बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

राजदूतसँगको भेटसँगै बदलिँदै प्रधानमन्त्री शाहको भारत नीति, बढ्दै नेपाल-भारत कुटनीतिक संवाद

मंगलबार, साउन २६ २०८३
राजदूतसँगको भेटसँगै बदलिँदै प्रधानमन्त्री शाहको भारत नीति, बढ्दै नेपाल-भारत कुटनीतिक संवाद

प्रधानमन्त्री शाहले भारत सरकारको सहयोगमा सञ्चालित आयोजनामा कुनै समस्या भए त्यसबारे जानकारी गराउन राजदूतलाई आग्रह गर्दै नेपाल सरकार त्यस्ता अवरोध हटाउन तयार रहेको बताएका थिए।

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत नवीन श्रीवास्तवबीच एकल भेटवार्ता भएसँगै नेपाल-भारतबीच उच्चस्तरीय कुटनीतिक संवाद पुनः सक्रिय भएको छ।

सरकार गठन भएको करिब साढे चार महिनापछि प्रधानमन्त्री शाहले पहिलोपटक काठमाडौंस्थित कुनै विदेशी राजदूतसँग छुट्टै भेटवार्ता गरेका हुन्। सोमबार प्रधानमन्त्री शाहले केही घण्टाको अन्तरमा भारतीय र चिनियाँ राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।

भारतीय राजदूत श्रीवास्तवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश सुनाउँदै शाहलाई भारत भ्रमणको निम्तो दिएका छन्। शाहले उपयुक्त समयमा भारत भ्रमण गर्ने जवाफ दिएका छन्।

भेटमा भारतले नेपालमा सञ्चालन गरिरहेका परियोजनाका अवरोध हटाउने विषयमा समेत छलफल भएको छ। प्रधानमन्त्री शाहले भारत सरकारको सहयोगमा सञ्चालित आयोजनामा कुनै समस्या भए त्यसबारे जानकारी गराउन राजदूतलाई आग्रह गर्दै नेपाल सरकार त्यस्ता अवरोध हटाउन तयार रहेको बताएका थिए।

भारतीय राजदूतले नेपालमा भारतीय कम्पनीहरूले भोगिरहेका केही समस्याबारे प्रधानमन्त्रीलाई जानकारी गराएको बताइएको छ। भेटमा भविष्यमा अघि बढाउन सकिने परियोजनाबारे पनि छलफल भएको थियो। जनकपुर-अयोध्या रेलमार्ग तथा बौद्ध सर्किटलगायतका विषयमा समेत प्रारम्भिक छलफल भएको स्रोतले जनाएको छ।

शाहले यसअघि विदेशी कुटनीतिज्ञसँग एकल भेटवार्ता नगर्ने नीति लिएका थिए। प्रधानमन्त्री बनेपछि उनले काठमाडौंमा रहेका विभिन्न देशका राजदूतसँग सामूहिक भेटवार्ता गर्दै आएका थिए। गत अप्रिल ९ र मे २६ मा समेत उनले काठमाडौंस्थित राजदूतहरूसँग सामूहिक भेट गरेका थिए।

त्यसैले भारतीय राजदूतसँग भएको पछिल्लो भेटलाई प्रधानमन्त्री शाहको विदेश नीति सञ्चालनमा आएको महत्वपूर्ण परिवर्तनका रूपमा हेरिएको छ। भारत र चीन दुवैका राजदूतसँग एकै दिन भेट गरेर प्रधानमन्त्रीले दुई छिमेकीसँग समानान्तर रूपमा उच्चस्तरीय संवाद अघि बढाउन खोजेको संकेतसमेत दिएका छन्।

दिल्लीसँगको संवादमा देखिएको नयाँ सक्रियता

प्रधानमन्त्री शाहले भारतसँग प्रत्यक्ष कुटनीतिक संवादमा अपेक्षाकृत कम चासो देखाएपछि पछिल्लो समय नेपाल पक्षबाट विभिन्न तहमा संवादको प्रयास भएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र परराष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमणमा गएका थिए।

लामिछाने भारतबाट फर्किएलगत्तै प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन पनि नयाँदिल्ली पुगेका थिए। उनको भ्रमण औपचारिक रूपमा सार्वजनिक नभए पनि भारतीय विदेश मन्त्रालयका वरिष्ठ अधिकारी तथा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गरेको दाबी गरिएको थियो।

बेनको दिल्ली भ्रमणपछि नै भारतीय राजदूतसँग प्रधानमन्त्रीको एकल भेटवार्ताको वातावरण बनेको बताइएको छ। सोमबार भएको भेटमा भने प्रधानमन्त्रीको नेपाली टोलीसमेत सहभागी थियो। प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव सुवास शर्मा, आईटी सल्लाहकार विवेक मिश्र तथा परराष्ट्र मन्त्रालयको भारत डेस्क हेर्ने सहसचिवसहितका अधिकारी सहभागी थिए। भारतीय राजदूतसँग उपप्रमुख नियोग प्रमुख र राजनीतिक अधिकारी सहभागी थिए।

यसअघि प्रधानमन्त्री शाहले भारतका तर्फबाट आएका उच्चस्तरीय प्रतिनिधिसँग प्रत्यक्ष भेटवार्ता गर्नसमेत चासो नदेखाएको चर्चा थियो। पछिल्लो भेटवार्ताले भने सरकार भारतसँगको सम्बन्धलाई पुनः प्राथमिकतामा राखेर अघि बढ्न खोजेको संकेत गरेको छ।

जयशंकरदेखि मोदीसम्मको सम्भावित नेपाल भ्रमण

नेपाल-भारत उच्चस्तरीय संवाद विस्तार गर्ने तयारीसँगै भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणको सम्भावनासमेत बढेको छ। बिमस्टेकसम्बन्धी कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री शाहलाई निम्तो दिन जयशंकर नेपाल आउने तयारीमा रहेको बताइएको छ।

भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमणको सम्भावनासमेत रहेको छ। भारतसँग प्रधानमन्त्री शाहको भ्रमणको वातावरण बनेमा त्यसअघि दुई देशबीच द्विपक्षीय एजेण्डा तय गर्न उच्चस्तरीय भारतीय अधिकारीहरूको नेपाल भ्रमण हुन सक्ने देखिएको छ।

त्यसपछि प्रधानमन्त्री शाहको भारत भ्रमण र त्यसको केही समयपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणसम्मको वातावरण बनाउन भारतले कुटनीतिक पहल अघि बढाएको स्रोतको भनाइ छ।

नेपाल–भारत सम्बन्धमा पछिल्लो समय देखिएको चिसोपन हटाएर आर्थिक, ऊर्जा, व्यापार, पूर्वाधार, कनेक्टिभिटी र लगानीका विषयलाई केन्द्रमा राखेर सम्बन्ध अघि बढाउने भारतको रणनीति देखिएको छ।


प्रकाशित : मंगलबार, साउन २६ २०८३११:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend