छ।
सवारीसाधन विलासी वस्तु, राजस्वको स्रोत मात्र नभइ मोबिलिटीको महत्वपूर्ण माध्यम भएकाले सरकारले हेर्न नजर पनि सोहीअनुसार हुनुपर्ने वैद्यले बताइन्। 'सरकारले नेपालमै एन्सिलरी उद्योगका लागि स्थिर नीतिसहितको सहुलियत दिने हो भने नेपालमै सवारी एसेम्बलबाट दीर्घकालीन रूपमा उत्पादनतर्फ लाग्न व्यवसायीलाई सहज हुने छ,' उनले भनिन्।
सवारी सुरक्षित भएमा त्यसमा सवार हुने यात्रुहरू पनि सुरक्षित हुने भएकाले त्यहीअनुसारको सवारी आयात तथा उत्पादन हुनुपर्ने नेपाल प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बताए। सवारी उत्पादनको इन्जिनियरिङ, सडक इन्जिनियरिङ, ट्राफिक व्यवस्थापन, प्रयोगको ज्ञानलगायत विषय जोडिएर आउने भएकाले यसतर्फ सबैले ध्यान दिनुपर्ने उनको भनाइ छ।
२९ हजार ९ सय ८८ वटा सवारी दुर्घटनामा गरे। अघिल्लो वर्षको तुलनामा ४ प्रतिशतभन्दा धेरैले वृद्धि भएकाले न्यूनीकरणमा सबैले जोड दिनुपर्ने कार्कीको भनाइ छ। दुर्घटनामा मोटरसाइकलको हिस्सा ५९ प्रतिशत रहेको छ।
विद्युतीय सवारीको पार्ट्स तथा सर्भिसमा समस्या रहेको गुनासो उपभोक्ताबाट आउन थालेको कार्कीले बताए। त्यस्तै आयात हुने सवारीसाधन नेपालको बाटो र भुगोल अनुकूल हुनेखालको मात्र आयात गर्नुपर्नेमा उनले जोड दिए।
नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा हुन लागेको एक्स्पोमा ५२ वटा स्टल छन्। एक्स्पोमा दुईपांग्रे सवारीका १८ र चारपांग्रेका २९ नयाँ मोडल सार्वजनिक हुँदै छन्।
नाइमाका अनुसार एक्स्पोमा दुईपांग्रे, चारपांग्रे, कमर्सियल भेहिकल, विद्युतीय तथा हाइब्रिड मोबिलिटी सोलुसन, प्रविधि, सेवा तथा मोबिलिटीसम्बन्धी उत्पादन विशेष रूपमा समेटिएको छ। यात्रुबाहक विद्युतीय गाडी पनि अवलोकनकर्ताले एक्स्पोमा देख्न पाउने छन् ।
प्रदर्शनीमा सहभागी चारपांग्रे सवारी ब्रान्डहरूमा आर्कफक्स, बीएआईसी, सिट्रोन, फोरथिङ, ग्रेटवाल मोटर्स, हेनरी भोल्टस्, होनरी बोमा, हुन्डाई, आईकार, केई, किया, लिपमोटर, महिन्द्रा, म्याक्सस, एमजी जीओ अटोमोबाइल्स, एमजी पारामाउन्ट मोटर्स, निसान, ओमोडा एन्ड जेइको, प्युजो, प्रोटोन, टाटा, टोयोटा, विलिङ र जिकरलगायत छन्।
त्यस्तै दुई पांग्रेतर्फ, एथर, बजाज, सीएफमोटो, जीहो, गारो, होन्डा, केरेन, केटीएम, मर्बिडेली, उनआईयू, प्युजो, रोयल इनफिल्ड, सुजुकी, ट्रायम्फ, टीभीएस, अल्ट्राभोइलेट, याडिया, एक्सजेड मोटो र व्यावसायिक सवारीसाधन ब्रान्डहरूमा चेरी वान्डा, क्यारी, किटोन र स्काइवर्थ रहेका छन्।