बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

बर्डफ्लु संक्रमण हटेसँगै बढ्यो अण्डाको मूल्य

मंगलबार, साउन २६ २०८३
बर्डफ्लु संक्रमण हटेसँगै बढ्यो अण्डाको मूल्य

बर्डफ्लुको संक्रमण हटेको र धेरै कुखुरा मरेसँगै उत्पादन घटेकाले बजारको माग निकै बढेको छ।

चितवन- अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक संघले आजदेखि लागु हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो।

संघका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) ५६० रूपैयाँ, ठूलो अण्डा ५४५, मिडियम ५ सय र सानो तीन हजार रूपैयाँ प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो।

संघका अध्यक्ष विनोद पोखरेलका अनुसार बर्डफ्लुको संक्रमण हटेको र धेरै कुखुरा मरेसँगै उत्पादन घटेकाले बजारको माग निकै बढेको छ। माग बढेसँगै अण्डाको मूल्य बढेको हो।

फार्महरुले दिएको रेटका आधारमा समर्थन मूल्य जारी गरिएको उनले बताए। मूल्य बढ्दै गर्दा पनि किसानले लागत मूल्य पाउन नसकेको उनले बताए। अण्डाको लागत मूल्य प्रतिगोटा १९.१२ रूपैयाँ पर्न आउँछ। यसलाई हिसाब गर्दा प्रतिक्रेट ५७३.६ रूपैयाँ हुन आउँछ।

बर्डफ्लुका कारण किसानले ठूलो क्षति व्यहोर्नु परेको छ। लागत मूल्य पाउन नसकेपछि विगत केही वर्षदेखि किसान यस पेसाबाट पलायन हुन थालेका छन्। पछिल्लो समय उत्पादन घट्नु, कुखुरामा रोग लाग्नुलगायत कारणले किसान बैंकको ऋणको भरमा पर्दै आएको व्यवसायी बताउँछन्।

पछिल्लो समय बर्डफ्लुका कारण केही किसानको कुखुरा मरेका थिए भने कुखुरा हुनेहरुले अण्डाको मूल्य नपाउँदा ठूलो नोक्सानी व्यहोर्नु परेको पोखरेलले बताए। रासस


प्रकाशित : मंगलबार, साउन २६ २०८३१०:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend