काठमाडौं- युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले युवालाई देशभित्र नै रोजगारीका अवसर प्राप्त हुने गरी सीप विकास रोजगारीका कार्यक्रम नेतृत्व विकास उद्यमशीलता प्रवर्द्धनजस्ता कार्यक्रम सञ्चालनमा रहेको बताएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै उनले युवाका सवाल रोजगारी सीप सूचना प्रविधि उद्यमशीलता जलवायु परिवर्तन खेलकुद नवप्रवर्तन र सामाजिक नेतृत्वसँग जोडिएका बहुआयामिक विषय रहेको प्रष्ट पारे। मन्त्री यादवले मन्त्रालयले युवालक्षित कार्यक्रम सञ्चालन गरिरहेको जानकारी गराए।
राष्ट्रिय युवा परिषद्को विषयमा सरकार गम्भीर रहेको जनाउँदै उनले युवाको हित को संरक्षण र सम्वर्द्धन गर्दै आएको बताए। उनले सक्षम सृजनशील नैतिक एवं सभ्य नागरिक तयार गर्ने उद्देश्यले राष्ट्रिय युवा परिषद् क्रियाशील रहेको पनि उनले प्रष्ट पारे।
परिषद्लाई थप प्रभावकारी तथा युवाको सम्बन्धित विषयमा नेतृत्व निकायको रुपमा विकास गर्ने गरी राष्ट्रिय युवा परिषद् ऐन २०७२ को समसामायिक पूर्णावलकन गरी नयाँ ऐन ल्याउन राष्ट्रिय युवा ऐन मस्यौदा तयार भएको उनले जानकारी दिए।
युवाका क्षेत्रमा विकास भएका नयाँ आयाम, नयाँ अन्तर्राष्ट्रिय परिवेश तथा अनुभवलाई राष्ट्रिय निर्माणमा परिचालन गर्ने गरी युवा नीति २०८२ आएको मन्त्री यादवले सुनाए।
यस नीतिले युवा रोजगारी, सूचना प्रविधि, नेतृत्व विकास, जलवायु परिवर्तन र युवा सवाल एआई र रोजगारीका अवसरमा चुनौती तथा युवा विषयमा अन्तर्राष्ट्रिय अभ्यास र अनुभव प्रदानजस्ता विषय समेटेर नीतिगत मार्गदर्शन गरेको उनले बताए। नीतिले आगामी दशकमा युवालाई विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने सीपयुक्त आत्मनिर्भर र जिम्मेवार नागरिक बनाउने मार्गचित्र गरेको मन्त्री यादवको विश्वास छ।
युवालाई नेतृत्व सीप र रोजगारीसँग जोड्ने गरी आगामी आर्थिक वर्षको बजेट विनियोजन भएको र युवाको रोजगार योग्यता बढाउने सीप विकास गर्ने, उद्यमशीलता प्रवर्द्धन गर्ने श्रम बजारसँग जोड्ने र स्थानीय तहसम्म अवसर विस्तार गर्ने कार्यक्रमलाई प्राथमिकतामा राखिएको मन्त्री यादवले जानकारी दिए।
रोजगार प्रवर्द्धन दशक मन्त्रालयको सर्वोच्च प्राथमिकता रहेको जनाउँदै उनले यस अभियानमार्फत स्वदेशमै प्रशस्त अवसरहरु सिर्जना गरी युवा जनशक्तिलाई राष्ट्रिय निर्माणमा लगाउने लक्ष्य रहेको जानकारी दिए।
शहीद परिवार जेनजी आन्दोलनका घाइते अपांगता भएका व्यक्ति सुकुम्बासी तथा श्रीमानकृत समुदायलाई लक्षित गरी कार्यस्थलमा आधारित सीप विकास तालिम राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानमार्फत सञ्चालन गर्ने व्यवस्था गरिएको पनि उनले सदनलाई जानकारी गराए। रासस