बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

दोस्रो संस्करणको नाइमा मोबिलिटी एक्स्पो आजदेखि : ब्रान्डहरूको उत्साहजनक सहभागिता, पर्खाइ अवलोकनकर्ताको

मंगलबार, साउन २६ २०८३
दोस्रो संस्करणको नाइमा मोबिलिटी एक्स्पो आजदेखि : ब्रान्डहरूको उत्साहजनक सहभागिता, पर्खाइ अवलोकनकर्ताको

आज(साउन २६)देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने एक्सपोमा ५५ वटान्दा बढी सवारी ब्रान्ड सहभागी हुँदै छन् भने करिब ५० वटा नयाँ सवारी सार्वजनिक गर्ने तयारी सहभागी कम्पनीहरुले गरेका छन्।

काठमाडौं- स्थापनाको पहिलो वर्ष नै सफलतापूर्वक सकिएको मोबिलिटी एक्स्पोको दोस्रो संकरण आजदेखि सुरु हुँदै छ। २०८१ फागुनमा औपचारिक रुपमा गठन भएको नेपाल अटोमोबाइल इम्पोटर्स एन्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा) को आयोजनामा दोस्रो संस्करणको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ सुरु हुन लागेको हो।

आज मंगलबारदेखि आउँदो ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने एक्स्पोमा ५५ वटान्दा बढी सवारी ब्रान्ड सहभागी हुँदै छन् भने करिब ५० वटा नयाँ सवारी सार्वजनिक गर्ने तयारी सहभागी कम्पनीहरुले गरेका छन्।

गत वर्ष ५० ब्रान्डले नाइमा मोबिलिटी एक्स्पोमा आफ्ना सवारी प्रदर्शनीमा राखेको र ३५ वटा नयाँ मोडलका कार र मोटरसाइकल सार्वजनिक गरेका थिए। यो वर्ष टाटा मोटर्सलगायत गत वर्ष सहभागी नभएका ब्रान्डहरु पनि नाइमामा सहभागी भएका छन्। त्यस्तै एक दर्जनभन्दा बढी हालै नेपाल प्रवेश गरेका नयाँ ब्रान्डहरु नाइमा मोबिलिटी एक्स्पोबाटै सवारी बिक्री सुरु गर्दैछन्।

पहिलोपटक आयोजना हुँदा नै 'नाइमा नेपाल मोबिलिटी एक्स्पो'ले अवलोकनकर्तामाझ आफ्नो पृथक परिचय स्थापित गर्दै सफलता चुमेको थियो। नाइमा मोबिलिटी एक्स्पोले सफलचा चुम्नुको प्रमुख कारण यसको व्यवस्थापन शैली र खुला साजसज्जा नै हो। यो संस्करणलाई गत वर्षभन्दा भव्य र सभ्य तथा अवलोकनकर्तामैत्री बनाउन भरपुर प्रयास गरिएको नाइमा मोबिलिटी एक्स्पो २०२६ का संयोजक गौरव शारडाले बताए।

उद्घाटनदेखि नै व्यवस्थित व्यवस्थापन र मोबिलिटी एक्स्पोका लागि तय गरिएका स्टल, आवागमन र उपलब्ध स्पेसले सवारी प्रदर्शनीलाई भिन्न देखाएको अनुभूत पहिलो मोबिलिटी एक्स्पोमा देखिएकाले दोस्रो संस्करणमा त्योभन्दा राम्रो हुने अपेक्षा स्वभाविक रुपमा राखिन्छ। पहिलो संस्करणमा १ लाखभन्दा बढी अवलोकनकर्ता आएकोमा यो वर्षको नाइमा मोबिलिटी एक्स्पो २०२६ मा त्योभन्दा धेरै अवलोकनकर्ता आउने नाइमाले जनाएको छ।

यो वर्षको नाइमा मोबिलिटी शोमा नयाँ ब्रान्डका साथै टाटा मोटर्सलगायत ब्रान्डले पनि सहभागिता जनाएको र धेरै संख्यामा नयाँ सवारी सार्वजनिक हुने भएकाले अगन्तुकको चहलपचह स्वभाविक रुपमा बढ्ने शारडाको भनाइ छ।

नाइमा मोबिलिटी एक्स्पो २०२६ मा ५५ भन्दा बढी ब्रान्डले आफ्ना सवारी प्रदर्शनीमा राख्दै छन् भने करिब ५० वटा नयाँ मोडलका कार र मोटरसाइकल सार्वजनिक हुँदै छन्। नाइमा मोबिलिटी एक्स्पो २०२६ मा अवलोकनका लागि आउने हरेक अवलोकनकर्ताले फराकिलो स्टल, पर्याप्त कस्टुमर लाउन्ज, झन्झटरहित आवागमन तथा पर्याप्त पार्किङ र यसको व्यवस्थापन अनुभूत गर्न पाउने छन्।

नाइमाले सवारी प्रदर्शनीका साथै गत वर्षझैँ ज्ञानवर्द्धक कार्यक्रमको सिरिज पनि गर्दै छ। पहिलो दिनदेखि नै सुरु भएर विभिन्न विषय विज्ञहरूसँगको कुराकानी अन्तिम दिनसम्म जारी रहने नाइमाले जनाएको छ। यसले अवलोकनकर्ता तथा आगन्तुकहरूलाई अटोमोबाइल, सडक सुरक्षा, भविष्यमुखी मोबिलिटीलगायत बारेमा बुझ्न र जानकारी हासिल गर्न सहयोग पुग्नेछ।

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा हुन लागेको एक्स्पोमा ५२ वटा स्टल रहनेछन्। एक्स्पोमा दुईपांग्रे सवारीका १८ र चारपांग्रेका २९ नयाँ मोडल सार्वजनिक हुँदै छन्।

नाइमाका अनुसार एक्स्पोमा दुईपांग्रे, चारपांग्रे, कमर्सियल भेहिकल, विद्युतीय तथा हाइब्रिड मोबिलिटी सोलुसन, प्रविधि, सेवा तथा मोबिलिटीसम्बन्धी उत्पादन विशेष रूपमा समेटिएको छ । यात्रुबाहक विद्युतीय गाडी पनि अवलोकनकर्ताले एक्स्पोमा देख्न पाउनेछन् ।

प्रदर्शनीमा सहभागी चार पांग्रे सवारी ब्रान्डहरूमा आर्कफक्स, बीएआईसी, सिट्रोन, फोरथिङ, ग्रेटवाल मोटर्स, हेनरी भोल्टस्, होनरी बोमा, हुन्डाई, आईकार, केई, किया, लिपमोटर, महिन्द्रा, म्याक्सस, एमजी जीओ अटोमोबाइल्स, एमजी पारामाउन्ट मोटर्स, निसान, ओमोडा एन्ड जेइको, प्युजो, प्रोटोन, टाटा, टोयोटा, विलिङ र जिकरलगायत छन्।

त्यस्तै दुई पांग्रेतार्फ, एथर, बजाज, सीएफमोटो, जीहो, गारो, होन्डा, केरेन, केटीएम, मर्बिडेली, उनआईयू, प्युजो, रोयल इनफिल्ड, सुजुकी, ट्रायम्फ, टीभीएस, अल्ट्राभोइलेट, याडिया, एक्सजेड मोटो र व्यावसायिक सवारीसाधन ब्रान्डहरूमा चेरी वान्डा, क्यारी, किटोन र स्काइवर्थ रहेका छन्।


प्रकाशित : मंगलबार, साउन २६ २०८३०६:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend